निष्कर्षविहीन सर्वदलीय बैठक
संसद अवरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ।
एमसीसी अघि बढाउने की नबढाउने भन्ने विषयमा विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलिय बैठक निष्कर्ष बिहिन भएको हो। बैठकमा लगातार संसद् अवरुद्ध गर्दै आएको नेकपा एमाले सहभागी भएको थिएन् भने। सहभागी अधिकांशले एमसीसी जस्ताको तस्तै अघि बढाउन नहुनेमा जोड दिएका थिए।
आइतबारको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए। जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए। नेपाल मजदुर किसान पाटी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेको सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले जानकारी दिए।
एमसीसी अघि बढाउन सभामुखका तीन शर्त
अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा अघि बढाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले तीन सर्त अगाडि सारेका छन्।
उनले राष्ट्रिय सहमति हुनुपर्ने, जनताबाट एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने, संसद्मा एमालेले जारी राखेको अवरोध हट्नुपर्ने तीन शर्त अघि सारेका हुन्। सभामुखको सचिवालयकाअनुसार सभामुखले एमसीसी संसद् अवरुद्ध भइरहेको र राष्ट्रिय सहमति नभएको अवस्थामा अगाडि बढाउन आफूलाई गाह्रो पर्ने बताएका छन्।
एमालेले संसद्मा अवरोध जारी राखेको अवस्थामा कुनै पनि राष्ट्रिय महत्वका विषय अगाडि बढाउन आफूलाई असहज हुने कुरा सभामुखले आफू निकटहरूलाई बताएका हुन्। राष्ट्रिय महत्वको विषय, दूरगामी महत्वको विषयमा पेलेर जान नसकिने सभामुखको भनाइ छ।
एमसीसीलाई लिएर जनतामा भ्रम र अनेक आशंका उब्जिएका छन्। ती विषयलाई चिर्न सरकारकाले नसेका कारण सभामुख राष्ट्रिय सहमति बेगर एमसीसी अघि बढाउन हच्किएका हुन्। संसद्को ठूलो दल एमालेले नाराबाजी गरिरहने र त्यसैबीचमा राष्ट्रव्यापी विवादमा रहेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत गर्न आफूलाई गाह्रो पर्ने सभामुखले बताएको उनको सचिवालयको भनाइ छ।
सर्वदलीय सहमतिमा एमसीसी पारित गराउने परियारको दाबी
सत्तारुढ नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले एमाले सहितका सबै दलको सहमतिमा सरकारले संसदबाट एमसीसी पारित गराउने दावी गरेका छन्।
सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतीमा सो प्रस्तावलाई संसदबाट पारित गराउने विश्वास व्यक्त गरेका हुन। नेपाल प्रेस युनियन, कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए। सहमहामन्त्री परियारले एमसीसीको बारेमा सत्तारुढ दलहरुलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने बताएका छन्।
सहमहामन्त्री परियारले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच आवश्यक्ताको आधारमा सहकार्य हुने पनि स्पष्ट पारे। सबै निर्वाचन क्षेत्रमा भने सत्तारुढ दलहरुबीच सहकार्य गरेर निर्वाचनमा जान सक्ने अवस्था आफूले नदेखेको उहाँको टिप्पणी थियो।
माओवादी सम्मेलनका प्रतिनिको सूची पठाउने समय थपियो
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पठाउने समय थप गरेको छ।
पुस ३ गतेसम्म प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाइका कारण दुई दिन समय थपिएको हो। केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रदेश सम्मेलनको बाँकी काम छिटो सम्पन्न गरी ५ गतेभित्र नामावली पठाउन निर्देशन दिएको सचिवालयले जनाएको छ। प्रतिनिधिको सूची आइसकेपछि पार्टीको स्थायी समिति बैठक बस्ने जनाइएको छ। पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा १ हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। सचिवालयका अनुसार पालिकादेखि प्रदेश सम्मेलनसम्म अधिकतम सहमतिका माध्यमबाट नेतृत्व चयन भएको छ।
यसैबिच, प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा माओवादी केन्द्र प्रदेश–२ को अधिवेशन अन्योलमा परेको छ। गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन।
सभ्यता जीवन्त राख्नु साझा दायित्व : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन्।
राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन्। उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको पनि बताए। प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले ज्यापु समाज धेरै पुरानो संस्कृति भएको समाज भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेको समेत बताए।
विद्युतको माग बढ्यो
विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ।
नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार, गत वर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग (पिक डिमान्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको हो। आन्तरिक रूपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ। प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो।
विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुबैमा बढिरहेको छ। मंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १५३९ मेगावाट थियो। यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो। यस आधारमा विद्युतको पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत वृद्धि भएको छ।
१८१ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर १८१ जना कोरोना संक्रमित थपिएका छन्। ९८७२ जनामा गरिएको नमूना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो।
सो समयावधिमा १ जनाको मृत्यु भएको छ भने २८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५२७१ जना सक्रिय संक्रमित रहेका छन् भने ९७०२६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
बाँदरझुलाका सुकुम्बासीको आन्दोलन सुरु
चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।
आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन। बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताए। उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताए।
संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पुरा नभएको बताए। अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौं आएको बताउका छन्। सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताए।
सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङकन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरु घर खोजि रहेका छौं, तिमिहरु बस्ती जलाउँछौं लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ।
फिलिपिन्स आँधीमा मृत्यु हुनेको संख्या ७५ पुग्यो
फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ। आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।
टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पुर्याएको बीबीसीले जनाएको छ। १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ।
विद्युत आपुर्ती बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन्। घटनास्थलमा खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालन गरिएको त्यहाको सकारले जनाएको छ। सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा उद्वारमा कठीनाइ भएको बताइएको छ।
भारतसँग नेपाल पराजित
बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा नेपालले भारतसँग हार बेहोरेको छ।
समूह चरणको अन्तिम खेलमा नेपालले भारत १–० गोलको हार बेहोरेको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा भएको खेलमा जित निकाल्दै भारतले च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। आजको खेलमा जित निकाल्दै भारत पहिलो पटक यू १९ साफको फाइनलमा पुगेको हो। आजको खेलमा बराबरी भएको भए नेपाललाई फाइनल पुग्ने अवसर थियो। तर नेपालले भारतलाई बराबरीमा रोक्न सकेन। नेपाल सात अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानको भारतको ९ अंक छ।
समान ७ अंक भएको बंगलादेश गोलअन्तरका आधारमा नेपालभन्दा पछि छ। अब नेपालले फाइनल प्रवेशका लागि समूह चरणको अन्तिम खेल पर्खिनुपर्ने भएको छ। सो खेलमा श्रीलंकाले बंगलादेशलाई हराउन सके नेपाल फाइनल पुग्नेछ। तर प्रतियोगिताकै सबैभन्दा कमजोर टिम श्रीलंकाले बंगलादेशलाई हराउने सम्भावना कमजोर छ।
कहिले बन्ला भलिवल कभर्डहल?
राष्ट्रिय खेलको मान्यता पाएको भलिबल संघलाई कर्भहल निर्माणका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आयोजना गरेको विदाई कार्यक्रममा टोलीलाई शुभकामना दिँदै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। राष्ट्रिय खेलकुद परिषदको परिसरमा रहेको पुरानो पौडी पोखरीको स्थानलाई कर्भड हल निर्माण गर्न पहल गर्ने जनाएका हुन्।
२०७२ सालको भुकम्पका कारण भत्काएको पौडी पोखरी र त्यसैको आँडमा रहेको लन टेनिसको जग्गा अहिले प्रयोग विहिन छ। जसमा नेपाल भलिबल संघलाई दिन पहल गर्ने मन्त्री गहतराजले प्रतिबद्धता जनाएका हुन्। विदाई कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले राष्ट्रिय खेल भए पनि सरकारबाट सहयोग नभएको, संघ सञ्चालन गर्न पनि धौःधौ भएको भन्दै मन्त्री सामु गुनासो पोखेका थिए।