काठमाडौं- नेपाली कांग्रेसका थप पाँच जना सहमहामन्त्रीको टुंगो आज लाग्ने भएको छ। केहिबेर अघिबाट खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरका सहमहामन्त्री पदका उमेदवाहरुको मतगणना सुरु भएको छ।
खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाहीबीच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, मधेशीतर्फ महेन्द्र यादव र रामकृष्ण यादवबीच प्रतिस्पर्धी छन्। मुस्लिमतर्फ फर मुल्लाह मन्सुर र शेख वकील चुनावी प्रतिस्पर्धामा छन्। त्यसैगरी, थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी चुनावी मैदानमा छन्।
आठ सहमहामन्त्री मध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ। निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी भएका छन्। उनीहरु सभापति शेरबादुर देउवा पक्षका हुन्। दलित समूहबाट भने शेखर कोइराला पक्षका जीवन परियार सहमहामन्त्रीमा विजयी भएका छन्।
एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै
नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरुलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी तोकेको हो। जसअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ।
उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने जिम्मेवारी दिइएको छ। यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा तथा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमनको जिम्मेवारी तोकिएको एमालेले जारी गरेको अपानीमा उल्लेख छ।
यस्तै महासचिव शंकर पोखरेललाई सांगठनिक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग, अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख, अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय पत्रकार सम्मेलन गरेर आज सार्वजनिक गर्ने
नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय पत्रकार सम्मेलन गरेर आज सार्वजनिक गर्ने भएको छ।दिउँसो साढे १ बजे बुद्धनगरस्थित अल्फा बिटामा पत्रकार सम्मेलन गरेर एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागेको नेता विष्णु रिजालले जानकारी दिए। पत्रकार सम्मेलनलाई नेकपा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने भएका छन्।
महासचिवमा निर्वाचित भएपछि पोखरेलको यो पहिलो पत्रकार सम्मेलन हो। एमालेको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले सातै प्रदेश र केही जिल्लामा इन्चार्ज तथा अध्यक्ष चयन गरेको थियो। चितवनमा १०-१४ मंसिरमा भएको १०औं महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो। बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ।
बालबालिकालाई लक्षित गरी पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु
बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ। पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गर्न लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ। पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउन लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने तयारी पूरा भएको बताएका छन्।
देशका अधिकांश भू-भागमा आजदेखि हिमपात हुने
देशका अधिकांश भू-भागमा आजदेखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण देउसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ।
साथै सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत घट्ने भएकाले चिसो अझ बढ्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बेलायतमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड
बेलायतमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ। बिहीबार दैनिक संक्रमण ७८ हजार भन्दा बढी रहेकोमा आज संक्रमित संख्या बढेर ८८ हजार नाघेको छ। एक साताभित्र संक्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन्। 'डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर' ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८८ हजार ३७६ संक्रमित थपिएका छन्।
यो संख्या महामारीयताकै उच्च हो। यसैबिच, पछिल्लो २४ घण्टामा युरोपभर ४ लाख २२ हजार ७ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ८ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
साफ यू-१९ महिला फुटबलमा भुटान र नेपालबीच खेल आज
साफ यू- १९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।
फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ। खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजे सुरु हुनेछ। शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ।
आयोजक बंगलादेशले र नेपालले समान दुई खेल खेल्दा चारचार अंक जोडेका छन्। भुटानले तीन खेलबाट ३ अंक जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ। लगातार तीन खेलमा पराजय भोगेको श्रीलंका भने फाइनल दौडबाट बाहिरिसकेको छ।