काठमाडौं– नेपाल तेक्वान्दो संघले सिनियर राष्ट्रिय टिम तयारी उपसमितिको संयोजकमा केन्द्रीय सदस्य राम गिरीलाई संयोजक तोकेको छ। संघको हालै सम्पन्न बैठकले गिरीलाई सिनियर टिम तयारी उपसमितिको संयोजक तोकेको हो।
लामो समयदेखि तेक्वान्दो प्रशिक्षणमा क्रियाशिल गिरी तालिम तथा प्रशिक्षण व्यवस्थापन समितिका सदस्य पनि छन्। समितिको अध्यक्षमा हरिश्वर पोखरेल छन्। यसैगरी सदस्यहरुमा कासिममियाँ धोबी, सुनील राजकर्णिकार, कुमार लामा घिसिङ, रामचन्द्र श्रेष्ठ र राजन उप्रेती छन्।
यसैगरी जुनियर राष्ट्रिय टिम तयारी उपसमितिको संयोजक भने कुमार लामा घिसिङलाई तोकिएको छ। उक्त उपसमितिमा टिकादत्त दाहाल र विकेश बिडारी सदस्य छन्। राष्ट्रिय पुम्से टिम तयारीको संयोजकको जिम्मेवारी भने सुनील राजकर्णिकारलाई तोकिएको छ। यो उपसमितिको सदस्यहरु भने चयन हुन बाँकी छ। राष्ट्रिय पारा टिम तयारी उपसमितिको संयोजकको जिम्मेवारी कासिममियाँ धोबीलाई दिइएको छ। उपसमितिमा रामचन्द्र श्रेष्ठ र राजन उप्रेती सदस्य छन्।
यसैगरी संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा द्वारिका खयरगोली, सन्तोष बुढाथोकी र मनिष जोशी सदस्य छन्। अरु दुई सदस्यको भने चयन हुन बाँकी छ। ग्योरोगी प्रतियोगिता व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी भने द्वारिका खयरगोलीले पाएका छन्। उपसमितिमा सागर अमात्य र सञ्जीव फुयाँल सदस्य छन्। यस्तै सन्तोष बुढाथोकीको संयोजकत्वमा पुम्से प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ। उपसमितिमा बलराम कार्की र केशव थापा सदस्य छन्।
यस्तै राष्ट्रिय डेमोस्ट्रेसन उपसमितिको संयोजक भने छनोट हुन बाँकी छ। उपसमितिमा मदन गिरी र श्याम थापा सदस्य छन्। यसैगरी खेलाडी छनोट उपसमितिको संयोजकको जिम्मेवारी मनिष जोशीले पाएका छन्। यस उपसमितिको सदस्यहरु भने चयन हुन बाँकी छ।
यसैगरी भौतिक पूर्वाधार विकास व्यवस्थापन समितिको संयोजक संघका उपाध्यक्ष सञ्जीव रेग्मी छन्। समितिमा रवि थापा र दीपेन्द्रबहादुर चन्द सदस्य छन्। प्राविधिक प्रशिक्षण व्यवस्था समितिको संयोजकको जिम्मेवारी भने उपाध्यक्ष नन्दकुमार राईलाई सुम्पिएको छ। समितिमा सुमन पराजुली सदस्य छन्।
यसैगरी संगठन विकास तथा महिला सशक्तिकरण समितिको अध्यक्ष भने दिलबहादुर वली छन्। समितिमा प्रदेश १ बाट विजय न्यौपाने, प्रदेश २ बाट गुरुप्रसाद गौतम, बागमती प्रदेशबाट मणिराज विष्ट, गण्डकी प्रदेशबाट मदन केसी, सुदूरपश्चिम प्रदेशबाट साम्राज्यविक्रम पाण्डेलाई सदस्य चयन गरिएको छ। यसैगरी महिला सशक्तिकरणकी संयोजक नन्दा बस्याल पनि यो समितिको सदस्य छिन्।
यसैगरी ग्योरोगीको निर्णायक समितिको संयोजक कोशिश खड्का छन्। यस्तै सदस्यमा अर्जुनभक्त राई, अशोक खड्का र विश्वराज राई छन्। यसैगरी पुम्से निर्णायक उपसमितिको संयोजकको जिम्मेवारी भने केन्द्रीय सदस्य बब्लु सिवाकोटीले पाएका छन्। उपसमितिमा सुमन घले सदस्य छन्। बाँकी तीन सदस्यको भने छनोट हुन बाँकी छ।
संघको काम कारवाहीलाई चुस्त र दुरुस्त बनाउन संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिम्मेवारी सुम्पिएको हो। संघका विभिन्न समितिहरुमा अध्यक्ष, उपाध्यक्ष र सल्लाहकार रहने व्यवस्था गरेको छ। यसैगरी उपसमितिमा केन्द्रीय सदस्यहरु रहने व्यवस्था गरेको छ।