नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना आज सम्पन्न हुने भएको छ। १३४ पदका लागि निर्वाचन भएकोमा पदाधिकारीसहित १२६ पदको नतिजा सार्वजनिक भइसकेको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए। अब बाँकी रहेको तीन क्लस्टर खसआर्य, दलित र आदिबासी जनजातिको पनि बुधबार नै नतिजा सार्वजनिक हुने उनले बताए।
अहिले यी तिन कलस्टलको मतगणना भइरहेको छ। कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो। पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको छ।
प्रदेश २ मा कांग्रेसको नेतृत्व चयनका लागि मतदान हुँदै
नेपाली कांग्रेस प्रदेश-२ को पहिलो अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ। जसका लागि १८० जनाको उम्मेदवारी परेको छ। दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधिले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ। प्रदेश सभापतिमा कृष्णा प्रसाद यादव र रामसरोज यादवबीच प्रतिपर्धा हुने भएको छ।
शेरबहादुर देउवा पक्षबाट कृष्णालाई र विमलेन्द्र निधि-शेखर कोइराला समूहबाट रामसरोजले उमेदवारी दर्ता गराएका छन्। दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस्तै दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ। त्यस्तै २ महामन्त्रीका लागि पनि ५ जनाको उमेदवारी परेको छ। यस्तै ३ सहमहामन्त्रीका लागि ११ जनाले उमेदवारी दिएका छन्।
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको दशौं अधिवेशनको तेस्रो बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा केहि अध्यादेशहरु स्विकृतिका पेश गर्ने कार्यसूची तय गरिएको छ। बुधबारको बैठकमा पनि सरकारले अघि बढाउन चाहेको अमेरिकी सहयोग परियोजना एमसीसी टेवल नहुने भएको छ। बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसअघि मंगलबार बसेको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच दुईवटा अध्यादेश स्विकृत गरिएको थियो।
चोलेन्द्र शमशेर जबराको आह्वानमा आज न्याय सेवा आयोगको बैठक
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आह्वानमा आज न्याय सेवा आयोगको बैठक बस्दैछ।
नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ बजे बस्दैछ। यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशनका लागि आयोगको बैठक बोलाएको बताइएको छ।
प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्।
८ दिनपछि भेटिए चन्द्रे कामी
अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका हुम्ला चन्द्रे विक भेटिएका छन्। मुगुकी सुन्तली मल्लसँग प्रेम विवाह गरेपछि युवतीका आफन्तले चन्द्रेलाई मध्यरातमा घरबाट कुटपिट गर्दै लिएर गएका थिए।
त्यसपछि युवती माइती घरमै भेटिएकी थिइन् भने चन्द्रे बेपत्ता थिए। जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको ३५ टोलीले चन्द्रलाई मंगलबार राती खार्पुनाथ गाउँपालिकामा फेला पारेको हो।
युवतीका परिवारले चन्द्रेलाई मारिदिने र जिउँदो भेटिएपनि बाल विवाहको मुद्दा लगाएर जेल हाल्ने धम्की दिएपछि आफू लुकेर बसेको चन्द्रेले बताएका छन्। खार्पुनाथ गाउँमा भेटिएका चन्द्रेलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ।
विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग
शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गरेको छ। आयोगले आज सूचना प्रकाशित गरेर निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकको विज्ञापन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका लागि आवेदन दिन आयोगले आग्रह गरेको छ। सबैभन्दा धेरै नेपाली र अंग्रेजी विषयका शिक्षक माग गरिएको छ।
नेपाली विषयमा ४३७ जना र अंग्रेजी विषयका लागि ६२४ जनाको माग भएको छ। यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको हो।
दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि आज खोप लगाइने
फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि आज खोप लगाइने भएको छ। धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो आएपछि बुधबार फाइजर खोपको दोस्रो मात्रा लगाउन लागिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।
कार्यालयका अनुसार खोप १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई छाउनीस्थित नेपाली सैनिक अस्पताल लगाउने व्यस्था गरिएको छ। हाल मोडर्ना खोप लगाएका ५७ जिल्लाबाहेकका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ।
तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थाल्यो
चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ।
अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन। त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ।
यसैबिच, आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस मापन गरिएको छ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार आज देशका पहाडी भूभागमा आशिंक बदलि हुनेछ। उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको उनले जानकारी दिए।