काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पुर्ण मतपरिणाम आज सार्वजनिक हुने भएको छ।
मतदान सकिएको ११ दिनपछि बल्ल कांग्रेसको सम्पूर्ण नतिजा सार्वजनिक हुन लागेको हो। खसआर्य र जनजाती बाहेक सबै कलष्टरको मतणना सकिएको छ। आज दिउँसोसम्ममा खसआर्य र जनजाती कोटाको पनि मतणना सकिने निर्वाचन समित संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
आदिबासी जनजाति तर्फको करिब २६ सय मत गनिसकिएको छ भने खसआर्य तर्फको करिब १७ सय मत गणना सकिएको उनले बताए। घिमिरेका अनुसार बिहान १० बजेबाट पुनः मतगणना सुरु भएको छ। हिजो नै मतगणना सक्ने भनिए पनि गणकका रुपमा खटिएका कानुन व्यवसायीहरु नेपाल बार एसोसिएसनको कार्यक्रममा व्यस्त भएकाले आज मात्रै मतगणना सकिने भएको हो।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत दलित खुलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको चुनावमा दलित खुलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन्।
दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन्। निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुन् भने अरु सबै देउवा प्यानलका हुन्।
यस्तै दलित महिलातर्फको केन्द्रीय सदस्य पदमा भने सबै सभापति शेरबहादुर देउवा पक्षका विजयी भएका छन्। दलित महिला सदस्यतर्फको ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा विजयी भएका छन्।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान सुरु
नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि कडा सुरक्षाका बीच मतदान सुरु भएको छ। हिजो नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले आज मतदान गरेको हो।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ। कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। प्रदेश २ का आठ जिल्लामा कांग्रेसका दुई हजार महाधिवेशन प्रतिनिधि छन्।
माओवादी प्रदेश १ कमिटी अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित
नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन्।अध्यक्षमा १६९ मत प्राप्त गर्दै नेम्वाङ विजयी भएका हुन्। अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बो ६४ मतका मात्रै ल्याउन सफल भए। अध्यक्षको मत गणनामा सात मत बदर भएको थियो। तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी विजयी भएका छन्।
सचिवमा गणेश उप्रेती विजयी भएका छन्। तीन सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना विजयी भएका छन्। कोषाध्यक्षमा रेवतराज पुरी विजयी भए। नौ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी
राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन्। चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जमा गत मंसिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामेरा चोरी भएका हुन्।
बाघ सर्वेक्षणका लागि राखिएको क्यामेरामध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार तथा चितवनमा एउटा क्यामेरा चोरी भएको निकुञ्जले जनाएको छ। बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामेरा राखेको छ।
हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि हिमताल जम्न थाले
हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि खोलानालासहित हिमताल जम्न थालेका छन्। मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए।
उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि जमेका छन्।
चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन्। जाडो बढेसँगै मनाङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए।
ओमिक्रोन भाइरसका कारण भारतको राजधानीमा नयाँमा हुने कार्यक्रममा प्रतिबन्ध
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।
दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमा रोक लगाएको हो। नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न पनि सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ।
त्यस्तै, दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ। भारतमा ओमिक्रोन संक्रमित दिनहुँ बढेका छन्। हालसम्म २१३ जनामा संक्रमण पुष्टि भएको छ।