बुटवल- बुटवलमा बिहीबारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ। उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो। ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ सुरु भएको मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन्।
मेला उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले पूर्वाधार विकासले सम्पन्न भएका कारण बुटवल उपमहानगर लगानीमैत्री सहर बनेको बताए। विश्व बैंकको सूचकांकले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको उल्लेख गर्दै सुवेदीले बुटवलमा आउँदो तीन वर्षमा साढे ६ अर्ब रुपैयाँ लगानी हुने बताए।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नहुने बताए। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले बुटवलका मुख्य ४ वटा व्यवासयीक संघसंस्था मध्ये उद्योग व्यापार संघ कान्छो भए पनि जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा अरू पुराना संस्था भन्दा कम नभएको बताए।
मेला आयोजक संघका अध्यक्ष गोविन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परे पनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे। पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन्। मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए। मेला उद्घाटन अघि ३४ वटा संघसंस्थाको सहभागितामा देवीनगर चौपारिबाट मेलास्थलसम्म झाँकीसहितको र्याली निकालिएको थियो।