काठमाडौं- प्रतिनिधि सभाको दशौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ। संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुने भएका छन्। तर, सरकारले अघि बढाउन खोजेको अमेरिकी सहयोग परियोजना एमसिसीलाई भने सम्भावित कार्यसूचीमा समेटिएको छैन्।
मंगलबारको बैठकमा एमसीसी अघि नबढ्ने करिब निश्चित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको बैठकमार्फत सकेसम्म चाडो एमसिसी अगाडि बढाउने प्रयास गरिरहेका छन्। एमसीसी सकेसम्म यहि साता संसद्बाट अघि बढाउनु पर्ने पक्षमा प्रधानमन्त्री देखिएका छन् भने सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालले अहिलेकै अवस्थामा एमसीसी अघि बढाउन नहुने पक्षमा मत राख्दै आएका छन्।
१४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको बर्चस्व
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको बर्चस्व देखिएको छ।
सोमबार राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ९ जना खुला महिला सदस्य मध्ये देउवा पक्षका ८ र शेखर कोइराला पक्षका १ जना रहेका छन्। ९ मध्ये निर्वाचित ६ सदस्य पुरानै र ३ सदस्य नयाँ रहेका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सर्वाधिक मतसहित विजयी भएकी छिन्। उनले दुई हजार ८८५ मत पाएकी छिन्। त्यस्तै, पुष्पा भुसालले दुई हजार ७१८, आरजु राणाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा समूहका हुन्।
माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी
नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन्।काभ्रेपलान्चोकका दीननाथ गौतमलाई पराजित गर्दै सिन्धुपाल्चोकका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्। विजयी भएका पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्रै पाए। यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन्।
सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि बागमती प्रदेशको अध्यक्ष र पदाधिकारीका लागि पहिलोपटक गएराती चुनाव भएको हो। अरु प्रदेशमा माओवादीले सहमतिमा पदाधिकारी चयन गरेको थियो।
निर्वाचनको तयारीमा जुट्यो आयोग, छुटफुट नाम दर्ता गराउन आग्रह
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने स्थानबाट नाम दर्ता गराउन अपिल गरेको छ।
नाम छुटेकाहरुले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गराउन आयोगले आग्रह गरेका हो। १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता नामावली सङ्कलन कार्य देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट भइरहेको छ।
नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा मतदाता नामावलीमा दर्ता, व्यवस्थापन, समावेशीजस्ता विषयका सम्बन्धमा उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त कार्यमा सहयोग पुर्याउन सम्पूर्ण सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको जनाएको छ।
विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ
नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ। हिजो सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो। निर्देशनमा चिनी÷चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा/भिनागर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका वहूमुल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ।
निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी विद्युतीय बाहेकका गाडी र मोटरसाईकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन दिइएको छ।
उपत्यकासहित देशभरको मौसम आशिंक बदलि हुने
मंगलबार काठमाडौं उपत्यकासहित देशभरको मौसम आशिंक बदलि हुने भएको छ। न्यून चापीय प्रणालीको प्रभावका कारण केहि उच्च पहाडी र हिमाली भूभागमा हिमपात सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकाको मौसम सामान्यता सफा हुनेछ।
मंगलबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ। सबैभन्दा कम ताक्रम जुम्लामा माइनस ६.२ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन डब्ल्यूएचओको अपिल
विश्व स्वास्थ्य संगठनले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ।
ओमिक्रोन भेरियन्टको संक्रमण युरोप लगायत विश्वभरका देशमा तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो। संगठनले बिदाका कार्यक्रम रद्द गरेर पहिला आफ्नो ज्यान बचाउन आग्रह गरेको छ।
बढ्दो ओमिक्रोन संक्रमणका कारण अहिलेसम्म नेदरल्याण्ड्सले मात्रै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ। बाँकी युरोपियन र अमेरिकी देशहरुले बुस्टर डोज खोपमा जोड दिइरहेका छन्।