बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभापतिमा रामचन्द्रको चाहना : १३औंमा सिटौला बाधक, १४औंमा टिमभित्रै कोपभाजन

सभापतिमा रामचन्द्रको चाहना : १३औंमा सिटौला बाधक, १४औंमा टिमभित्रै कोपभाजन

बीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि १६ वर्षकै उमेरमा जानीनजानी राजनीतिमा प्रवेश गरेका रामचन्द्रलाई अहिले यही राजनीति दलदल लागेको छ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- 'मैले साथीहरुलाई धेरै कोसिस गरेँ। तपाईंहरु एक जना भइदिनुस्, म सहयोग गर्छु। खुलेर सहयोग गर्छु। तर अन्तिममा दुई जना साथीहरुको बीचमा सहमति भएन। भइगयो त तपाईंहरु लड्नुस्। यस्तो अवस्थामा म यो दलदलभन्दा बाहिर रहन चाहन्छु। दलदलमा फस्‍न चाहन्‍नँ,' जारी १४ महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निराश र भावुक हुँदै भनेको कुरा हो यो। बीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि १६ वर्षकै उमेरमा जानीनजानी राजनीतिमा प्रवेश गरेका रामचन्द्रलाई अहिले यही राजनीति दलदल लागेको छ। 

युवा अवस्थामा नै तत्कालीन शीर्ष नेताहरु बीपी कोइरला, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराईबीचको अन्तरसंघर्षका क्रममा सम्बन्ध सेतुको काम गर्ने पौडेल अहिले आएर आफूपछिको पुस्तालाई नै सहमतिमा ल्याउन असफल भएका छन्। बनारसमा रहेका बीपी कोइराला र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा संवाद सेतु बनेका पौडेल अहिले आफू त्याग गर्दासमेत आफ्नो समूहको दोस्रो पुस्ताका नेताहरुबाट साझा उम्मेदवार चयन गर्न सकेनन्। 

बीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि १६ वर्षकै उमेरमा जानीनजानी राजनीतिमा प्रवेश गरेका रामचन्द्रलाई अहिले यही राजनीति दलदल लागेको छ। 

नेताहरुले अडान नछोडेपछि शनिबार उम्मेदवारी दर्ता गराउनुभन्दा अघि सञ्‍चारकर्मीसँग उनी भावुक हुँदै १४ औं महाधिवेशनबाट आफू पार्टीको सभापतिका लागि प्रतिस्पर्धामा नरहने बताए। शनिबार नै एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'प्रजातन्त्रका मूल्यमान्यता र आदर्श अंगालेर अथक प्रयत्‍न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा म पुगें। तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु।'

करिब सात दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा आएर उनले प्रतिस्पर्धाबाट नै अलग हुन्छु भन्‍नु पक्कै सुखद् पक्ष होइन। हुन त जीवनको उत्तरार्धमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि पार्टीबाट अलग भएका थिए। तर, रामचन्द्रको अवस्था र नियति भने केही फरक छ। फरक यस अर्थमा कि सँगै राजनीति सुरु गरेर पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा सभापतिमा दोहोरिन उम्मेदवारी दिइरहेका छन् भने उनी सभापतिको प्रतिस्पर्धाबाट मात्र बाहिरिएनन्, अबको पाँच वर्ष पार्टीको केन्द्रीय कमिटीमा रहने छैनन्। 

अधुरो सभापति चाहना 

तत्कालीन सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि पौडेल नेपाली कांग्रेसको कार्यवाहक सभापति बने। १३ औं महाधिवेशनपछि कार्यवाहकको फुर्को हटाउने उनको ठूलो इच्छा थियो। तर, कृष्णप्रसाद सिटौलाले विद्रोह गर्दै तेस्रो धार बनाएपछि पौडेल कमजोर बने।  महाधिवेशनको प्रतिस्पर्धामा नै सिटौलाले देउवालाई सहयोग गरेपछि पार्टीको सभापति बन्‍ने पौडेलको चाहना पूरा हुन सकेन। 

१३ औं महाधिवेशनपछि १४ औंमा आफू नै सभापतिमा प्रतिस्पर्धा गर्ने र सबैलाई मिलाएर जाने बताउँदै आएका थिए। तर, निर्णायक समयमा भने आफू नै प्रतिस्पर्धाबाट बाहिरिनुपर्ने अवस्थामा पुगे। विगतदेखि वर्तमानसम्म कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रहँदै आएका पौडेल पटक-पटक मन्त्री भएर सरकारमा गए, पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए। तर, सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न भने सकेका छैनन्।

२०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव भएका थिए भने ०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य बने ।

१३ औं महाधिवेशनपछि १४ औंमा आफू नै सभापतिमा प्रतिस्पर्धा गर्ने र सबैलाई मिलाएर जाने बताउँदै आएका थिए। तर, निर्णायक समयमा भने आफू नै प्रतिस्पर्धाबाट बाहिरिनुपर्ने अवस्थामा पुगे।

०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो। ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा थिए। ०६२ सालमा उनी कांग्रेस महामन्त्री भए। ०६४ सालमा नेपाली कांग्रेसको उपसभापति भए।  तर, यसपटक भने उनी केन्द्रीय सदस्यमा रहने छैनन्। अहिलेको पार्टी विधानले केन्द्रीय खुलाबाट सदस्य बन्‍नका लागि निर्वाचित हुनैपर्ने प्रावधान राखेको छ। 

अहिले १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बन्‍नका लागि पनि उनले प्रयास नगरेका होइनन्। तर, केही पार नलागेपछि उनी विश्राम लिने निर्णयमा पुगेका हुन्। 

प्रधानमन्त्रीमा १७ पटक पराजय

पञ्‍चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि पौडेल पहिलो पटक ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए। दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने। ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए। ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भए। रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। 

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए। ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए। ०६४ सालमा सम्पन्‍न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए। ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। ०७० मा सम्पन्‍न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाँचौंपटक निर्वाचित भए।

अहिले १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बन्‍नका लागि पनि उनले प्रयास नगरेका होइनन्। तर, केही पार नलागेपछि उनी विश्राम लिने निर्णयमा पुगेका हुन्। 

करिब तीन दशकसम्म संसदीय चुनावमा जित हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय। ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए। तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे। यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो। अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो।

कांग्रेसभित्र नीतिगत-वैचारिक चिन्तन गर्न सक्ने नेताका रुपमा चिनिने पौडेल करिब सात दशकपछि आएर राजनीतिक दाउपेचको सिकार मात्र भएनन्, आफैंले संरक्षण गरेका नेताहरुबाट पाखा लाग्‍नुपर्ने अवस्थामा पुगेका छन्। 

प्रकाशित: Dec 11, 2021| 15:49 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...