गगन र विश्व बने महामन्त्री
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका हुन्।
महामन्त्रीमा विजयी भएका गगनले ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले १९८४ मत ल्याएका छन्। गगनले ल्याएको मत ६५ प्रतिशत अर्थात करिब २ तिहाइ हो। महामन्त्रीका अन्य चार उम्मेदवारहरु प्रकाशशरण महत, मिनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल पराजित भएका छन्। महतले १५५६ मत ल्याएका छन्, रिजालले ८०९ मत, कार्कीले १०६ र प्रदीपले १३९३ मत ल्याएका हुन्।
कांग्रेसको विधान अनुसार महामन्त्रीका उम्मेदवाहरुमध्ये बढी मत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान छ। सोही प्रावधान अनुसार गगन र विश्वप्रकाश विजयी भएका हुन्। गत सोमबार भएको निर्वाचनमा महामन्त्रीका लागि कुल ४ हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ। यसअघि कांग्रेस सभापतिका लागि भएको निर्वचानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले शेरखलाई ८०० भन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
त्यसैगरी बुधबार राति सार्वजनिक भएको उपसभापतिको मतपरिणाम अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। उपसभापतिमा विजयकुमार गच्छदार २ मतले पराजित भएका छन्। यस्तै उपसभापतिमा सुजाता कोइराला, महेश आचार्य, चन्द्र भण्डारी र दिव्यश्वरी शाह पनि पराजित भएका छन्।
मलाई चुक्ने र थाक्ने सुविधा छैन : गगन
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन्।
महामन्त्री पदमा विजयी भएलगत्तै पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद दिए। उनले आफूलाई मत नदिएका १६०० मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताए। उनले अब पार्टीलाई देखिने, सुनिने, बुझिने बनाउनुपर्ने खाँचो औंल्याए। आफूसहितका पदाधिकारीले सभापतिलाई बल पुग्नेगरी, तागत पुर्याउने गरी काम गर्ने पनि उनले प्रस्ट पारे।
अब बदलिएको कांग्रेस बनाउन प्रतिस्पर्धा : विश्वप्रकाश
यस्तै महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले भने चुनावी प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन्। चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए।
जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए। आफूलाई फरक विचार समूहमा रहका साथीले समेत मत दिएर जिताएको भन्दै शर्माले फरक विचार समूहका साथीहरुलाई समेत समेटेर अघि बढ्ने जिम्मेवारी आफ्नो काँधमा आएको प्रस्ट पारे।
मीनेन्द्रको संकेत
काँग्रेस नेता मिनेन्द्र रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गरेका छन्।
मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन्। उनले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा गम्भीर रुपमा सोच विचार गरेर जानकारी गराउने बताए। उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उनको भनाइ छ।
नेता रिजालले प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि बताए। रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। महामन्त्रीमा पराजित उनले यही कुरालाई आत्मासाथ गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ। हार नजिक पुग्ने बित्तिकै उनले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
सहमहामन्त्रीको पनि गणना सुरु
नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना पनि सुरु भएको छ। सहमहामन्त्री पदको मतगणना पनि पार्टी कार्यालय सानेपामा सुरु गरिएको हो।
सहमहामन्त्रीमा क्लस्टर अनुसार ८ जना निर्वाचित हुने विधानमा व्यवस्था छ। जस अनुसार महिला–१, आदिवासी जनजाती–१, दलित–१, मधेसी–१, खस आर्य–१, थारु–१, मुस्लिम–१ र पिछडिएको क्षेत्रबाट १ जना निर्वाचित हुने छन्। महिला १ सिटका लागि कमला पन्त र महालक्ष्मि उपाध्याय, दलित १ सिटका लागि गंगा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन्। त्यस्तै आदिवासी जनजाति १ सिटका लागि विकाश लामा र भीष्मराज आङदेम्बे उम्मेदवार रहँदा खस आर्य अन्तर्गत १ सिटका लागि किशोरसिंह राठौर र देवराज चालिसे उम्मेदवार रहेका छन्।
मधेसी अन्तर्गत १ सिटका लागि महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव उम्मेदवार रहँदा मुस्लिम एक सिटका लागि फरमुल्लाह मंसुर र शेख वकील रहेका छन्। त्यस्तै थारु १ सिटका लागि उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार रहेका छन्। पिछडिएको क्षेत्रबाट चेतनराज बजाल, जीवन बहादुर शाही र बद्री पाण्डे रहेका छन्।
प्रचण्डपथ पार्टीले छोडनु गलत : जनार्दन शर्मा
अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन्। रोल ...
बिहीवार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताएका हुन्। प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाई छ। यसलाई केही पनि होइन जस्तोगरी फ्याक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए। अहिलेको निराशा हटाउन फेरि जुट्ने बेला अएको उनको भनाइ छ।
अर्थमन्त्री शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औँल्याए। देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा उनले जोड दिए।
संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएका निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीवार सिंहदरवारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनु पर्ने विधेयकहरु प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरुले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा वातावरण लगायत विविध क्षेत्रमा नकारात्मक असर परेको र मापदण्ड बमोजिम नगरेकोले शहरी विकास मन्त्रालयबाट नै मापदण्ड र गुणस्तरयुक्त भवन निर्माणको व्यवस्था गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिइन्।
सभापति खड्काले शहरी विकास मन्त्रालयले नयाँ शहर मेगा सिटी, स्मल सिटी, मेट्रो सिटी, एकीकृत नमूना बस्ती लगायतका सम्बन्धमा अघि बढाइएको कार्ययोजना बारेमा बिस्तृत छलफल गर्नका लागि समितिका सदस्यहरु एवं कर्मचारीहरुलाई पुस महिनाभित्र सम्पन्न गर्नेगरी आवाशीय कार्यशाला गोष्ठी गर्ने पनि बताइन्।
पहुँचवालाले योजनामा बजेट हाल्छन्: सहरी विकास मन्त्री
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको बताएकी छिन्।
बिहीबार विकास तथा प्रविधि समितिमा बोल्दै मन्त्री झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको बताएकी हुन्। उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना नगरेको बताइन्। मन्त्री झाँक्रीले मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको भएको भन्दै राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्नुपर्ने बताइन्।
मन्त्री झाँक्रीले योजना छान्दा कस्ता कार्यक्रम छान्ने ? अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी छान्ने गरिएको टिप्पणी गरेकी छिन्। उनले सयौँ परिवारहरु प्लाष्टिकको छानामुनि बसिरहेका बेला एउटा डाँडामा ५० करोड बढीका भ्यू टावरहरु बनाउन आवश्यक नरहेको भन्दै आधारभूत उपभोगको सेवासुविधा जनतालाई पु¥याउनु आजको आवश्यक्ता रहेको बताइन्। मन्त्री झाँक्रीले योजना छान्ने कुराको असन्तुलनको लागि संसदले लगाम लगाउनु पर्नेमा जोड दिइन्।
घट्यो नेप्से
सेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्सेमा गिरावट आएको छ। पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। मंगलवार नेप्से १३७.१८ अंकले बढेर परिसूचक २ हजार ४१८.८५ बिन्दुमा पुगेको थियो। तर, बुधवार ४.२३ अंकले घटेको नेप्से परिसूचक बिहीवार भने ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ बिन्दुमा झरेको छ। आज कारोबारमा आएका २२४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
बुधवार साढे ४ अर्बको शेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ। जसमध्ये विकास बैंक ३.६६ प्रतिशत, जलविद्युत ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।
१६० संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १६० जना कोरोना संक्रमित भएका छन्।
७ हजार २३० जनामा पीसीआर परीक्षण गर्दा १६० जनामा र ३ हजार ७८८ जनामा एन्टीजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको हो। २४ घण्टामा २६७ जना संक्रमणमुक्त भएका छन्। नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
बिहीबार २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ। २४ घण्टामा २ लाख ४० हजार ५६४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।
बैठक माग गर्दै एन्फामा निवेदन
अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षससहित सात पदाधिकारीले केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै बिहीबार एन्फा सचिवालयमा निवेदन दर्ता गरेका छन्।
उनीहरूले बैठकको माग गरे पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्का, सदस्यहरू किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले कार्यकारी समितिको बैठक माग गर्दै निवेदन दर्ता गरेका हुन्।
उनीहरुले लामो समयदेखि बस्न नहुँदा महत्वपूर्ण विषयहरूमाथि छलफल नभएकोले खेलको विकासमा गतिरोध देखापरेको तथा विधि–प्रक्रियाविहीन ढंगबाट संघ सञ्चालन नभएको आरोप पनि लगाएका छन्। साथै, जिल्ला, प्रदेश र राष्ट्रिय लिग तथा राजधानीका ए, बी र सी डिभिजन लिग सञ्चालनबारे छलफललाई बेवास्ता गरेको दाबी पनि गरेका छन्।