काठमाडौं- अर्जेन्टिनी स्टार लाउटारो मार्टिनेजको दुई गोल प्रेरित इन्टर मिलान आइतबार काग्लियारीमाथि ४-० अन्तर सहज जितका साथ इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ।
एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो।
२९औँ मिनेटमा मार्टिनेजले इन्टरका लागि खाता खोले। ४४औँ मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले अग्रता दोब्बर पार्ने अवसर गुमायो।
५०औँ मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे। ६६औँ मिनेटमा हकान चालहानोग्लुले इन्टरको अग्रता ३-० मा पुर्याए। त्यसको दुई मिनेटपछि मार्टिनेजले इन्टरका लागि चौथो गोल गरे।
जितसँगै इन्टरको १७ खेलमा ४० अंक छ। दोस्रो स्थानको एसी मिलानको ३९ अंक छ।