मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : यी हुन् कांग्रेस केन्द्रीय सदस्यमा विजयी नयाँ नेता

बिहानी समाचार : यी हुन् कांग्रेस केन्द्रीय सदस्यमा विजयी नयाँ नेता

१६ युवा कांग्रेस केन्दीय सदस्यमा निर्वाचित, एमसिसीबारे छलफल गरेर टुंगोमा पुर्‍याउन कार्यदल गठन
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। आइतबार रातीदेखि नै खुला सुरु गरिएको महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनालाई सोमबार बिहानैदेखि निरन्तरता दिइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

हिजो पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार हालसम्म झण्डै पाँच सय जनाको मतगणना सकिएको छ। तर प्रारम्भिक मतपरिणाम भने आज मात्रै सार्वजनिक गरिनेछ। खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ। 

१६ युवा कांग्रेस केन्दीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसमा १६ जना युवा तथा नेता पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आइतबार राति सकिएको मतगणनामा १६ जनाले सर्वाधिक मत ल्याएर पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य हुने अवसर पाएका हुन्। ३५ जनाका लागि गत सोमबार भएको चुनावमा ९९ जनाको प्रतिष्पर्धा थियो। त्यसमध्ये १६ जनाले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बन्न सफल भएका हुन्।

जसमा उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका हुन्। यस्तै सञ्जयकुमार गौतम, डा गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य र कृष्णकिशोर घिमिरे पनि पहिलो पटक कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन्। 

एमसिसीबारे छलफल गरेर टुंगोमा पुर्‍याउन कार्यदल गठन

अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्न तीन सदस्यीय कार्यदल गठन भएको छ। 

एमसिसीलाई अगाडि बढाउने कि के गर्ने भन्ने विषयमा हिजो बसेको सर्वदलीय बैठकमा छलफल भएपछि कार्यदल गठनको निर्णय भएको हो। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सदस्य छन्।

सर्वदलीय बैठकमा बोल्दै खनालले यसअघि आफ्नै नेतृत्वमा कार्यदल बनेर अध्ययन गरेकाले धेरै कुरा थाहा भएको र अन्य दलहरूसँग थप छलफल गर्न सकिने बताएका थिए। त्यसपछि यसपालि पनि उनिहरुकै संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको थियो। 

प्रदेश १ र बागमतीमा नेतृनत्व चयन गर्न माओवादी  केन्द्र असफल

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल भएको छ। 

केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास हुँदै आएपनि कसैको नाममा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति हुन नसकेपछि प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन्।

माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको थिएन। यता बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिएको भनिएपनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन। यी प्रदेशबाहेक प्रदेश २ मा पनि नेतृत्व चयन गर्न सकस परेको थियो। 

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ताअन्तर्गत करिब  चार लाख मतदाता थपिए

निर्वाचन आयोगले सञ्चालन गरेको पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख मतदाता थपिएका छन्। 

निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरबाट चार लाख सात हजारको नामावली दर्ता भएको छ। पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली संकलन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मंसिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ।

हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिनेछ। मंसिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो।

लुम्बिनीका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप 

लुम्बिनी प्रदेशका नौ जिल्लामा आज देखि बालबालिकालाई कोरोना भाइरस विरुद्धको  मोर्डना खोप लगाउन  सुरु गरिने भएको छ।

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो। लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो।

जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले जनाएको छ। लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीका लागि फाइजर खोपको  दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ।

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ। बिहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको भनाइ छ।

बिहान तापक्रम घटे पनि दिउँसो भने पारिलो घाम लाग्ने महाशाखाले जनाएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ। यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न नसकिने महाशाखाले जनाएको छ। तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिने बताइएको छ।

 फिलिपिन्समा सामुन्द्रिक आँधीका कारण  १६९ मृत्यु 

फिलिपिन्समा आएको सामुन्द्रिक आँधीका कारण मृत्यु हुनेको संख्या १६९ पुगेको छ। हिजोदेखी आएको आँधीका कारण आज बिहानसम्म १६९ जनाको मृत्यु भएको फिलिपिन्सबाट प्रकाशित हुने द मनिला टाइम्सले जनाएको छ।

समाचार अनुसार १०७ जना घाइते भएका छन,् भने ५० जना बेपत्ता छन्। आँधीका कारण विद्यूत र सञ्चार सेवा समेत अवरुद्ध हुँदा आँधीबाट प्रभावित राज्यहरुको पछिल्लो तथ्यांक लिन समस्या भएको पनि मनिला टाइम्सले जनाएको छ। 


प्रकाशित: Dec 20, 2021| 10:35 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।