काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा फेरि एकपटक त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ। उपाधि लक्ष्यका साथ लिगमा उत्रिएको आर्मीले आफ्नो पाँचौं खेलमा सातदोबाटो युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो।
आजको खेलमा दुवै टिम जितका लागि मैदानमा आएका थिए। तसर्थ यो खेल छ अंकको थियो। तर दुवै टिम त्यसमा असफल भए। यससँगै आर्मीले जारी लिगमा तेस्रो बराबरी गरेको छ। उसले पाँच खेलबाट ९ अंक मात्र जोड्न सकेको छ। ‘जसरी भए पनि आज हामीले तीन अंक लिनुपर्ने थियो। तर सकिएन, आज हामीले खेल्न सकेनौँ। सुरुको १५ मिनेट हामीले राम्रो खेलेको हो, गोल पनि निस्कियो तर अग्रता जोगाउन सकिएन,’ खेलपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने।
लिगको चौथो खेलमा पहिलो पराजय बेहोरेको सातदोबाटो युथ क्लबले आर्मीसँग बराबरी खेल्दै लिगमा आठ अंक जोडेको छ। ‘पछिल्लो हारपछि हामीले जित निकाल्न जरुरी नै थियो। तर आज एक अंकमै चित्त बुझाउनु पर्यो,’ बराबरीपछि सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, ‘तर, धेरै राम्रो खेल भयो। दर्शकले पनि रमाइलो मानेर हेरे होला भन्ने लाग्छ।’ खेलको नवौं मिनेटमै सातदोबाटोले आर्मीको पोस्टमा अटेम्प्ट गर्दै खेलमा रवाफीलो सुरुआत गर्यो। तर निरज चौधरीको त्यो प्रहारलाई गोलकिपर विके कुथुले सहजै बचाउ गरे।
त्यसको ११ औं मिनेटमा आर्मीले अग्रता बनायो। टेक बहादुर बुढाथोकीको क्रसलाई जर्ज प्रिन्स कार्कीले बल मिलाइदिएपछि त्यसलाई पोस्टमा प्रहार गर्दै दिनेश हेन्जनले गोल गरेका थिए। त्यस्तै, पहिलो गोलको पाँच मिनेटमै सातादोबाटोले खेललाई बराबरी बनायो। गोलकिपर अभिषेक बरालले पोस्टबाट दिएको बललाई लिएर फरवार्ड अजयी मार्टिन्सले गोल गरे। १५ औं मिनेटमा आर्मीका डिफेन्डर विकाश तामाङ र विमल पाण्डेले मार्टिन्सलाई रोक्न नसक्दा उनले गोल गरे।
यता सातदोबाटोको विदेशी खेलाडी राम्रो रहेको न्यौपानेले बताएका छन्। ‘पिटर सेगुन डिफेन्समा हुँदा उसले एक्लै खेल्न सक्छ। अनि फरवार्ड मार्टिन्स निकै राम्रा छन्। आज पनि उसले आफ्नो चलाखी देखाए। हाम्रा दुई खेलाडी समानान्तर बसिदिनाले डिफेन्स गर्न सकेनन्,’ खेलपछि न्यौपानेले भने।
खेलको ३५ औं मिनेटमा सन्तोषको कर्नर प्रहार पोस्नको नजिकैबाट बाहिरिएको थियो। यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो। सुस्त सुरुआत भएको दोस्रो हाफमा दुवै टिमले केही अवसर बनाए पनि गोल हुन सकेन।
खेलको ६६ औं मिनेटमा कप्तान मान बहादुर तामाङको लङपासमा आदित्य शाक्यले हेडरमार्फत् गोलको प्रयास गरे पनि त्यो सफल भएन। त्यसअघि सातदोबाटोले अट्याकिङ थर्डमा बनाएको मुभमा पनि गोल गर्न सकेन। खेलको ६९ औं मिनेटमा विवेक बस्नेलले सातदोबाटोको पेनाल्टी बक्सभित्रबाट दिएको ब्याक पासमा सन्तोषले लाइनबाट गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिर गएको थियो।
‘हामीले आज जितेको भए हामी तालिकाको माथिका लागि फाइट गर्न सक्थ्यौँ। त्यसैले म आजको खेलमा धेरै उत्साहीत पनि भएँ। पहेँलो कार्ड पनि खाएँ। त्यो सबै खेलाडीलाई जोस प्रदान गर्न र उत्साह दिनको लागि मात्र थियो,’ टेक्निकल एरियामा आफ्नो स्वभावबारे प्रशिक्षक केसीले भने, ‘त्यो अवस्थामा मैले कोसिस गरिन भने खेलाडीले के कोसिस गर्लान् भन्ने लागेकाले म केही जोसिएको हुँ। अंक गुम्ला भन्ने न्यास्रो हो।’
७३ औं मिनेटमा सातादोबाटोको सुशिला राईको फितलो प्रहार गोलकिपरले सहजै बचाए। त्यसपछि दुवै तर्फ गोल हुन नसक्दा खेल १–१ गोलको बराबरीमा रोकिएको हो। ‘यो बराबरीपछि हामी एएफसी कपमा खेल्न अरुको भर पर्नुपर्ने भएको छ। मछिन्द्र र मनाङबीचको खेल बाँकी नै छ। त्यो खेललमा पनि धेरै कुरा निर्धारण गर्छ। तर संकटाले पनि त्यसका लागि कसरत गरिरहेको छ,’ प्रशिक्षक न्यौपानेले भने।
आजको बराबरीसँगै आर्मीले एएफसी कप खेल्ने आफ्नो सम्भावनालाई न्युन बनाएको छ। एएफसी कप खेल्नका लागि सातौं चरणको अन्तिममा शीर्षस्थानमा पर्नु पर्नेछ। अहिले नै आर्मी एक खेल कम खेलेको मनाङ तथा मछिन्द्रभन्दा एक अंक पछि परिसकेको छ। तर अझै पनि आशा रहेको प्रशिक्षक न्यौपानेले बताएका छन्। ग्रोइन इन्ज्युरीका कारण फरवार्ड भरत खवासलाई आज आर्मीले प्रयोग गर्न सकेको थिए।‘ भरत हुँदा खेल जति प्रभावकारी हुन्थ्यो। त्यो हुन सकेन। इन्ज्युरीले गर्दा स्ट्राइकिन लाइनमा समस्या देखिएको छ,’ प्रशिक्षक न्यौपानेले भने।
सातदोबाटोका प्रशिक्षक केसीले विकेश कुथु पनि घाइते भएको अनुमान लगाएका छन्।