मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : कांग्रेसमा को-को छन् उम्मेदवार? देउवाले रामचन्द्र पौडेलसँग भेटेर के भने?

बिहानी समाचार : कांग्रेसमा को-को छन् उम्मेदवार? देउवाले रामचन्द्र पौडेलसँग भेटेर के भने?

कांग्रेसको विभिन्न पदका लागि ५ सयबढीको उम्मेदवारी, महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई देउवाको आग्रह।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा भोलि मतदान हुँदैछ। त्यसअघि आज उम्मेदवारी फिर्ता लिनको लागि अन्तिम समय दिइएको छ भने मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ। कांग्रेसमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ।

सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ। जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन्। सभापतिका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले उम्मेवादरी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ। कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ। मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको विभिन्न पदका लागि ५ सयबढीको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी दर्ता भएको छ। 

कांग्रेस केन्द्रीय निर्वाचन समितिले गए राति सार्वजनिक गरेको अन्तिम नामावलीमा ५ सय ४८ जनाको उम्मेदवारी रुजु भएको हो। निर्वाचन समितिका अनुसार सभापतिमा ६ जना, २ उपसभापतिका लागि ७ जना र २ महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ। ८ जना सहमहामन्त्रीका लागि २० जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमा १ सय ९ जना, ९ जना निर्वाचित हुने महिला केन्द्रीय सदस्यमा ३१ जना, प्रदेशतर्फको २१ जना केन्द्रीय सदस्यका लागि ६४ जना, समावेशीतर्फको ५४ केन्द्रीय सदस्यका लागि २ सय ८३ जनाको उम्मेदवारी परेको छ। त्यस्तै १–१ जना निर्वाचित हुने अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना र अपाङ्गता भएका व्यक्तितर्फ १६ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ।

महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई देउवाको आग्रह

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर सभापति शेरबहादुर देउवाले सहयोग मागेका छन्। 

शनिबार राति बोहोराटारस्थित पौडेल निवास पुगेर देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेलसँग आग्रह गरेका हुन्। देउवाले पौडेललाई राजनीतिबाट बाहिर नजान र स्वास्थ्य राम्रो राखेर बस्न पनि आग्रह गरेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए। हिजो १४औं महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताएका थिए।

एमालेले आज स्थायी समिति र पोलिटप्युरो गठन गर्ने

नेकपा एमालेले आज स्थायी समिति र पोलिटप्युरो गठन गर्ने भएको छ। 

एमाले केन्द्रिय कमिटिको भक्तपुरको गठ्ठाघरमा जारी बैठकले स्थायी समिति र पोलिटप्युरो गठन गर्ने भएको हो। १९ जना पदाधिकारी, स्थायी समितिका पूर्व सदस्य, पहिले पोलिटव्यूरो सदस्य रहेका नेताहरुलाई समेटेर ४५ सदस्यीय स्थायी कमिटि बनाउने भएको हो।

यस्तै, कम्तीमा एक कार्यकाल निर्वाचित केन्द्रीय कमिटीको पूर्ण सदस्य रहेका मध्येबाट ९९ सदस्यीय पोलिटब्युरो गठन गर्ने एमालेको तयारी छ। जारी बैठकले बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसको पठनपाठन

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसको पठनपाठन औपचारिक रुपमा आजदेखि शुभारम्भ हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको  आइतबार शुभारम्भ  गर्ने प्रतिष्ठानले जनाएको छ। यस्तै, उनले  सो क्षेत्रमा ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ।

सो कार्यक्रममा प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनुका साथै, पूर्वपदाधिकारीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जानकारी दिएको छ।

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्दै

केहि दिन यता काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। 

उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज काठमाडौंको न्यूतम तापक्रम ५ डिग्रिसेल्सियसमा झरेको छ। जुम्लाको तापक्रम माइनस ४.५ डिग्री मापन भएको छ।

विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो। तराईमा पनि चिसो बढेको छ। तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो। आज बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ।

अमेरिकामा आएको आँधीमा परेर १०० भन्दा धेरैको मृत्यु 

अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीमा परेर १०० भन्दा धेरैको मृत्यु भएको छ।

 केन्टकी राज्य नजिकैको मैनबत्ती कारखानामा फसेका ४० जनाको  उद्धार गरिएको छ। अन्यको खोजी कार्य भइरहेको अधिकारीहरुले बताएका छन्।

सो राज्यमा विद्युतीय सेवा समेत अवरुद्ध भएको छ। राष्ट्रपति जो बाइडेनले केन्टकी राज्य सहित आधीँबाट  क्षतिग्रस्त क्षेत्रमा  अमेरिकी  सरकारले तत्काल मद्धत गर्ने बताएका छन्। 


प्रकाशित: Dec 12, 2021| 10:56 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।