आइतबार, वैशाख ७, २०८२

उपाधि यात्रामा नेपाललाई 'ब्रेक' लगाएको त्यो एक गोल

अहिले अन्जना राना मगर स्पष्ट भइसकिन्। त्यो पराजय नै थियो। भारतसँग हार व्यहोरेको त्यो क्षण सपनाजस्तै लाग्यो उनलाई त्यतिबेला। खेल सकिएपछि पनि ‘के भइरहेको हो?’ उनी स्पष्ट हुन सकेकी थिइनन्।
 |  मंगलबार, पुस १३, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, पुस १३, २०७८

vianetvianet

अहिले अन्जना राना मगर स्पष्ट भइसकिन्। त्यो पराजय नै थियो। भारतसँग हार व्यहोरेको त्यो क्षण सपनाजस्तै लाग्यो उनलाई त्यतिबेला। खेल सकिएपछि पनि ‘के भइरहेको हो?’ उनी स्पष्ट हुन सकेकी थिइनन्।

triton college

‘हामी बाहिरिएको भन्ने पनि थाहा थियो। तर कताकता सपनाजस्तो भइरहेको थियो। हाम्रो खेल यति मात्र त होइन। हामी सपना देखिरहेका छौँ। अब 'जागेर' खेल्नुपर्छ भन्ने भइरहेको थियो,’ नेपाली टिमकी कप्तान अन्जनाले ढाकामा भर्खरै सम्पन्न यू-१९ महिला साफ च्याम्पियनसिपको अनुभव सुनाइन्।

तीन खेलसम्म अपराजित यात्रामा अघि बढेको नेपालले समूह चरणको अन्तिम खेलमा भने लय डिरेल भयो। ६७औं मिनेटमा भारतको गोल व्यहोरेको नेपालको अपराजित गतिमा 'ब्रेक' लाग्यो। त्यसअघि नै १३ गोल गर्दै क्लिनसिट राखेको नेपाल त्यही एक गोलका कारण फाइनल खेल्ने सपना अधुरो भयो।

‘त्यो एक गोल व्यहोरेको पल मेरो मानसपटलमा अझै घुमिरहन्छ। व्यक्तिगत मेरो लागि एकदमै नराम्रो थियो। म मेरो देशलाई च्याम्पियन बनाएर लिएर आउँछु भन्ने लागेको थियो। तर त्यो क्षणमा चुक्दा नराम्रो लाग्यो,’ गोल व्यहोरेपछि मुहारमा देखिएको उदासिनताको अन्जना बयान गर्छिन्, ‘अब हामी 'कमब्याक' गर्न सक्दैनौँ भन्ने गोल हुने बित्तिकै लाग्न थालेको थियो। खेल अवधिले हामीले गोल गर्न सकेनौँ।’

खेलमा नेपालले धेरै रक्षात्मक थियो। टिममा रक्षात्मक बन्नुपर्ने माहोल नै थिएन। गोलरहित बराबरीको अवस्था मात्रै सिर्जना गर्न सकेको भए नेपाल फाइनलमा पुग्ने समीकरण बनिसकेको थियो। बलियो भारतविरुद्ध गोल गर्न नसके पनि आफ्नो पोस्टमा गोल हुन नदिने अवस्थामा थियो नेपाल।

National life insurance

‘खेल सुरु भएदेखि नै हामी रक्षात्मक थियौँ। भारत बलियो टिम भएका कारण हामीले त्यस्तो रणनीति अपनाएका थियौँ। भारतले हामीमाथि गोल गरेपछि चाहिँ मलाई अब यो नै अन्तिम हो, अब सकियो भन्ने लागिरहेको थियो। त्यही पनि मैले पहिला आफूलाई सम्हालेँ। कप्तान भएपछि टिमको उत्साह मर्न नदिन पनि आफूलाई चाहिँ सम्हाल्नै पर्छ।’

पोस्टमा गोल रोक्ने प्रयासमा अन्जना राना मगर। 

आफ्नो उत्साह कताकता हुन खोजे पनि कप्तान अञ्जनाले टिम विचलित हुन नदिनका लागिका ऊर्जा दिने प्रयास गरेको उल्लेख गर्छिन्। ‘एक गोलले पछि परेको अवस्थामा पनि हामी गोल फर्काउन सक्छौं भन्ने ऊर्जा मैले टिमलाई दिन खोजिरहेकी थिएँ। कप्तान भएपछि टिमलाई ह्यान्डिल गर्नुपर्छ। आफूलाई सम्झाएर हामीले गर्नुपर्छ, हामी गोल गर्न सक्छौं भन्ने सन्देश दिन खोजिरहेकी थिएँ।’

प्रशिक्षक हरिओम श्रेष्ठलाई पनि आफ्नो टिम अलि बढी नै रक्षात्मक भएछ कि भन्ने पनि लाग्छ। ‘भारतसँग बराबरी भए पुग्थ्यो। त्यो मानसिकताको कारणले पनि हामीले हार्यौँ। खेलाडी रक्षात्मक खेल्न थाले,’ श्रेष्ठले नेपाल समयसँग भने।

यी त भए निकट प्रतिद्वन्द्वी भारतसँग नेपालको गेमका कुरा। समग्रमा प्रतियोगिताबाट प्रशिक्षक श्रेष्ठ चाहिँ कति खुसी र सन्तुष्ट छन् त? प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘नेपालले फेयर प्ले त पायो। त्यसलाई लिएर गर्व गर्न सकिएला। तर हाम्रो लक्ष्य फाइनल पुग्ने र उपाधि जित्ने थियो। फाइनल नै पुग्न सकेनौँ। हामीलाई फाइनल पुग्न नसक्नुको कारण चाहिँ खेलाडीको चोटको पनि हो। उपाधि लिएर फर्कने उद्देश्यले गएको म सन्तुष्ट भएँ त कसरी भन्नू?’

प्रतियोगितामा अन्जनाले चाहिँ कप्तानीको अनुभव बटुलिन्। ‘कप्तानी गर्न पाउँदा खुसी लाग्यो। टिमको लिड गर्न पाएँ। मेरो पहिलो कप्तानी पनि हो। यू-१९ मा चाहिँ अन्तिम पनि हो,’ १९ वर्षीया अञ्जनाले भनिन्।

उनले गएको भदौमा दशरथ रंगशालामा पनि बंगलादेशसँग एउटा खेले खेलेकी थिइन्। ‘यहीँ रंगशालामा बंगलादेशविरुद्ध खेलेकी थिएँ। त्यसले धेरै सहयोग गर्‍यो। बंगलादेशको यू–१९ टिममा पनि सिनियर टिमकै बाहुल्यता छ। २-४ जना मात्र फरक छ,’ दशरथ रंगशाला प्याराफिटमा बसेर अञ्जनाले भनिन्, ‘मैले चिनेकै खेलाडी टिममा थिए।’

नेपाल, भारत र बंगलादेश

साफका उपाधि दावेदार बंगलादेश, नेपाल र भारत मानिएका थिए। बंगलादेशी खेलाडी राम्रो भएको कप्तान अन्जनाको अनुभव छ। 

‘बंगलादेशको यो राम्रो यो नराम्रो पक्ष भन्ने छैन। तलदेखि माथि नै सेट टिम थियो। हामीले त्यो खेलमा दबाब पनि व्यहोरिरहेका थियौँ। बंगलादेशले हामीलाई स्ट्राइकर मात्र होइन डिफेन्सदेखि नै दबाब दिइरहेको थियो,’ बंगलादेशसँगको खेलबारे अन्जना भन्छिन्।


यता साफको लागि नेपालले मिश्रित स्क्वाड तयार पारेको थियो। युवादेखि सिनियर टिमका खेलाडी थिए। यू-१४ का साथै यू-१६ मा खेलिसकेका खेलाडी पनि थिए।  ‘सबै खेलाडी भएकाले हामीलाई गाह्रो चाहिँ भएन। सिनियर टिमका दुई खेलाडी थपिएपछि हामीले टिम थप बलियो भएको अनुभव गरिरहेका थियौँ,’ उनले भनिन्।

बंगलादेशको चाहिँ सिनियर टिममा र यू-१९ टिममा लगभग उही खलाडी छन्। भदौमा नेपाली टिमसँग सिनियर टिमले मैत्रीपूर्ण खेल्दा आएका खेलाडीमा ३-४ जना मात्र फेरिएका थिए। त्यसमाथि उसले भदौबाटै लगातार अभ्यास गरिरहेको थियो।

‘नेपालको तयारी छोटो भयो। बंगलादेशले लामो तयारी गरेको थियो। भारतले पनि त्यही प्रतियोगिताको लागि लामो समयदेखि अभ्यास गरिरहेको थियो,’ प्रशिक्षक श्रेष्ठले भने।

भारत र बंगलादेशले अभ्यास गरिरहँदा नेपालमा उपमेयर कप भइरहेको थियो। त्यहीँबाट प्रशिक्षक श्रेष्ठले यू १९ टिमको छनोट गरेका थिए।

‘हाम्रो चाहिँ टिम सेट हुन समय नपुगेको जस्तो पनि भयो। उपमेयर कपमा राम्रो देखिएको खेलाडी अन्तर्राष्ट्रि खेल खेल्न सक्ने भइसकेको हुँदैन। फिटनेसदेखि हरेक कुराले असर गरिरहेको हुन्छ,’ उनले भने, ‘तीन हप्ताको समय थियो। त्यसमा पनि उपमेयर कप खेलेर आएकोलाई घर पठाएर सामान लिएर आउँदा दुई हप्ता रह्यो।’ राम्रो तयारी गर्न सकेको भए नेपालको स्तर पनि बंगलादेशको बराबरी हुने प्रशिक्षक श्रेष्ठलाई लाग्छ। किनभने तीन वर्षअघि भुटानमा भएको खेलमा नेपालले भारतलाई हराएको थियो। 

‘सन् २०१८ को साफमा हाम्रा खेलाडी फिट पनि थिए। भारतलाई हराएका थियौँ। यो वर्ष पनि टिम त राम्रो नै हो फिटनेस र चोटले गर्दा चाहिँ हामीले राम्रो गर्न नसकेको हो,’ उनले भने।

साफमा नेपालको प्रदर्शन

नेपालको लागि मेनुका कुमारी आले मगरले तीन गोल गरिन् भने रजनी थोकर र रेश्मा कुमारी घिसिङले समान २-२ गोल गरे। समान १-१ गोल गर्नेमा कुसुम खतिवडा, सविता राना मगर र सलोनी रानामगर रहे।

नेपालले पहिलो खेलमा बंगलादेशसँग खेलेको थियो। बंगलादेश नेपालको चिर प्रतिद्वन्द्वी पनि बन्दै आएको छ। भुटानमा भएको २०१८ को फाइनलमा नेपालले बंगलादेशसँग नै हार व्यहोरेको थियो।

बंगलादेशको खेलबारे नेपालले बुझिसकेको थियो। पहिलो खेलमा नै बंगलादेशलाई हराएर अघि बढ्ने लक्ष्य नेपालको थियो। 'सकेसम्म गोल नखाने र राम्रो अट्याकबाट गोल गर्ने योजना थियो। अनि बंगलादेश राम्रो छ भन्ने थाहा थियो नै,’ उनले भनिन्, ‘बंगलादेशसँग त हामीले यू १४ देखि नै सँगै खेलिरहेका छौं। त्यसैले सुरुमा गोल गर्ने योजना थियो। तर खेल बराबरी चलिरहँदापछि चाहिँ गोल हान्न सकेनौँ भने गोल नखाने रणनीतिमा थियौँ।’

पहिलो खेल भएकाले सुरुमा नेपालले अट्याकिङ खेल्ने योजना बनाए पनि दबाब बढेपछि नेपालले केही तल बसेर बंगलादेशसँग खेलेको थियो। ‘बंगलादेशलाई जित्नैपर्छ भन्ने भावना चाहिँ टिममा थियो। पहिलो फाइनलमा हारेपछि त्यसको बदला लिने भावना पनि हुन्छ नि। सबैले जित्छौं भनेका थियौँ बराबरीसम्म भयो,’ अन्जनाले भनिन्।

उपाधि नजिते पनि नेपाल प्रतियोगिताको बेस्ट फेयर प्ले टिम बन्यो। ‘हामी फाइनल हेर्न गएका थियौँ। त्यतिबेला चाहिँ हामीले भारतसँग नहारेको भए हामीले पक्कै पनि फाइनल उठाउने थियौँ भन्ने लागिरहेको थियो,’ उनले भनिन्।

बंगलादेशको खेलले अन्जनालाई पनि चर्चामा ल्यायो। उनी त्यो खेलपछि सामाजिक सञ्जाल र युट्युबमा खुबै चर्चित बनिसकेकी थिइन्। खेलको समय उनी मोबाइल र सामाजिक सञ्जालबाट टाढै थिइन्। त्यसपछि मोबाइल चलाउँदा थाहा पाइन् उनको प्रदर्शनले सामाजिक सञ्जालमा राम्रै चर्चा भइसकेको रहेछ।

‘खेलको बेलामा त थाहा नै भएन। पछि एकाएक आफ्नै चर्चा सुन्दा आफैं आश्चर्यमा परेँ। युट्युब, फेसबुक, टिकटक सबै तिर आफूलाई देख्दा चाहिँ एकदमै खुसी लाग्यो,’ उनले सुनाइन्, ‘प्रेरणा पनि भयो। अझै धेरै गर्नुपर्छ भन्ने लागेको छ।’

बंगलादेशमै रहँदा अन्जनाको इन्स्टाग्राममा १० हजार फलोअर्स पुगेपछि टिमले उनलाई सरप्राइज दिएको थियो। ‘म कोठामा फोन चलाइएरहेकी थिएँ। एकाएक केक लिएर सबै काठामा पसे। के भयो भन्ने थाहै पाइनँ। पछि बल्ल थाहा भयो उपलब्धि त त्यही पो रहेछ। सानोतिनो सेलिब्रेसन नै भयो,’ उनले सरप्राइजबारे सुनाइन्।

भारत र बंगलादेशबाहेक नेपालले श्रीलंका र भुटानसँग पनि खेल्यो। दुवै खेलमा नेपालले विपक्षीलाई पूरै दबाबमा राखेको थियो। नेपालको पोस्टमा अन्जना एक्लिएकी थिइन्। त्यतिखेर के सोच आइरको थियो? जवाफमा उनले भनिन्, ‘अझै गोल हान्नुपर्छ, किनकि शीर्षमा आउनु थियो। म चाहिँ किपर प्लस डिफेन्सको काम गरिरहेकी थिएँ। अरु सबै अघि थिए। श्रीलंकासँगका खेलमा चाहिँ सेन्ट्ल लाइनभन्दा अघि नै पुगिसकेकी थिएँ।’

चोटको समस्या

नेपाली सेटमा भएका चार खेलाडीलाई चोट लागेको थियो। दीपा शाहीको हातमा समस्या छ भने प्रीति राईको घुँडामा चोट लागेको छ। त्यस्तै विमला विकेको कानमा चोट लागेको छ भने मञ्जु कुमारी खड्काको स्वास्थ्यमा समस्या देखिएको छ। ‘हाम्रो टिमका महत्पूर्ण खेलाडी नै घाइते भए। त्यसले गर्दा गाह्रो भयो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘प्लेइङ सेटको चार खेलाडी भएपछि समस्या भइहाल्यो। हाम्रो टिमको मुटु नै उनीहरु थिए। त्यो नभएपछि टिमले अपेक्षित नतिजा लिएर आउन सकेन,’ उनले जवाफ दिए।

चार खेलाडीलाई चोट लागेपछि भारतसँगको खेलमा नेपाललाई समस्या भयो। दीपा र प्रीति नभएपछि रश्मीले मिडफिल्ड सम्हाल्नु पर्‍यो। फरवार्डमा कुसुम खतिवडाले अवसर पाइन्।

दिपाको चार हप्तामा ठिक हुने चोट हो, प्रीतिको चोट पनि डेढ महिनामा मुक्त हुने खालको चोट हो। विमलालाई कानको चोट लागे पनि उनी त खेल्नका लागि तयार थिइन्। प्रशिक्षक श्रेष्ठ भने उनलाई नखेलाउने निर्णयमा पुगे। 

‘डाक्टरले रेस्ट दिन सुझाव दिएका थिए। म खेल्छु, म फिट छु भनेर विमलाले भनिरहिन्,’ श्रेष्ठले विमलाबारे भने, ‘दुई खेल ड्रप गरेर अन्तिममा छोटो समय चाहिँ खेलाएका थियौँ। उसको ईच्छा पनि पूरा भयो।’

नेपाललाई पाठ

‘लामो समयको घरेलु प्रतियोगिता नियमित रुपमा हुनुपर्छ। हाम्रो टिमको अभ्यास नियमित भइरहेको थिएन। राष्ट्रिय टिमको अभ्यास नियमित रुपमा हुनुपर्ने हो,’ के कमजोरी रह्यो र कसरी सुधार गर्नुपर्छ भन्ने प्रश्नका जवाफमा प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रो अभ्यास चाहिँ प्रतियोगिता आउने बेलामा १५-१२ दिन अभ्यास हुन्छ। धेरैमा एक महिना अभ्यास हुन्छ। त्यसले गर्दा पनि टिममा सबै कुरा मिल्दैन।’


 लामो अभ्यास भयो भने उपाधि जित्न गाह्रो नहुने श्रेष्ठको भनाइ छ। ‘अधिकतम प्रतियोगिता हुनु पर्‍यो। एन्फाले ध्यान देओस्।’यू-१९ प्रतियोगिता भनेको सिनियर टिममा पुग्न एउटा गेटवे पनि हो। सिनियर टिममा पुग्नका योग्य खेलाडी यू १९ टिममा रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन्।

‘पहिलाका खेलाडीभन्दा अहिलेका खेलाडीमा प्यासन बढेको छ। विभागीय टिमले व्यावसायिक रुपमा खेलाउन थालेपछि, खेलाडी खेल्न प्ररित भइहाल्छन्। आत्मविश्वास बढ्छ,’ श्रेष्ठले सुनाए, ‘तर यू-१९ को खेलाडी दीर्घकालीन शोख हुँदैन। भर्खर मात्र खेल्नुपर्ने रहेछ भन्ने सोच आउँदै हुन्छ। यू-१९ टिममा राम्रो गरेपछि विभागीय टिमले राखिहाल्छ।’ अहिलेका यू-१९ टिमका खेलाडीलाई पनि कति विभागले सम्पर्क गरिसकेको प्रशिक्षक श्रेष्ठ बताउँछन्।

‘अहिलेको उमेरमा, त्यसमाथि गाउँबाट आर्थिक रुपमा कमजोर खेलाडी आइरहेका हुन्छन्। आर्थिक सुरक्षा दिने हो भने खेलाडीको लागि अवसर पनि हुन्छ। त्यहाँ खेलाडीले लगातार अभ्यास गर्न पाउँछन्। त्यो पनि पनि राम्रो नै हो,’ उनले भने।

अब नेपालले पनि बंगलादेशबाट पाठ सिक्ने बेला भइसकेको छ। किनभने पछिला वर्ष बंगलादेशको महिला टिम नेपालको भन्दा बलियो देखिनुको कारण पनि अभ्यास नै हो। यो वर्ष पनि बंगलादेश नेपालभन्दा बलियो थियो। सन् २०१७ देखि बंगलादेशमा एउटै टिमले खेलिरहेको छ।

४/५ वर्षअघिको अवस्था भारत पहिलो, नेपाल दोस्रो र बंगलादेश तेस्रो मात्र आउँथ्यो। तर बंगलादेशले अहिले व्यापक सुधार गरेको छ। अहिले महिला फुटबलमा फड्को नै मारेको श्रेष्ठको बुझाइ छ।

यो वर्ष भुटानले पनि खेलमा सुधार गरेको प्रशिक्षक श्रेष्ठ बताउँछन्। ‘हामीले फुटबलमा अघि बढ्नका लागि महिला फुटबललाई प्राथमिकतामा राखेर गयो भने जित्नलाई साह्रो चाहिँ पर्दैन,’ उनले भने।

प्रकाशित: Dec 28, 2021| 07:25 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।