यसरी बलियो बने देउवा
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनको अन्तिम नतिजा आजै राति वा भोलि बिहानसम्म आइपुग्ने भएको छ। अहिले जारी दोस्रो चरणको मतदान सकिए लगतै मतगणना सुरु गरिने र आजै राति वा भोलि बिहानसम्ममा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने कांग्रेस निर्वाचन समितिको तयारी छ।
दोस्रो चरणको सभापतिको निर्वाचनमा शेरबहादुर देउवा र डा शेखर कोइराला उमेदवार छन्। हिजो भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि सभापतिको दोस्रो चरणको निर्वाचन भएको हो। पहिलो चरणमा पाँच जना उमेदवार रहेकोमा कम मत ल्याउने तीन जना रिङआट भए।
पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ८१ मत खसेकोमा देउवाले २२५८ उनका निकटतम प्रत्यासी शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका थिए। प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत ल्याएका छन्। सिंह, निधी र गुरुङ बाहिरिएपछि देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो।
दोस्रो चरणको निर्वाचनमा देउवा बलियो देखिएका छन्। सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका सिंह, निधी र गुरुङले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन्। उनीहलाई खसेको मत देउवाको पक्षमा परेको अवस्थामा उनले सहजै जीत हासिल गर्ने देखिएको छ। देउवालाई पहिलो चरणमा रोकेको अवस्थामा दोस्रो चरणमा सहकार्य गर्ने बचन दिएका सिंह र निधीले धोका दिएपछि कोइराला एक्लिएका छन्।
नेपाली कांग्रेसको सभापति पदका उमेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि भइरहेको दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेकले मत हाल्न महाधिवेशन प्रतिनिधिहरुसँग आग्रह गरेका हुन्। महाधिवेशनका प्रतिनिधिहरु आफैं नेपाली कांग्रेसका नेता भएको उल्लेख गर्दै नेता कोइरालाले मतदानमा आफ्नो विवेक प्रयोग गर्न र आफ्नो मनको अन्तरआत्माले भने बमोजिम मतदान गर्न आग्रह गरे। उनले राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्ने र नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने धारणा पनि व्यक्त गरे।
नेता कोइरालाले आफूले कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरेको बताए। उनले कांग्रेसलाई व्यवस्थित ढंगले अगाडी बढाउने प्रयास गर्ने पनि उल्लेख गरे। कांग्रेसभित्र रुपान्तरण र पुर्नजागरण ल्याउने आफ्नो एजेण्डालाई तार्किक निष्कर्षमा पुर्याउने उनको भनाई छ।
सभापतिको उमेदवार कोइरालाले दोस्रो चरणको निर्वाचनबाट आउने जुनसुकै परिणाम सहर्ष स्वीकार गर्दै कांग्रेसभित्र बृहत्तर एकताको प्रयास गर्ने बताए। नेता कोइरालाले आफ्नो सम्पूर्ण जीवन देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित भविष्य तथा आगामी पुस्ताको सुखद् जीवनको लागि खर्च गर्ने प्रतिवद्धता व्यक्त गरे।
सेयरमा सकारात्मक सर्किट
आज मंगलबार सेयर बजारले छलाङ मारेको छ। उच्च वृद्धिपछि दिउँसो साढे १ बजे नै आजका लागि कारोबार बन्द भएको छ। आज नेप्ने १३७.१८ अंकले बढेर २४१८ अंकमा उक्लिएको छ। बजारमा एक अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।
आज कारोबारमा आएका सबै १८८ कम्पनीको सेयर मूल्य बढेको छ। यसअघि १२ः३८ बजे ५ प्रतिशत बढेर सर्किट ब्रेक लागेको थियो। त्यसपछि ४० मिनेटसम्म स्थगित भएर खुलेको बजार केही बेरमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले बढेको थियो।
दिनभर ६ प्रतिशतसम्म नेप्से बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकरको सीमा तोकिएको छ। त्यसभन्दा बढी भएका कारोबार नै बन्द गर्ने प्रावधान छ।
आइतबार र सोमबार भने नेप्से उच्च अंकले घटेको थियो। आइतबार र सोमबार भने नेप्से उच्च अंकले घटेको थियो। शनिबार नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सेयर बजार साम्राज्यवादको उन्नत रुप भएको टिप्पणी गरेका थिए। उनको टिप्पणीपछि बजार ओरालो लागेको हो। आइतबार ८८ र सोमबार ७९ अंकले बजार घटेको थियो।
संसद्मा एमालेको अवरोध जारी
संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको विपक्षी दल नेकपा एमालेले दशौं अधिवेशनको बैठक पनि अवरुद्ध गरेको छ। आजबाट सुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा एालेका सांसद्हरुले नाराबाजीसहित बैठक अवरुद्ध गरेका हुन्।
एमालेले कारबाही गरेका माधव नेपालसहितका सांसद्लाई निष्काशन नगरेको भन्दै उनीहरुले विरोध गर्दै आएका छन्। एमालेले सभामुख अग्नी सापकोटाले पार्टीको कार्यकर्ताले जस्तो ब्यबहार गरेको भन्दै आलोचना गर्दै आएको छ।
आजको बैठक पनि अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न एमालेलाई आग्रह गरेका छन्। संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैं एकै नहुने भन्दै सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराए। सभामुखले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्था रहेको भन्दै सांसद्लाई कारबाही नगरेको विषय नचाल्न आग्रहसमेत गरे।
उता एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।
मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन्। उनले संसदमा आफ्नो पार्टीका सांसदहरुले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुने समेत चेतावनी दिए। अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए।
एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसद्लाई सांसदबाट निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराएका छन्।
संसद् चलाउने विषयमा एमालेसँग वार्ताको चाहना
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले संसद सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताएका छन्।
सत्तारुढ प्रमुख घटक काँग्रेस नेता समेत रहनु भएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढन सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताएका हुन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले अत्यावश्यक विधेयकहरु भने एमालेका विरोधका बीच पनि सरकारले अघि बढाउने स्पष्ट पारे।
मन्त्री बडुले आजबाट सुरु भएको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले अत्यावश्यक विधेयकहरु अघि बढाउनुको विकल्प नभएको तर्क समेत गरे।
उता राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताएका छन्।
मंगलबार बैठकमा बोल्दै सदस्य भट्टराईले देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न नसकेको दाबी गरे। उनले सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढीरहेको आरोप लगाए। उनले सभामुखको अकर्मण्यताबाट संघीय संसद पनि प्रभावित रहेको र सही ढंगबाट चल्न नसकेको आरोप लगाए। उनले सरकार र सभामुखले संसद चलाउन नचाहेको आरोपसमेत लगाए। देश सरकार बिहीनताको अवस्थामा रहेको भन्दै अहिले जनताले सरकार छ र ? भन्न थालेको समेत दाबी गरे।
संसद्को दशौँ अधिवेशनको बैठक आजबाट सुरु भएको छ। बैठकको पहिलो दिन गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गरेका छन्। राष्ट्रियसभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
६ अध्यादेश संसद्मा पेस
नेकपा एमालेका सांसद्हरुको विरोधका बीच सरकारले प्रतिनिधि सभामा ६ वटा अध्यादेश पेश गरेको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेश गरे। त्यस्तै यौन हिंसाबिरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश मन्त्री बडूले बैठकमा पेश गरे। प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलवार दिउँसो १ बजे बस्नेछ।
त्रिपाठीले खोले नयाँ पार्टी
पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन्। पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताए।
देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकोले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको उनले बताए। पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गरे।
पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन,मुलुकको अर्थतन्त्र,मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताए। उनले एमसीसी लगायत कतिपय विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए।
एमसीसीविरुद्ध प्रदर्शन
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ। मंगलबार सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाललगायतका घटकहरुको आह्वानमा एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन गरिएको हो।
दजनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिदैनँ, देश बेच्न पाइँदैन, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए भने कालो झण्डा प्रदर्शन गरेका थिए।
एमसीसीको विरोध गर्दै सडकमा उत्रिनेहरुलाई प्रहरीले बलपूर्वक हटाएको छ भने केही युवाहरुको समुहलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, नो एमसीसी लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरका थिए।
बागमती सरकार तेस्रोपटक विस्तार
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मंगलबार ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
माओवादी केन्द्रका सांसदहरु घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्।
एकीकृत समाजवादीका बसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छीमन्त्री बनाइएको छ। कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा नेकपा एसकी इन्द्रमाया गुरुङ नियुक्त भएकी सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए।
हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ। मंगलबार ६ जना थप भएसँगै ११ पुगेको छ। वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्याइएको छ।
२६४ संक्रमित थपिए
देशभर गत २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। ९ हजार ३ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा २ सय २९ र ४ हजार ३ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यो अवधिमा कोरोनाकै कारण २ जनाको मृत्यु भएको छ। ३ सय ६२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ जना रहेको छ।
अन्तर्राष्ट्रिय सीमा खोल्दै अस्ट्रेलिया
अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ। ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै भोलिबाट सीमा नाका खुला गर्ने जानकारी गराएको हो।
ओमिक्रोन भेरिएन्टका कारण फेरि लकडाउनलगायत कडा प्रतिबन्धबारे हल्ला चलिरहेको बेला अष्ट्रेलियाले सीमा खोल्न लागको हो।
तत्काल कडा प्रतिबन्धको तयारी नभएको पनि त्यहाको सरकारले जनाएको छ। गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रअरीसम्म पुनः प्रतिवन्ध लगाउन सकिनेबारे छलफलसमेत गरेको थियो।
मेस्सी र रोनाल्डोको भेट पक्का
लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको भेट युइएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा हुने पक्का भएको छ।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार सार्वजनिक गरेको तालिका अनुसार मेसी सम्मेलित पेरिस सेन्ट जर्मेन (पीएसजी) र रोनाल्डो सम्मेलित म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा भिड्ने भएका हुन्।
मेसी यसै सिजन स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रेन्च क्लब पीएसजी पुगेका थिए। यस्तै, रोनाल्डो इटालियन क्लब युभेन्टस छाडेर इङ्ग्लिस क्लब युनाइटेड पुगेका थिए। रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। मेसी दोस्रो सर्वाधिक गोलकर्ता हुन्।