जनकपुरधाम- प्रदेश २ को नाम र स्थायी राजधानी रहने स्थान सिफारिस गर्नका लागि समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।
सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव गर्न समिति गठन गरेका हुन्।
समितिमा सभापतिमा सभामुख यादव, उपसभापतिमा उपसभामुख उपमा देव रहेका छन् भने सदस्यहरूमा उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्वर साह, विन्देश्वर प्रसाद यादव, सत्रुघ्न महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दर बहादुर विश्वकर्मा र सुरीता साह छन्।
समितिले प्रदेशसभामा नाम र राजधानीका लागि पेस भएको प्रस्ताव अध्ययन तथा सरोकारवालासँग छलफल तथा अन्तर्क्रिया गरी प्रस्ताव गर्नेछन्। उक्त प्रस्ताव प्रदेशसभामा पेस हुनेछ। यसका लागि समितिलाई १५ दिनको समय दिइएको छ।
समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरुसँग सहयोग लिन सक्ने सभामुख यादवले जनाएका छन्।
प्रदेशको नाममा ‘मधेश प्रदेश’, ‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेस भएको छ। त्यस्तै राजधानीका लागि जनकपुरधाम र वीरगञ्ज प्रस्तावित छ।
सभामुख यादवले प्रदेशको नाम र राजधानीका लागि समिति गठन गरेर प्रदेशसभा बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका छन्।