मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • ओलीले देउवालाई गठबन्धन तोड्न अफर गरेको प्रचण्डको दाबी, संसद्को कार्यसूचीमा परेन एमसीसी [२०७८-९-५]

ओलीले देउवालाई गठबन्धन तोड्न अफर गरेको प्रचण्डको दाबी, संसद्को कार्यसूचीमा परेन एमसीसी [२०७८-९-५]

गठबन्धमा रहेका प्रमुख तीन दलले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– गठबन्धमा रहेका प्रमुख तीन दलले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन्।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गठबन्धन टुट्न दिन नहुनेमा जोड दिएका हुन्। 

उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनकारीको संज्ञा दिदै  उनी र उनको पार्टीलाई पराजित गर्नकै लागि गठबन्धन कायम राख्नु पर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाए। संसदलाई बन्धक बनाएर ओलीले यसको पुष्टि गरेको उनको भनाइ छ। 

उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना बिपरित् नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे। अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र बिरोधी भएको पुष्टि हुने बताए। 

अध्यक्ष दाहालले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको पनि दाबी गरे।  एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि काँग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको अध्यक्ष दाहालको भनाइ छ। 

यस्तै, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परस्त गर्नका लागि चुनावसम्म गठबन्धन निरन्तर रुपमा लैजानु पर्ने बताएका छन्। समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको गठबन्धनलाई भत्काउने खोजिएको भन्दै त्यसैले सचेत रहेन आग्रह गरेका थिए। उनले संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनपर्ने बताए। 

यस्तै सोहि कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रगमनकारीविरुद्ध लड्न गठबन्ध अझै बलियो बनाएर जानु पर्नेमा जोड दिए। उनले मुलुक फेरि पनि प्रतिगमनको खतरामा रहेकाले सचेत हुन जरुरी रहेको तर्क गरे। 

‘संविधानको रक्षा गठबन्धनले नै गरेको हो’

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको दाबी गरेका छन्। 

सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताएका हुन्। राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उनको भनाइ छ। वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उनले दाबी गरे। 

मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समुद्धिको दिशातर्फ अगाडी बढाउनुपर्ने बताए। संविधानलाई समयानुकुल परिवर्तन गर्दै  देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्नु पर्नेमा उनले जोड दिए। 

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

अमेरिकी सहयोग परियोजना एमसिसी भोलि मंगलबारको प्रतिनिधि सभा बैठकमा टेबल नहुने भएको छ।

संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसिसीबारे उल्लेख गरिएको छैन। मंगलबारको बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुँदैछन्। तर सम्भावित कार्यक्रममा एमसिसीको विषय उल्लेख छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा एमसिसी अगाडि बढाउने प्रयास गरिरहेका छन्। उनले आइतबार सर्वदलीय बैठक गर्दै संसदमा एमसिसी टेबल गर्न दलहरूलाई सहमतिमा आउन आग्रह गरेका थिए। सत्तारूढ दलहरूले नै एमसिसी संशोधनबिना अघि बढाउन तयार नभएपछि अध्ययनका लागि कार्यदल बनाइएको छ। 

सभामुख अग्नि सापकोटाले संसद बैठकमा अवरोध रहेको अवस्थामा एमसिसीमा छलफल गराउन नसकिने बताएका छन्। सभामुख सापकोटाको सचिवालयका अनुसार सापकोटाले एमसिसी अघि बढाउन सर्वदलीय सहमति र संसदको अवरोध हट्नु पर्ने बताउँदै आएका छन्।

एमसीसी आर्थिक सहयोगमात्रै होस्ः नेपाल

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन्। 

समाजवादी प्रेस संगठन नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका हुन्। उनले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताए। अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताए। आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने, सच्याएर मात्रै अघि बढ्ने उनको भनाइ छ। 

अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोप समेत लगाए। ओलीले गफाडी नम्बर वान भनेर गिनिज बुकमा नाम लेखाए हुने उनको टिप्पणी थियो। अध्यक्ष नेपालले संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने दाबी गरे। 

सेयर बजारमा गिरावट

तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ। 

आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको शेयर बजार सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। शेयर बजार पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ। आज पनि कारोबार रकममा खासै सुधार भएन।

नेप्से कारोबारमा आएका १३ उपसमूहको उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स दुई उपसमूहको सूचक बाहेक ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ।

२२० जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

२ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन्। 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन्। जसमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा रहेका छन् भने २६१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोना २७ जना भेन्टिलेटरमा उपचाररत छन्।

इन्द्रेणीमा आगलागी

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ। 

सोमवार दिउँसो तिनबजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो। आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृध गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए। दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए। प्रारम्भिक अनुसन्धानमा इन्र्भटरमा आगलागी भएर आगलागी फैलिएको देखिएको उनले जानकारी दिए। 

काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए।

ए डिभिजन लिगमा एपीएफको पहिलो जित

विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ। 

दशरथ रंगशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबमाथि ३–१ ले हराउँदै एपिएफले पहिलो जित दर्ता गरेको हो। अघिल्ला खेलमा खराब नतिजबाट गुज्रिरहेको एपिएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गर्दा बिकी तामाङको नाममा एक गोल रह्यो। फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए।

यस जितसँगै एपीएफले ५ खेलमा ४ अंक जोडेको छ। एपीएफ ११ औं स्थानमा उक्लिएको छ। फ्रेन्ड्सले ५ खेलमा २ अंक जोडेको छ। फ्रेन्ड्स पुछारमा झरेको छ। यससँगै सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ चरणका खेल पनि सकिएका छन्। १३ अंक जोड्दै मनाङ मस्र्याङ्दी तालिकाको शीर्ष स्थानमा रहँदा ११ अंकका साथ मच्छिन्द्र फुटबल क्लब दोस्रो, ९ अंकका साथ त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो र समान ९ नै अंक भएको संकटा चौंथो स्थानमा छ। लिगमा छैठौं चरणका खेल पुष ९ गतेबाट हुनेछ। 



प्रकाशित: Dec 20, 2021| 19:37 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।