काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले सानदार जित निकालेको छ। लिड्स युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनेलले घरेलु टिमविरुद्ध ४–१ गोलअन्तरको जित निकालेको हो।
आर्सनलको जितका लागि ग्याब्रियल मार्टिनेलीले दुई गोल गरे। खेलको १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका मार्टिनेलीले २८औं मिनेटमै अग्रता दोब्बर बनाएका थिए। यता, युवा खेलाडी बुकायो साकाले खेलको ४२औं मिनेटमा गोल गरेका थिए।
साकाको गोलसँगै आर्सनलले पहिलो हाफमै ३–० गोलको अग्रता बनायो। पछि खेलको ७५औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै लिड्सले एक गोल फर्काएको थियो।
तर, लिड्स लयमा फर्कन सकेन। बरु आर्सनलकै इमिली स्मिथ रोवीले ८४औं मिनेटमा गोल गर्दै गोलअन्तरलाई ४–१ मा पुर्याएका थिए।
ईपीएलमा १०औं जितहित आर्सनले अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले १८ खेलबाट ३२ अंक बनाएको छ। लगातार हार बेहोरेको आर्सनलले पुनरागमन गर्दै चौथो स्थानमा पुगेको हो।