काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले पार्टीको जारी आठौं महाधिवेशनमा पूरक प्रस्ताव पेश गरेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्कीको पूरक प्रस्ताव आएको हो। कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरु’ शीर्षकमा १२ पृष्ठको प्रस्ताव राखेका छन्।
प्रस्तावमा उनले संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनसक्ने चेतावनी दिएका छन्। उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उनले उल्लेख गरेका छन्।
प्रस्तावमा कार्कीले भनेका छन्, ‘चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्य केन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले संघीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका हौं। यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन। संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याइदियो तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन।’
उनले पार्टीका सम्मेलन, बैठक, अधिवेशन र महाधिवेशनहरूमा नीति प्रधान कार्यक्रम बनाइनुपर्नेमा जोड दिएका छन्। नेपालको गणतन्त्र जात व्यवस्था विनाश गर्ने प्रभावी हतियार बनेर विकसित हुनुपर्ने उनले बताएका छन्।
नेता कार्कीले हरेक पटक अन्तरविरोधहरू सतहमा आउन लाग्दा, अन्तरविरोध चर्किंदा पार्टीलाई गम्भीर क्षति हुन्छ भनेर त्यसलाई पन्छाउने गरिएको टिप्पणी गरेका छन्। अहिले पनि उपचारको पुरानै विधि अपनाउन थालेको भन्दै उनले खटिरालाई क्यान्सर हुन दिने प्रवृत्ति त्याग्न नेतृत्वलाई सुझाव दिएका छन्।
यस्तो छ कार्कीको पूरक प्रतिवेदन