काठमाडौं– निर्वाचन आयोगले २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी सुरु गरेको छ।
संविधानले स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत नगरेकाले आगामी वैशाखभित्र नै सबै स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी सुरु गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उहाले बताउनु भयो। स्थानीय तहको निर्वाचन पछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उनले जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताएका छन्। निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबारदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उनले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए। उनले आमसञ्चार क्षेत्रलाई निर्वाचनसँग जोड्नका निम्ति पनि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
बन्धक बन्यो संसद्
सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको स्वार्थका कारण संसद् बन्धक बनेको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध र सरकारको अकर्मण्यताका कारण कोरोना भाइरसको नयाँ भेरिएन्ट नियन्त्रणलगायत जनसरोकारका विषय ओझेलमा परेका छन्। सत्तापक्ष र प्रतिपक्षको हठका कारण संसद् ‘विरोध प्रदर्शन’ गर्ने थलोजस्तो देखिएको छ । एमालेले यसअघिका १५ बैठकमा जस्तै बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्यो । आज पनि ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्ने लगायतका नारा लगाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ।
सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएको हो। यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमती राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए।
यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिबाट स्विकृत गरिएको छ। एमालेका अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको “नेपाल प्रहरी र प्रदेश प्रहरी (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्विकृत भएको हो।
अब चाँडै संसद् खुल्छः कानुनमन्त्री
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले अब धेरै दिन संसद अवरुद्ध नहुने दाबी गरेका छन्।
बुधवार संसद बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा सम्वद्ध पक्षको ध्यानाकर्षण भइसकेको भन्दै अब धेरै दिन संसदमा गतिरोध नहुने विश्वास व्यक्त गरेका हुन्। प्रतिपक्ष दलले संसदलाई फलदायी, उपयोगी बनाउन दिनुपर्ने उनको भनाई छ। सर्वोच्च अदालतमा विचाराधिन मुद्धा संसदमा छलफलको विषय बनाउनु नहुने तर्फ उहाँले प्रतिपक्ष दल एमालेको ध्यानाकर्षण गराए।
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सभामुखले प्रमुख प्रतिपक्ष दललाई पक्षपातपूर्ण व्यवहार नगरेको दाबी गरिन्। अदालतमा विचाराधिन रहेको विषय संसदमा प्रवेश नदिएर सभामुखले संविधानसम्मत् काम गरेको उनको भनाइ छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्। संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको उनले बताए।
पूर्व प्रधानमन्त्री खनालले एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त बनेको टिप्पणी पनि गरे।
सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको बताएका हुन्। उनले एमालेले अव पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दावी गरे। अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा छन् भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो।
अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए।
राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ विचारः माओवादी
नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ।
बुधबार माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पुष ११ गदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएका हुन्।
उनले नयाँ क्रान्तिकारी विचार निर्माणसहितको नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नु राष्ट्रिय सम्मेलनको मुख्य दायित्व भएको बताए। राष्ट्रिय सम्मेलनमा पार्टीको आजसम्मका आरोह–अवरोहको सम्बन्धमा गम्भिर रुपले छलफल गर्ने र कमिकमजोरीहरुको पनि समिक्षा हुने उनले बताए।
माओवादी प्रवक्ता महराले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता भएको उल्लेख गर्दै पार्टी सोबाट विचलित भए÷नभएको सम्बन्धमा समिक्षा गर्ने जानकारी दिए। एकतावद्ध हुने र क्रान्तिको बाँकी कार्यभारलाई सम्पन्न गर्नेगरी पार्टीलाई कस्तो बनाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रीत रहेर छलफल हुने उनको भनाइ छ।
माओवादीको राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन। जसमध्ये आयोजक समिति १७९ जना, सल्लाहकार समिति १४९ जना, जेष्ठ कम्युनिष्ट १२५ जना, आयोग ७५ जना, केन्द्रीय विभाग १०२ जना, केन्द्रीय प्रतिनिधि २७ जना, प्रदेश प्रतिनिधि ८०३ जना र मनोनित ७३ जना रहने भएका छन्। राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा भवनमा हुने भएको छ।
कांग्रेस अधिवेशनमा झडप
नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको निर्वाचन साँझसम्म सुरु हुन नसकेपछि दुई समूहबीच झडप भएको छ।
मतदानस्थल गोपाल धर्मशालामा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्णप्रसाद यादव पक्षका युवाहरुले निर्वाचन गराउने वा नगराउने विषयमा नाराबाजी गरेपछि झडप भएको हो। रामसरोज प्यानलका युवाहरुले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध नारावाजी गरिरहेका छन् भने कृष्ण यादव प्यानलका युवाहरु मन्त्री रामसरोज यादवविरुद्ध नाराबाजी गरिरहेका छन्। सोही क्रममा दुई समूहबीच झडप भएको हो। कृष्ण यादव पक्षले आजै निर्वाचन हुनुपर्ने अडान राखेको छ भने रामसरोज पक्षका युवाहरुले भोलि बिहीबार निर्वाचन गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्।
यसैबिच, नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आगामी शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनले १० गते बैठक बोलाउने भए पनि समय भने तय भइनसकेको जानकारी दिएका छन्। त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ। सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन्। १४औं महाधिवेशनबाट १३ जना पदाधिकारी १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन्।
ललिता निवास प्रकरणमा दम्पती पक्राउ
काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त रामकुमार सुवेदी र उनकी पत्नि माधवीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। रोल ....
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गए राति स्वयम्भूबाट पक्राउ गरेका उनीहरुलाई बुधबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले दुवै जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको सीआईबीले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनीहरू फरार भएका थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा अनियमितता गरेको आरोपमा तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको थियो।
थप एकजनामा भेटियो ओमिक्रोन
नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।
८९ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयकी वक्ता डाक्टर संगिता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन्। योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। ओमिक्रोन विश्वभर तिब्र गतिमा फैलिरहेको छ।
यसैबिच, पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन्।
सेयर बजारमा उछाल
एक महिना देखि निरन्तर रुपमा गिरावट हुँदै आएको सेयर बजार मापक नेप्से परिसूचक बुधवार ह्वात्तै बढेको छ।
गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबार देखि सेयर बजार उकालो लाग्न थालेको छ। राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले मंगलवारबाट नेप्से परिसूचकमा हरियाली छाउन थालेको छ। मंगलवार ५६.७३ अंकले बढेको नेप्से बुधवार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७० बिन्दुमा पुगेको छ।
आज कारोबारमा आएका २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ। आज पनि कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ। जसमा सबै भन्दा बढी व्यापार उपसमूहको ८.२३ प्रतिशतले बढेको छ।
क्यानले गरेको कारबाहीमा बोर्ड सदस्यको आपत्ति
नेपाल क्रिकेट संघ क्यानबाट खेलाडीको कारबाहीबारे नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन्।
क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन्। साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही गरेको आरोप लगाउँदै कारबाही फिर्ता लिनु पर्ने माग पनि गरिएको छ।
सोही पत्रकार सम्मेलनमा पुस १३ र १४ गते हुने भनिएको साधारणसभालाई ‘अवैधानिक’ भन्दै तत्काल रोक्न पनि माग गरिएको छ। क्यानको विधानअनुसार जिल्ला संघहरूको साधारणसभा प्रत्येक चार वर्षमा हुनुपर्ने र २० भन्दा बढि जिल्लाको समयसीमा सकिएकाले त्यहाँबाट आउने प्रतिनिधि नै अवैधानिक हुने भन्दै ६ जना बोर्ड सदस्यले साधारण सभा अवैधानिक भनेका हुन्।
क्यानले गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको थियो। क्यान नेतृत्वले ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर उनको स्थानमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो।