मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • गठबन्धनलाई पेलेर एमसीसी अघि बढाउने मनस्थितिमा देउवा, जहाज किन्न १५ अर्ब माग्यो नेवानिले [२०७८-९-६]

गठबन्धनलाई पेलेर एमसीसी अघि बढाउने मनस्थितिमा देउवा, जहाज किन्न १५ अर्ब माग्यो नेवानिले [२०७८-९-६]

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार अन्य दलहरुलाई पेलेरै अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने तयारी गरेका छन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार अन्य दलहरुलाई पेलेरै अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने तयारी गरेका छन्। 

देउवाले सकेसम्म सहमतिमा नभए पेलेरै भएपनि एमसीसी अघि बढाउने नीति अख्तियार गरेका हुन्। उनी निकटका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले यसको पुष्ट गरेका छन्। उनले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन्।  मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताए। उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए।

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारेका छन्। सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए। 

उनले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताए। 

एमसीसीविरुद्ध प्रदर्शन

एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितमा राजनीतिक दलहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेका छन्। 

एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनालीसहितका नेताहरुको अगुवाईमा काठमाडौंमा विरोध प्रर्दशन गरिएको हो। कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले एमसीसी अनुदान  नभएको दावी गरेका छन्। उनले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए। महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए। 

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए। उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए। नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउका छन् । 

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले ससदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए। उनले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए। 

संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताए। 

यथास्थितिमा एमसीसी पास हुँदैनः एमाले

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। 

मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताएका छन्। 

नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाए। एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता  पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उनको भनाई छ। एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने बताए। 

नेकपा(माओवादी केन्द्र)का सांसद राम कार्कीले एमालेले संसद अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गरे। उनले एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफुलाई अर्मयादित बनाउनु नहुने बताएका छन्।

नेकपा(एमाले) का सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताए। एमालेले केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको तर्क छ। विभिन्न बखेडा झिकेर संसद अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए। 

संसद अवरुद्ध गर्नाले राजनीतिक दलहरु र स्वयम् एमालेलाई पनि राम्रो नहुने सांसद पाण्डेले बताएका छन्। 

एमालेले संसद् अवरुद्ध गर्नु संविधानविपरीतः सभामुख

सभामुख अग्नीप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन्।

सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्धाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराए। मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि उनले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढन पटकपटक आग्रह गरेका छन्। उनले राष्ट्रहितको कैयन विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको बताए। 

सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन पनि संसदलाई सूचारु गरेर अघि बढनुको विकल्प नरहेको बताए।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा २ वटा अध्यादेश स्विकृत गरिएको छ। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्विकृत गरिएको हो। बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए।। तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो।  सो अध्यादेश स्विकृत भएपछि प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। 

ओलीको सातो गइसक्योः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएपनि आफूहरुको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताए। मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्मान नगरेको दावी गरे। एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो। 

अध्यक्ष नेपालले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताएका छन्। उनले एमाले ओलीको प्राईभेट कम्पनीमा रुपान्तरण भईसकेको दोहो¥याए। 

कांग्रेस मतगणना अन्तिम चरणमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले ७५ प्रतिशत वर्चस्व कायम गरेको छ। पदाधिकारीसहित १३४ निर्वाचित कार्यसमितिका लागि हालसम्म ७१ पदको मतगणना सकिएको छ। त्यसमध्ये पदाधिकारीसहित ५४ जना देउवापक्षले जितेको छ। सभापतिमा पराजित शेखर कोइरालापक्षका १७ जना विजयी भएका छन्।

६३ जना केन्द्रीय सदस्यको मतगणना सकिन बाँकी छ। पदाधिकारी, खुला महिला÷पुरुष, मधेशी खुला, प्रदेश १ र २, पिछडिएको क्षेत्र, अपाङ्गता, अल्पसंख्यक लगायतको मतगणना सकिएको छ। विभिन्न क्लस्टर अनुसारको मतगणना हुँदा भारी अन्तरले देउवापक्ष बलियो देखिएको छ। यही क्रमको निरन्तरता भयो भने देउवा पार्टीमा थप शक्तिशाली हुने देखिन्छ। सभापतिले समावेशिताका आधारमा थप ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था छ। 

यसैबिच, नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन्। मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन्। उनले २५२२ मत पाएका छन्। त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन्। चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन्। चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन्।

जहाज किन्न १५ अर्ब माग

नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ।

निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन्।

मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन्। उनले भने, “यो रकम पुँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौं, नयाँ जहाज किन्छौ।’

२९० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ भने ८ लाख ९ जहार ३८७ जना संक्रमणमुक्त भएका छन्।

बढ्यो सेयर

एक महिना देखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ। 

सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था गरेको छ। राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले नेप्से परिसूचकमा हरियाली छाएको छ। 

सोमबार १७.९३ अंकले गिरावट आएको नेप्से परिसूचक आज ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ। 

साफ उपविजेता सम्मानित

साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ। 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन्। यस अघि १३ औं संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रीपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। सोही अनुसार सरकारले २३ खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र ४ अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो। पुरस्कार वितरण पछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए।

प्रकाशित: Dec 21, 2021| 19:43 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।