कांग्रेसमा नेतृत्व चयनको महासंग्राम
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजै रातीबाट सभापति पदको मत गणना हुने भएको छ।राति ९ बजेपछि मतदान सकिएसँगै रातिबाटै मतगणना सुरु गरिने भएको हो। शेरबहादुर देउवा र नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिएका छन्। देउवा र कोइरालाबीच कडा प्रतिस्पर्धा हुने प्रक्षेपण गरिएको छ।
सभापतिको पदमा विजयी हुन ५१ प्रतिशत मत ल्याउनु पर्छ। यदि कुनै पनि उमेदवारले ५१ प्रतिशत मत नल्याए दोस्रो चरणको मतदान हुने छ। सभपाति पदको नजिता सार्वजनिक भएपछि मात्रै अन्य उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना हुनेछ। पदाधकारीको सकिएपछि केन्द्रिय सदस्यको मत गणना सुरु गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ। निर्वाचन समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण राखिएको छ। ८१४ बुथबाट ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गरिरहेका छन्। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदा साढे ३ घण्टा ढिला गरी साढे ११ बजेबाट सुरु भएको थियो। फेरि मतपत्र सकिएको भन्दै दिउँसो करिब एक घण्टा मतदान अवरुद्ध भएको थियो। मतदान प्रक्रियामा अवरोध आएपछि मतदान गर्ने समय राती ९ बजेसम्मलाई थपिएको थियो।
उम्मेदवारको आ-आफ्नै दाबी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया चलिरहँदा शेरबहादुर देउवा र शेखर कोइरालाले सभापतिमा पदमा आफूले जित्ने दाबी गरेका छन्।
सभापति पदका उमेदवार कोइरालाले आफूले पहिलो चरणमा नै जीत हासिल गर्ने दाबी गरेका छन्। नेपाल समयसँग कुराकानी गर्दै उनले सकेसम्म निर्वाचन दोस्रो चरणमा नजाने र गएको अवस्थामा प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग मिलेर दोस्रो चरणा जीत हासिल गर्ने दाबी गरेका हुन्। नेपाली कांग्रेसमा नयाँ नेतृत्व आवाश्यक भएकाले आफ्नो प्यानलले नै जित्ने उनको भनाइ छ।
त्यस्तै नेपाली काँग्रेसका नेता शशांक कोईरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताए। आफू जहिल्यै पनि काँग्रेसलाई एकबद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उनले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताएका छन्।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले भने सभापति पदका देउवा पहिलो चरणमा नै विजयी हुने दाबी गरेको छ। नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका हुन्।
सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताएका हुन। उनले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताए। नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताएका छन्।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताए। उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताए।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ भने सभापति पदमा पाँच जनाको उमेदवारी परेको छ।
एमाले एक्लैले ६० प्रतिशत मत ल्याउँछ : ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले एक्लै ६० प्रतिशत मत ल्याउने दाबी गरेका छन्।
यसका लागि अब गाउँ–गाउँमा जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम शुरु गर्न ओलीले नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्। महाधिवेशनपछि पहिलोचोटि भक्तपुरमा आयोजना गरिएको दुईदिने बैठकमा अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले तुफानी विजय हासिल गर्ने दाबी गरेका हुन्। पार्टीमा जिम्मेवारी बाँडफाँटको एजेण्डामाथि भएको छलफलमा केही असन्तुष्टिहरू देखिए पनि ओलीले अब चुनावमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिए।
दुई दिने बैठकमा ओलीले पार्टीको आगामी लक्ष ब्यापक रुपमा संगठन विस्तार गर्ने, जनपरिचालन गर्ने र चुनाव जित्ने रहेको बताएका छन्। ओलीले नेकपा एमालेलाई समाजवादी एवं अग्रगामी शक्ति र अहिलेको सत्ता गठबन्धनलाई प्रतिगामी एवं दक्षिणपन्थी शक्तिका रुपमा विश्लेषण गरेका छन्। पार्टीको बैठकमा केपी ओलीले नेपाली काँग्रेस र राप्रपाको पनि सामान्य चर्चा गरे। काँग्रेसको महाधिवेशन भद्रगोल भएको संकेत गर्दै ओलीले एमालेको महाधिवेशन कांग्रेसको जस्तो हुन्थ्यो भने चंगाभन्दा माथि उडाउने टिप्पणी गरे। त्यसैगरी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै बाच्छोले हिँड्न नजानेको र उफ्रिएको आफ्नो भनाइ दोहोर्याए। साथै उनले मिडियाले उचाल्ने र पछार्ने गरेको भन्दै सचेत रहन आग्रह गरेका छन्।
प्रचण्ड-माधव कम्युनिस्ट कमजोर पार्ने मिसनमा : शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन्।
सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लागेको दावी गरे। उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए।। महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेको उल्लेख गरे।
महासचिव पोखरेलले एमालेलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको बताए। एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेको औँल्याए।
कमल थापाको चुनावी धङधङी
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन्।
उनले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएका छन्। ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन। थापाले राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन्। यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि थापाले जिकिर गरेका छन्।
एमसीसीविरुद्ध नाराबाजी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ।
मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो। नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन्। घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताउनु भयो। उहाँले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।
कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए। उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाउनु भयो। उहाँले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दावी समेत गरे।
नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसीसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए।
शिक्षकलाई महाधिवेशन प्रतिनिधि बन्न रोक
सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्न रोक लगाएको छ।
न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्तो आदेश गरेको हो। सरकारी शिक्षकहरू कांग्रेस प्रतिनिधि चुनिएको र त्यो प्रचलित कानुनको विपरीत भएको भन्दै सिन्धुपाल्चोकका अर्जुनप्रसाद शर्मा भण्डारीसहितले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। शिक्षकहरूलाई राजनीतिक दलका कुनै पनि तहको अधिवेशन र कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्यलाई रोकी निषेध गर्न माग गर्दै उनीहरुले रिट दायर गरेका थिए।
राष्ट्रसेवक शिक्षकहरूलाई प्रचलित कानुनले राजनीतिमा भाग लिन रोक लगाएको र भाग लिएमा सजाय समेत हुने व्यवस्था गरेको भन्दै सर्वोच्चले सो कार्य प्रथम दृष्टिमै कानुनको व्यवस्था विपरीत भएको ठहर गरेको छ।
'युवालाई उद्यमी बनाइन्छ'
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्काले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताएका छन्।
कार्यकारी उपाध्यक्ष रोक्कालाई सर्वोच्च अदालतले कोषमा नै काम गर्र्ने गरी अन्तरिम आदेश दिएसँगै सोमबार कार्यभार सम्हाल्दै यस्तो बताएका हुन्। उपाध्यक्ष रोक्काले सरकारले राजनीतिक पूर्वाग्रह राखेर हटाएरको भए पनि सर्वोच्च अदालतले न्याए दिएको बताए। उनले वेरोजगार युवालाई स्वरोजगार बनाउने काम देखि त्रसिएर आफूलाई हटाएको बताए।
कार्यकारी उपाध्यक्ष रोक्काले वर्तमान सरकारप्रति कुनै गुनासो नरहेको समेत बताए। उनले काम गर्ने मान्छेलाई जुनसुकै पार्टीको सरकार आए पनि फरक नपर्ने बताए। डा. रोक्कालाई कपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ भदौ १५ गते नियुक्त गरेको थियो। तर, ओली सरकार ढलेसँगै वर्तमान देउवा सरकारले २०७८ कात्तिक ७ गते कोषबाट हटाएको थियो। वर्तमान सरकारले आफू माथि अन्याय भएको भन्दै रोक्काले सर्वोच्च गएका थिए।
मल अलपत्र
सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्ष देखि अलपत्र रुपमा फालिएको छ। गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो। तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तर हिन भएको भन्दै भन्सार पास नहुँदा विरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ।
सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो। कोलकता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो। कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो। कोलकता भन्सारमा छाड्न नमिलेकाले विरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलफत्र रुपमा छाडिएको छ।
ओमिक्रोनका कारण एकको मृत्यु
कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा एक जनाको मृत्यु भएको छ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु भएको हो। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा पहिलोपटक ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
जोन्सनले ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएकाले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेका छन्।
१० खेलकुद प्रतिभा सम्मान प्रदान गरिने
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक तथा निर्णायक गरी १० जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने भएको छ।
मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार ७ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायकलाई प्रतिभा सम्मान प्रदान गरिने भएको हो। उसुतर्फ चार खेलाडी सम्मानित हुने भएका छन्। रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्कालाई सम्मान गरिने भएको छ। उनीहरुलाई नगदसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ।