काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी ८औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि मंगलबारबाट समूहगत छलफल सुरु भएको छ।
छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ समूहमा विभाजन गरिएको छ। मंगलबार दिनभर छलफल हुने र छलफलको निष्कर्ष भोलिको बैठकमा २५ वटै समूहले पेश गर्ने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए।
आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि आज प्रदेशगतसहित २५ समूहमा छलफल हुने महाधिवेशन अध्यक्ष मण्डलका नेता महराले बताए। उनका अनुसार आज दिनभर छलफल हुने र छलफलको निष्कर्ष भने भोलि पेस हुनेछ।
एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच आज पार्टी एकता
नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच आज पार्टी एकता हुने भएको छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा. विजयकुमार पौडेलले जानकारी दिएका छन्।
एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। संगठन विस्तारलाई तीव्रता दिएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत प्राथमिकतामा राखेको छ।
सिरहामा निषेधाज्ञा जारी, हिँडडुल गरेको भेटिए कारबाही गरिने
सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ।
सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज र भोलि विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए। पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ।
सो अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ। सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ।
८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित
काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित गरिएको छ।
सिरिन्ज अभावका कारण तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो। गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो।
मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो। योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको छ।
देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात हुने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज आज देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।
भारतका १९ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिदै
भारतका १९ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएको छ। योसँगै विभिन्न राज्यमा कडाइ गर्न थालिएको छ।
राजधानी नयाँदिल्लीमा हिजोदेखि लागू हुने गरी रातको समयमा निषेधाज्ञा जारी गरिएको छ। ओमिक्रोनको संक्रमण बढ्न थालेपछि भारतीय स्वास्थ्य विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। आजसम्म भारतमा ७५८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
हालसम्म सबैभन्दा बढी दिल्लीमा १४२ जनालाई ओमिक्रोन देखिएको छ। यस्तै महाराष्ट्र, गुजरात, तेलांगना, केरला, तामिलनाडु, कर्नाटक, मध्यप्रदेश लगायतका प्रान्तमा पनि ओमिक्रोन संक्रमण बढ्दो क्रममा रहेको छ। ओमिक्रोन संक्रमणबाट बच्न नयाँदिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको अधिकारीहरुले बताएका छन्।
सेन्ट्रल जोन भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै
बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि आज नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन्।
साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३-२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो। पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो।
यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ। लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज जित निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ।