काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ। केहिबेर अघिबाट सुरु भएको मतगणनाबाट २ महान्त्रीको टुंगो लाग्नेछ।
दुई महमन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट मीनेन्द्र रिजाल र गगन थापाको उमेदवारी परेको छ। त्यस्तै, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यानलबाट राजाराम कार्की महामन्त्रीको उमेदवार छन्।
महामन्त्रीको सकिएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना हुने निर्वाचन समितिले जनाएको छ। सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो।
कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ विजयी
नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। बुधबार राति सम्पन्न मतगणनामा खड्का २१२१ मत पाएर विजयी भएका हुन् भने गुरुङ १९०८ मतका साथ निर्वाचित भएका हुन्। उपसभापतिमा विजयी खड्का सभापति शेरबहादुर देउवाको प्यानलबाट लडेका थिए भने गुरुङ शेखर कोइराला प्यानलबाट उपसभापतिको उमेदवार बनेका थिए। खड्का निवर्तमान महामन्त्री हुन् भने नेविसंघका पूर्व अध्यक्षसमेत रहेका गुरुङ केन्द्रीय सदस्य मात्रै थिए।
उपसभापति पदको दौडमा रहेका विजयकुमार गच्छदार भने २ मतले पराजित भएका छन्। देउवा प्यानलका उनले १९०६ मत पाए। चौथो स्थानमा रहेका कोइराला प्यानलका डा. चन्द्र भण्डारीले १५८० मत भने सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरे।
यसैबिच, नेपाली कांग्रेसको उपसभापति पदमा दुई मतले पराजित भएका विजयकुमार गच्छदारले पुनः मतगणनाको माग गरेका छन्। गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका हुन्।
प्रचण्डले भने- ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो
नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।
ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको भनेर बुधबार सार्वजनिक अभिव्यक्ति दिएका थिए। उक्त अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले ओलीलाई 'पाँचबुँदे सहमति' प्रमाणित गर्न चुनौती दिएका हुन्।
प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न समेत उनले बिहीबार वक्तव्यमार्फत आग्रह गरेका छन्। प्रचण्डले ओलीलाई मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि टिप्पणी गरेका छन्। उनले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन्।
राष्ट्रिय सभाको निर्वाचनका लागि आजबाट निर्वाचन कार्यक्रम सुरु
आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आजबाट निर्वाचन कार्यक्रम सुरु भएको छ।निर्वाचन आयोगले आजदेखि पुस १० गतेसम्म राजनीतिक दलहरुलाई दल दर्ता गर्न आह्वान गरेको छ। निर्वाचन कार्यक्रमअनुसार पुस १७ मा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ। रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।
पञ्चायती शासन लागु गरेको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदै
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्र शाहले अपदस्थ गरेर पञ्चायती शासन लागु गरेको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ।
विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुआत गर्नु भएको थियो। त्यसको विरोधमा आज विभिन्न कार्यक्रम गरि कालो दिवस मनाउन लागिएको हो।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो। पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रूपमा मनाउँदै आएका छन्।
उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून बिन्दुमा
काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस मापन गरिएको हो। हिजो बुधबारको तापक्रम ४.३ डिग्री थियो। तापक्रम अझै घट्न सक्ने र चिसो बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।
काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको विभागले जनाएको छ। बिहीबार सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ। जुम्लाको तापक्रम माइन ५.७ डिग्रीमा झरेको छ। तराई क्षेत्रको न्यूनतम तापक्रम पनि घटेको छ।
क्यान निर्णयको खेलाडीहरूले गरे विरोध
४ जना खेलाडीलाई कारबाही गर्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णयको विरोधमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीले नै विरोध जनाएका छन्।
क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि खेलाडीहरूले त्यसको विरोध गरेका हुन्। राष्ट्रिय टिमका रोहित कुमार पौडेन, करण केसी, कुसल भुर्तेल, अभिनास बेहरालगायतका खेलाडीले विरोध जनाएका छन्।
बुधबार बसेको क्यानको बोर्ड बैठकले अनुशासन उल्लंघन गरेको भन्दै चार खेलाडीलाई कारबारही गरेको थियो। यस्तै बैठकले युवा खेलाडी सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी दिएको छ।