काठमाडौं- यू १९ महिला साफ च्याम्पिनसिपमा अहिले नेपालले बंगलादेशको राजधानी ढाकामा श्रीलंका महिला यू १९ टिमसँग प्रतिस्पर्धागरिहेको छ।
खेलको पहिलो हाफमै नेपालले ३–० गोलको अग्रता बनाएको छ। नेपालका लागि रश्मी कुमारी घिसिङ, सविता राना मगर र मेनुका कुमारीले गोल गरे।
रश्मीकुमारी घिसिङले खेलको पहिलो गोल गरिन्। उनले पेनाल्टी बक्स बाहिरिबाट प्रहार गरेको लङ रेन्ज सटलाई श्रीलंकाकी गोलकिपरले रक्षा गर्न सकिनन्। उनलाई प्रीति राईले पास उपलब्ध गराएकी थिइन्।
जारी साफ च्याम्पियनसिपमा नेपालले गरेको त्यो नै पहिलो गोल हो। त्यसको एक मिनेटमै नेपालले अग्रता दोब्बर बनायो। रश्मीले प्रहार गरेको फ्रिकिक बललाई सविता राना मगरले पेनाल्टी बक्स भित्रबाट सेकेन्ड बारतर्फ प्रहार गर्दै गोल गरिन्। श्रीलंकाकी गोलकिपर अघि बढिसकेको अवस्थामा सविताले गोल गरेकी हुन्।
खेलको २८औं मिनेटमा नेपालले गोलको सुनौलो अवसर गुमायो। सातले पोस्टको दायाँबाट गरेको क्रसलाई रश्मीले सिक्स यार्ड बक्सभित्रबाट बल प्रहार गरे पनि गोलकिपरले सहजै बचाइन्। खेलको ३२औं मिनेटमा सविताले पोस्ट नजिकैबाट गरेको प्रहार पनि गोलकिपरले गोललाइनबाट बचाइन्।
३३औैं मिनेटमा पनि नेपालले गोल गर्न चुक्यो। प्रीति राईले प्रहार गरेको फ्रि किकलाई रजनी थोकले हेड गर्ने प्रयासमा बललाई हातले छोएपछि सो गोलले मान्यता पाएन। तर ४३ औं मिनेटमा नेपाल गोल गर्न चुकेन। थ्रो इनबाट सुरु भएको प्लेको चौथो टचमै नेपालले गोल गर्यो।
सविताको क्रसलाई फरवर्ड कुसुम खतिवडाले भेट्न नसके पनि मेनुका कुमारीले गोल गरिन्। यससँगै नेपालले पहिलो हाफमा ३-० गोलको अग्रता बनायो।
यता श्रीलंकाले भने नेपालविरुद्ध दबाब बनाउन सकेन। खेल अवधिभर नेपालले श्रीलंकाको पोस्टनजिकै बल खेलाइरह्यो।