लिखित सहमति गरेपनि ओलीले धोका दिए : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन्।
राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन्। उनले ओलीले बीचमा आएर प्रधानमन्त्री छाड्न नमानेको पनि उनले बताए। आधा कार्यकाल पूरा भएपछि अन्य नेताहरूसमेत साक्षी राखेर ओलीले बजेटसँगै आफूलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरे पनि ओलीले धोका दिएको दाबी गरेका छन्।
प्रचण्डले एमालेसँग एकता गरेर आफूले कुनै गल्ती नगरेको पनि बताएका छन्। पार्टी एकताको प्रस्ताव आफूले नै गरेको दाबी गर्दै उनले त्यसमा पश्चाताप नरहेको जिकीर गरेका हुन्। आफ्नै प्रस्तावलाई दुवै पक्षका नेता र जनताहरूले समर्थन गरेर दुईतिहाइ मत दिएको उनको दाबी छ। तर, पार्टी एकता भंग गर्ने सहमति उल्लघन गर्ने काम ओलीले नै गरेको प्रचण्डको भनाइ छ। ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफू विजयी भएपनि अदृश्य शक्तिले आफूलाई हराएको उनले टिप्पणी गरे। पार्टी छाडेर जाने नेताहरू आत्मलोचना गरेर फर्किने उनको भनाइ छ।
यस्तै राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।
पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन्। त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन्। सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको बुझिएको छ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनका विविध पक्षबारे छलफल गर्न शुक्रबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको जानकारी दिए।
कानुन कार्यान्वयन आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।
बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्। उनले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरे। मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ छ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले भने न्यायपालिकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको अन्योलमा चाँडो भन्दा चाँडो निकास दिन आग्रह गरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले दुई महिना भन्दा अघिदेखि आन्दोलन गरिरहेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको पेशी बहिस्कार गर्दै आएका थिए र मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्न थालिएको छ। न्याय क्षेत्रका विभिन्न संस्था र व्यक्तिहरुले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरेका छन्।
प्रन्याविरुद्ध चाँडै महाभियोग प्रस्ताव दर्ता हुन्छ : बार अध्यक्ष श्रेष्ठ
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चाडै महाअभियोगको प्रस्ताव दर्ता हुन सक्ने बताएका छन्।
बिहीवार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको बताएका हुन्। उनले प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसदमा प्रधानन्यायाधीशको बर्हिगमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने दाबी गरे।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बार एसोसिएसनले गरेको विरोधको कार्यक्रम जारी रहने पनि बताए।
शोभराजको मुद्दामा कारणदेखाउ आदेश जारी
बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो। उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन्।
नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ। तर विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै रहेको छ। शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन्।
बढी शुल्क लिने कलेजमाथि कारबाही गर्न निर्देशन
शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो। त्यस्तै समितिले शिक्षा सम्बन्धि विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ। यस भन्दा अघिपनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइन्।
त्यस्तै बैठकले यस अघि नै समितिले एसईई परिक्षा नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।
१७ हजार शिक्षक लिँदै सरकार
शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
बिहिबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुल्ला गर्ने तयारीमा रहेको बताएका हुन्। उनले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पुरा गर्ने गरी विज्ञापन खुल्ला गरिने बताए। मन्त्री पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनु पर्ने नियम अनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए।
मन्त्री पौडेलले बैंठकमा सांसद्हरुले उठाएको एसईई परिक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाल निकायहरुसँग छलफल भईरहेको बताए। त्यस्तै,मन्त्री पौडेलले प्रारंभिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्न लगाउनु अन्याय भएकाले त्यसलाई सच्याइने बताए।
प्राधिकरणको कार्यभार हस्तान्तरण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्यभार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणले आफ्नो कार्यभार र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई नयाँ चुनौति थपिएको बताए। उनले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको र अन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले त्यसतर्फ समेत भएर व्यवस्थापन प्राधिकरणले काम गर्नुपर्ने बताए। मन्त्री खाँडले अब पुनर्निर्माण प्राधिकरणले गरेको पुनर्निर्माणको अनुभवलाई लिएर व्यवस्थापन प्राधिकरणले देशको पुनर्निर्माणको क्षेत्रलाई उकास्नु पर्ने बताए।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको बताए। उनले यो उपलब्धिको जगमा उभिएर २०३० सम्म विपद् उत्थानशील मुलुकको रुपमा नेपाललाई विकास गर्नुपर्ने बताए। कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणले मुलुक दिगो विकास गर्नका लागि सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुकको विकास गर्ने एउटा आधार निर्माण गरेको बताए।
त्यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बितेको ६ वर्षमा हासिल गरेको उपलब्धिहरुलाई कायम राख्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए।
बैंकिङ च्यानलबाट रेमिट्यान्स ल्याउने वातावरण बनाउन आग्रह
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका छन्।
बुधबार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका हुन्। अध्यक्ष उपाध्यायले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणली मार्फत ल्याउने नीती सरकारले बनाउनु पर्ने धारणा राखे। उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरुले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रका कर्जा प्रवाह गर्ने बताएका छन्। अध्यक्ष पोखरेले बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताए। उनले राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्र कुन कुन हुन भनेर छुट्याई दिनु पर्ने बताए।
त्यस्तै,नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरिय कर्जा नराम्रो हुने गरेको बताए। उनले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताए।
बढ्यो नेप्से
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.५३ अंकले वृद्धि भएको छ।
केही दिन देखि निरन्तर रुपमा बढ्दै गएको नेप्से परिसूचक बिहिबार १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने बुधवारको तुलनामा केही घटेको छ। बुधबार ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको थियो।
बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ। बाँकी १० उपसमूहको परिसूचक बढेको छ। आज सबै भन्दा बढी निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५६ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
२९३ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ। सोही अवधिमा २६३ जना निको भएका छन्। यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ
अदालतमा बम बिस्फोट हुँदा २ जनाको मृत्यु
भारतको पञ्जाबस्थित लुधियानाको अदालत परिसरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन्। उनीहरुले अदालतलाई पूरै घेरेर कडा सुरक्षामा राखेका छन्। लुधियानाको प्रहरी कमिश्नरले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोट दिउँसो १२ बजेर २२ मिनेटमा अदालतको दोस्रो तलामा रहेको रेकर्ड कक्षमा भएको हो।