धनगढी– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। आज आइतबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश नम्बर १ लाई ७ विकेटले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो
६८ रनको लक्ष्य पाएको एपीएफले १४.२ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको हो। उसका लागि ज्योती पाण्डेले अविजित ३७ रन र ममता चौधरीले १९ रन बनाए। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन्। त्यसअघि टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो। उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३४ रन र अप्सरी वेगमले ११ रन बनाए।
एपीएफका लागि कप्तान सीता राना मगरले ३, रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट हात पारिन्। प्रतियोगिताको विजेता एपीएफले उपाधिसँगै नगद ५ लाख र उपविजेता प्रदेश १ ले ३ लाख पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएकी प्रदेश नम्बर १ कि कप्तान रुविना क्षेत्रीले २५ हजार पुरस्कार र मेडल हात पारिन्।
प्रतियोगितामा प्लेयर अफ टुर्नामेन्ट रुविना क्षेत्री बनिन् भने बेस्ट ब्याटर अप्सरी बेगम र बेस्ट बलर अलिशा खडिया बने। उपाधि एपीएफले जिते पनि व्यक्तिगत अवार्डमा भने प्रदेश १ का खेलाडीले क्लिन स्वीप गरे।
नेपाल क्रिकेट संघको आयोजनामा पुस ३ गते देखि धनगढीमा सुरु भएको उक्त क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट ७ टोली र एपीएफ गरी ८ टोलीको सहभागिता थियो।