काठमाडौं- नेपाली कांग्रेस १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आजबाट सुरु हुने भएको छ।
सभापति पदको नतिजा सार्वजनिक भएसँगै बुधबार साँझबाट अन्य पदको मतगणना गर्न लागिएको कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले जानकारी दिए। पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ।
मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो। पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए। १३ पदाधिकारीमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो।
२ उपसभापतिमा ७, २ महामन्त्रीमा ६, ८ सहमहामन्त्रीमा १९ जनाको उमेदवारी परेको छ। कांग्रेसको महाधिवेशनबाट चयन हुने १३४ पदका लागि ४८७ जनाको उम्मेदवारी परेको छ
कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न निर्वाचनमा सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई ८४८ मतले पछि पार्दै देउवा विजयी भएका हुन्। अन्तिम मपरिणाम अनुसार देउवाले २७ सय ३३ मत ल्याए भने भने शेखरले १८ सय ८५ मत प्राप्त गरे। ३५ मत बदर भएको छ।
दोस्रो चरणको निरर्वाचनमा कूल ४६ सय २३ मत खसेको थियो। १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि हिजो दोस्रो चरणमा निर्वाचन भएको हो। दोस्रो चरणको मतदानमा प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङले देउवालाई समर्थन गरेका थिए।
देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान्छन् : बालकृष्ण खाँण
गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्।
आज बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवाको जितसँगै पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरेका हुन्। सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र संगठित बनाएर लैजाने उनको भनाइ छ।
कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बनेका देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने धारणा राखे।
एमसिसी विषयमा विवाद भइरहेका बेला एमसिसी बोर्ड बैठक
नेपालमा अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला एमसिसी बोर्ड बैठक बस्दैछ।
अमेरिकाको वासिङ्टनमा बस्ने बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्।
एमसिसी सम्झौता कार्यान्वयनका लागि नेपालको संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको छ। राजनीतिक दलहरूबीच समझदारी नहुँदा एमसिसीको विषयले संसद्मा प्रवेश पाउन सकेको छैन।
तीन वर्षपछि १५४७ जना शिक्षकको विज्ञापन
शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि एक हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ। परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ।
आयोगले नेपाली विषयका लागि २३१, अंग्रेजी ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, स्वास्थ्य २, संस्कृत ३, कम्प्युटर ६, शुक्लयजुर्वेद २, संस्कृत व्याकरणमा २, संस्कृत साहित्य १ र न्याय विषयका लागि एक जना शिक्षक माग गरेको हो। यस्तै नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि पनि विज्ञापन खुलाइएको हो। पहिलो चरणको परीक्षा अन्र्तगत लिखित परीक्षा चैत १५ गते सञ्चालन हुनेछ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुँदैछ।
बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया-बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना गर्न थालिएको हो। हरेक चार वर्षमा बाघ गणना गरिन्छ।
डब्लूएचओ भन्छ- ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक
विश्व स्वास्थ्य सगंठन डब्लुएचओले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन विश्वव्यापी रुपमा तीव्र गतिमा फैलिरहेको भन्दै सर्तक रहन चेतावनी दिएको छ।
ओमिक्रोन भाइरसलाई सहज रुपमा नलिन पनि डब्लुएचओले आग्रह गरेको छ। यसअघिका भेरियन्ट भन्दा धेरै (म्युटेशन) भएको नयाँ भेरियन्ट ओमिक्रोनमा बढी रहेको पाइएकाले यसबाट बढी संक्रामक पनि देखिएको डब्लुएचओले औल्याएको हो।
ओमिक्रोनको संक्रमण अहिलेसम्म ७७ देशमा पुष्टि भएको छ। ओमिक्रोन भाइरस गत नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकामा पत्ता लागेको थियो भने बेलायतमा सो भाइरसबाट एक जनाको मृत्यु भइसकेको छ।