काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले दोस्रो जित निकाल्दा जितको नायक बनेका छन् निरज बस्नेत। उनले विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध खेलको १९ औं मिनेटमा गोल गर्दै संकटालाई १–० गोलअन्तरको जित दिलाए।
निरजले यससँगै लिगमा व्यक्तिगत तेस्रो गोल गरेका छन्। तेस्रो गर्ने उनी तेस्रो खेलाडीसमेत हुन्। यसअघि मछिन्द्रका सुनिल बल र सातदोबाटोका अजयी मार्टिन्स छन्।
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक विष्णु गुरुङले निरज अट्याकिङ माइन्डसेटको खेलाडी भएको बताए। भने, ‘निरज नेपालको बेस्ट डिफेन्डर हो, पोटेन्सियल भएको। उसको खेल्ने शैली राम्रो पनि छ। उसले आफूलाई प्रुभ पनि गरिरहेको छ। डिफेन्डर भएर पनि उसले लिगमा तीन गोल गरिसकेको छ।’
जितसँगै ८ अंक बनाएको संकटा जारी लिगको पाँचाैृ स्थानमा उक्लिएको छ। यता पुलिस सातौं स्थानमा यथावत् छ। खेलपछि पुलिसका प्रशिक्षक अनन्त राज थापाले खेलाडीको कम्बिनेसन नमिलेको बताएका छन्। उनले भने, ‘आजको खेल महँगो पर्न गायो। हाम्रो लक्ष्य राम्रो गर्ने नै हो। तर आज खेलाडीले पूरा प्रदर्शन गर्न सकेनन्। यद्यपी त्यसलाई स्विकार गरेर हामी अघि बढ्नुपर्छ। आज लेजिनेस देखियो। सुरुमा खेलाडीको लय पनि मिलेन। किन मिलेन त्यो थाहा भएन। धेरै कुराहरु छन्। अब आफ्नै जिम्मेवारी पनि हो।’
पहिलो हाफमा पुलिस दबाबमा रहे पनि दोस्रो हाफमा उसले खेलमा कमब्याकका लागि प्रशत अवसर बनाएको थियो। खेलको १० औं मिनेटमा संकटाले गोलको निकै सुनौलो अवसर गुमायो। कप्तान रवि सिलावालले छ यार्ड बक्स भित्रबाट गरेको हेडर बललाई गोलकिपर रोशन खड्काले सहजै बचाएका थिए।
तर १७ औं मिनेटमा संकटाले कुनै गल्ती गरेन। लक्ष्मण रुचालले प्रहार गरेको कर्नरलाई निरज बस्नेतले एक्रोब्याट प्रहारमा गोल गरेका थिए। त्यो अवस्थामा पुलिसका नयाँ गोलकिपर रोशन खड्का निरिह रहे। त्यो गोल खेलको ५० औं गोलसमेत हो।
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक विष्णु गुरुङले निरज अट्याकिङ माइन्डसेटको खेलाडी भएको बताए। भने, ‘निरज नेपालको बेस्ट डिफेन्डर हो, पोटेन्सियल भएको। उसको खेल्ने शैली राम्रो पनि छ। उसले आफूलाई प्रुभ पनि गरिरहेको छ। डिफेन्डर भएर पनि उसले लिगमा तीन गोल गरिसकेको छ।’
त्यो गोलपछि संकटाले अग्रतालाई बचाउँदै जित निकालेको हो। ‘व्यक्तिगत रुपमा दोस्रो जित हो, यो जितमा खुसी छु। पुलिसको टिम आक्रामक छ। त्यसलाई जित्न सकियो। उसको टिमविरुद्ध हामीले अभ्यासमा धेरै कुरा अप्लाइ गरेका थियौँ। पुलिसविरुद्ध पाएको डेटाले पनि खेलमा सहयोग गर्यो। दोस्रो हाफमा हामीले रक्षात्मक खेल्यौं,’ संकटा क्लबका प्रशिक्षक गुरुङले भने।
गोलअघि खेलको ११ औं मिनेटमा अञ्जन राईले हेडरमार्फत गरेको प्रहार पनि संकटाका डिफेन्डरले क्लियर गरिदिएका थिए। पुलिसले खेलको ४३ औं मिनेटमा भने निकै सुनौलो अवसर गुमायो। पोस्टको बायाँबाट रवि शंकर पासवानको क्रसलाई कप्तान रामचन्द्र वाजीले पोस्टको अघितिर पास दिएका थिए। त्यो अवस्थामा सुमन लामाले एक्रोब्याट प्रहार गर्दै बललाई पोस्टभित्र छिराउने प्रयासलाई गोलकिपर राजा बाबु थापाले बचाए।
त्यही मिनेटको अन्तिममा रवि सिलवालको प्रहारलाई निरज बस्नेतले मुस्किलले क्लियर गरे। यससँगै खेलको पहिलो हाफमा पुलिस एक गोलले पछि पर्यो।
आजको खेल कस्तो रह्यो त? जवाफमा पुलिसका प्रशिक्षक थापा भन्छन्, ‘पहिलो हाफमा दबाब बनाउन सकिएन। तर दोस्रो हाफमा खेलाडी परिवर्तन भएपछि केही राम्रो भयो। यता संकटाले आज पहिलेजस्तै खेल्यो। उसको टिम कलेक्टिभ छ। राम्रै छ। पहिलो हाफमा अलि खेल्न नसक्नु नै हाम्रो गल्ती भयो। अवसर पनि पाएको हो। भरतले पनि गोल गर्न सकेनन्।’
दोस्रो हाफमा दुवै टिमले प्रभावशाली मुभ बनाउन सकेनन्। खेलको ७५ औं मिनेटमा संकटाका उत्तम राईले पेनाल्टी बक्सभित्र रहेको अवस्थामा प्रहार गर्न सकेनन्। यता ६५ औं मिनेटमा अजित भण्डारीको पासमा पेनाल्टी एरियाबाट भरत साहले प्रहार गरे पनि बलले पोस्टको दिशा लिन सकेन। त्यस्तै, इन्ज्युरी समयमा एट्याकिङ थर्डमा पुलिसले राम्रो मुभ बनाए पनि गोल गर्न चुक्यो।
यो हारसँगै ५ अंक रहेको पुलिस क्लब सातौं स्थानमा यथावत् छ। न्युरोड टिम एनआरटीको समान ५ अंक छ। ऊ आठौं स्थानमा छ।
आजको हारले पुलिस उपाधि होडबाट बाहिरिएको हो? जवाफमा पुलिस टिमका प्रशिक्षक अनन्त थापा भन्छन्, ‘हामी उपाधिबाट बाहिर भन्दा पनि लिगको समिकरण कस्तो बन्दै जान्छ भन्ने हो। आउने दिनमा अरु टिमको रिजल्ट कस्तो हुन्छ भन्ने कुराले प्रभाव पार्छ।’ उनले पुलिसको टिममा केहि कुरामा सुधार गर्न बाँकी रहेको बताएका छन्।
यता संकटाका प्रशिक्षक गुरुङले लिगका हरेक खेलमा एक वा तीन अंकका लागि आफ्नो टिमले युद्ध गर्ने बताएका छन्।