काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि दलभित्रको शक्ति संघर्षको स्वरुप बदलिने निश्चित छ। यो महाधिवेशनले शक्ति केन्द्रहरुको संरचना र समीकरण कतै भत्काएको छ भने कतै मक्काएको छ।
खासगरी संस्थापन इतर समूहको मौजुदा मियो ठानिएको बोहोराटारको लिगेसी अब स्थानान्तरण भएर कोइराला परिवारमा पुग्नेछ। वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा प्रतिस्पर्धा नगरेर अलग बाटो तय गरेपछि अब शेखर कोइरालाले एउटा बलियो समूहको अगुवाइ गर्ने ‘पोजिसन’मा देखिनेछन्। त्यसैले कतिपय राजनीतिक विश्लेषकहरुले १४ औं महाधिवेशनलाई पुस्तान्तरणको महाधिवेशनको रुपमा समेत व्याख्या गरिरहेका छन्।
सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह तीनैजनाले युवाहरुलाई स्थान दिएको देखिन्छ। कांग्रेसभित्र ५० वर्षको हाराहारी रहेकाहरुलाई युवा पुस्तामा गणना गर्ने गरिएकोले सबैभन्दा बढी युवाहरु शेखर कोइरालाको टिममा अटाएका छन्। शेखर कोइरालाको उम्मेदवारीले देउवा पुस्ताका करिब एक दर्जन नेताहरु १५ औं महाधिवेशनबाट विस्थापित हुने भएका छन्। १४ औं महाधिवेशनमा पनि शेखर कोइरालाको उम्मेदवारीसँगै अर्जुन नरसिंह केसी, बलबहादुर केसी, रामशरण महतलगायत नेताहरु पदाधिकारीमा अटाएनन्।
खासगरी संस्थापन इतर समूहको मौजुदा मियो ठानिएको बोहोराटारको लिगेसी अब स्थानान्तरण भएर कोइराला परिवारमा पुग्नेछ। वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा प्रतिस्पर्धा नगरेर अलग बाटो तय गरेपछि अब शेखर कोइरालाले एउटा बलियो समूहको अगुवाइ गर्ने ‘पोजिसन’मा देखिनेछन्।
त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल, कुलबहादुर गुरुङ, प्रदीप गिरी र नरहरि आर्चायलगायतका प्रभावशाली नेताहरुले अवकाश लिए। यो महाधिवेशन पुस्तान्तरणको बहसका लागि मात्र होइन, केही तथ्य केलाउने हो भने यसले कांग्रेस केन्द्रको फरक तस्बिरको झल्कोसमेत दिएको छ।
नयाँ पुस्ताको टिम
संस्थापन इतर समूहका नेताहरुले साझा उम्मेदवारको खोजी गरिरहँदा १४ औं महाधिवेशनमा सभापति देउवालाई जसरी पनि दोहोरिनबाट रोक्न एकमत भएका थिए। तर, प्रकाशमान र शेखरको आ–आफ्नो अडानले संस्थापन इतरमा दुई जनाले समूह बनाएरै उम्मेदवारी दिए। उम्मेदवारीका हिसाबले संस्थापन इतरमा शेखर बलियो देखिएका छन्।
शेखरको टिममा उपसभपति चन्द्र भण्डारी र धनराज गुरुङ छन् भने महामन्त्रीमा डा मिनेन्द्र रिजाल र गगन थापा अटाएका छन्। त्यसैगरी सहमहामन्त्रीमा पनि सबै युवा पुस्ता नै अटाएको छ। १३ औं केन्द्रीय समितिमा मात्र नभइ शेखरको टिममा रहेका सबै पदाधिकारीहरु कांग्रेसको कुनै पनि केन्द्रीय समितिमा पदाधिकारीमा थिएनन्।
शेखरको टिममा रहेका सबै अनुहारहरु कांग्रेस नेतृत्वका लागि नयाँ हुन्। उनीहरुको परीक्षण हुन बाँकी छ, तर कांग्रेसमा नयाँ अनुहारले नयाँ उर्जा सञ्चार गर्नसक्ने सम्भावना भएको टिम भने तयार भएको छ। शेखरलाई पार्टीको कार्यवाहक सभापति भइसकेका रामचन्द्र पौडेलदेखि १३ औं केन्द्रीय समितिमा महामन्त्री रहेका शशांक कोइरालासम्मले समर्थन गरेका छन्। त्यसैगरी कांग्रेसमा जीवित नेताहरुमध्ये पहिलो पुस्ताका नेताहरु बलबहादुर केसी र अर्जुन नरसिंह केसीको समर्थन शेखरलाई रहेको छ।
शेखरको टिममा रहेका सबै अनुहारहरु कांग्रेस नेतृत्वका लागि नयाँ हुन्। उनीहरुको परीक्षण हुन बाँकी छ, तर कांग्रेसमा नयाँ अनुहारले नयाँ उर्जा सञ्चार गर्नसक्ने सम्भावना भएको टिम भने तयार भएको छ।
पार्टीमा अनुभव बटुलेका नेताहरुलाई अभिभावक बनाएर यो टिम मैदानमा होमिएको छ। यस टिमले १४ औं महाधिवेशनले नयाँ पुस्तालाई उर्जा सञ्चार गर्ने र आशा जगाउने र १५ औंमा पूर्ण पुस्तान्तरण, पार्टीको रुपान्तरण र हस्तान्तरणको अभ्यासलाई वास्तविक रुपमा कार्यान्वयन गर्नसक्ने सामर्थ्य राख्छ। तर, अन्तिम मतगणनापछि आउने टिम कस्तो बन्छ भन्ने विषय र यही टिम आए पनि काम कसरी गर्छ भन्ने कुराले भने वास्तविक पुस्तान्तरण र रुपान्तरणलाई प्रभाव पार्नेछ। यो पुस्ताको आगमनसँगै कांग्रेसमा नेतृत्व लिनका लागि हतारिएका युवाहरुको 'जाम' पनि खुल्ने भएको छ।
तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसको पावर सेन्टर महाराजगन्जबाट बोहराटारमा सिफ्ट भएको थियो। १३ औं महाधिवेशनमा पनि सुशील नै दोहोरिने निश्चित थियो। दुर्भाग्यवश उनको निधन भएपछि रामचन्द्र पौडेल धुरी बने र तत्कालीन संस्थापनको पावर सेन्टर बोहराटार बनेको थियो।
१३ औं महाधिवेशनमा पौडेलसँग विद्रोह गर्दै सिटौलाले अर्को धारको नेतृत्व गरेर देउवाको वैशाखी बने। सभापतिमा देउवाले जित हात पारेसँगै संस्थापन इतर भनेर पौडेललाई धुरी मान्दै अर्को समूह अघि बढ्यो। पौडेलले संगठनलाई चुस्त राख्न सकेनन्, देउवासँगको पावर सेयरिङमा सम्झौता गर्दै विधि र विधान उल्लंघनका कुराहरु पनि स्पष्ट राख्न नसकेको आरोप उनलाई लाग्यो। उनको समूहभित्रै विद्रोह गर्दै शेखर र प्रकाशमान सभापतिका उम्मेदवार बने। तर, अहिले १४ औं महाधिवेशनमा बोहराटारको पावर सेन्टर फेरि सिफ्ट हुने देखिन्छ। शेखरले सभापतिमा जिते या हारे पनि उनको निवासमा पावर सेन्टर बन्ने छ।
यो समूहले कांग्रेसको विधि–विधानलाई अवलम्बन गरेर हिँड्न सक्ने, आधुनिक कांग्रेसलाई बुझ्न सक्ने, जनतासँग भिजेको मान्छे नेतृत्वमा आउनुपर्छ भन्ने धारको नेतृत्व गरेको छ। शेखरले हार्दा पनि उनका उम्मेदवारहरुको सूची र पार्टीभित्र परिवर्तनको चाहना राख्ने व्यक्तिहरुको समूहलाई हेर्दा अबको पार्टीको अर्को सशक्त समूहको नेतृत्व शेखरले गर्ने निश्चित भएको छ। अर्को अर्को बलशाली समूहको नेतृत्व शेखरले र पौडेलको लिगेसी पनि सिफ्ट हुने भएको छ।
खलबलियो देउवाको जग
१४ औं महाधिवेशनमा सभापतिमा दोहोरिने प्रयासमा लागेका शेरबहादुर देउवाको जग भने खलबलिएको छ। उनले पछिल्ला विभिन्न फोरमहरुमा दिएका अभिव्यक्ति हेर्दा आफूलाई मात्रै केन्द्रमा राखेको देखिन्छ। महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, 'मलाई एकपटक जिताइदिनुस्। महाधिवेशनले मलाई जिताउने निर्णय गरेको खण्डमा गाउँदेखि कैन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो।’ उनले सभापतिमा मात्र दोहोरिने इच्छा राखेनन् कि उनले अब छैटौंपटक पनि आफू नै प्रधानमन्त्री बन्ने संकेत पनि गरे।
देउवाले आफ्नो जित सहज हुने आँकलनसहित तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलासँग सहकार्य गरे। जिल्ला र प्रदेशमा पनि सहकार्य गरेका सिटौलालाई देउवाले ठूलो भाग छुट्याउनुपर्यो। जसको असर देउवा टिममा निकै ठूलो परेको छ।
देउवालाई सभापति बनाउनका लागि मेहनत गरेका नेताहरु केही देउवासँग छैनन् भने भएकाहरु पनि असन्तुष्ट छन्। नेपाली कांग्रेस विभाजन भइ नेपाली कांग्रेस प्रजातान्त्रिकमा पनि देउवासँगै रहेका नेता विमलेन्द्र निधि अहिले सभापतिकै प्रतिस्पर्धामा छन्। उनले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै भने, 'पहिलो चरणमा देउवाले बहुमत ल्याउन सक्दैनन्। दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ र शेखरलाई सहयोग गर्छौं।'
उनले यस अभिव्यक्तिले उनी देउवालाई कुनै पनि अवस्थामा हराउनुपर्ने भनेर लागिरहेका स्पष्ट हुन्छ। त्यसैगरी १३ औं महाधिवेशनपछि देउवाको 'ड्यामेज कन्ट्रोल' गर्दै आएका विश्वप्रकाश शर्मा पनि देउवाविरुद्धको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। १३ औं महाधिवेशनमा देउवाको महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसी पनि अहिले देउवाविरुद्ध सशक्त रुपमा देखिएको शेखरको टिममा केन्द्रीय सदस्य बसेका छन्।
त्यसैगरी पार्टी विभाजनपछि राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री देउवालाई जेल हालेपछि कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर पार्टी चलाएका गोपालमान श्रेष्ठ पनि पदाधिकारीमा अटाएनन्। उनको ठाउँमा अवसर खोज्दै पार्टी छोडेका र अस्तित्वका लागि फेरि पार्टीमा जोडिएका विजयकुमार गच्छदारलाई देउवाले उपसभापतिको उम्मेदवार बनाए।
देउवाले आफ्नो जित सहज हुने आँकलनसहित तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलासँग सहकार्य गरे। जिल्ला र प्रदेशमा पनि सहकार्य गरेका सिटौलालाई देउवाले ठूलो भाग छुट्याउनुपर्यो। जसको असर देउवा टिममा निकै ठूलो परेको छ।
त्यसैगरी निधिले देउवाको साथ छोडेपछि भूमिकामा देखिएका पूर्णबहादुर खड्का पनि देउवाको उपसभापति बनेका छन्। १४ औं महाधिवेशनमा देउवा समूहको उम्मेदवारी सूची हेर्दा यसअघि परीक्षणकालमा रहेका खड्का नै उत्तराधिकारीको रुपमा अघि सारिएका छन्। देउवाले निधिलाई १४ औं महाधिवेशनमा सहयोग गर्ने वचन दिएको भए पनि फेरि आफैं दोहोरिने भएपछि राजनीतिक अपमान सहनुभन्दा बाहिरिनु बेस भन्दै निधिले विद्रोह गरेका हुन्। देउवाका लागि निधि पनि एक कुशल संगठक हुन्।
अहिले पनि साउदले देउवाको सुदूर र कर्णालीको कमाण्ड, बालकृष्ण खाणले लुम्बिनी र गण्डकी र कार्कीले प्रदेश १ र २ को कमाण्ड सम्हाल्दै आएका थिए। तीनै जनालाई देउवाले बाइपास गरेपछि देउवाको उत्तराधिकारीको रुपमा हेरिएका यी नेताहरु असन्तुष्ट छन्। साउदले शनिबार उम्मेदवारी दर्तास्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पनि भने, 'अहिलेको उम्मेदवारीको सूचीबाट म निकै असन्तुष्ट छ। तर, अहिले विद्रोह गर्दिनँ। मैले विद्रोह गर्दा पदका लागि विद्रोह गरेको देखिन्छ र सुदूरपश्चिम र कर्णालीको शक्ति संरचनामा नै परिवर्तन आउँछ। महाधिवेशनपछि यस विषयमा समीक्षा गर्नेछु।'
त्यसैगरी बालकृष्ण खाणले पनि देउवाले टिम निमार्णमा त्रुटी गरेको प्रतिक्रिया दिएका छन्। उनीहरुको यस प्रतिक्रियाले अहिलेको अंकगणितमा फरक नपारे पनि यसले भोलिका दिनमा देउवा समूहभित्रै विस्फोट हुने र देउवाको जग भत्किने निश्चित छ।