बिहीबार, भदौ ४, २०८३

'ब्याक' भए रामचन्द्र, अन्य दाबेदारको कस्तो बन्दैछ समीकरण?

आफूलाई पनि स्वीकार नगरेको र मिलेर साझा उम्मेदवार पनि नबनेप्रति दिक्क भएका पौडेलले थपे,'भइगो, तपाईंहरु लड्‍नुस्। मचाहिँ यस्तो अवस्थामा यो दलदलभन्दा बाहिर रहन चाहन्छु। दलदलमा फस्‍न चाहन्‍नँ भन्ने कुरा मैले भनेकै हो।'
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवालाई दोहोरिनका लागि रोक्‍ने विषयमा एकमत भएका संस्थापन इतर समूहका नेताहरु निर्णायक समयमा भने विभाजित देखिएका छन्। शुक्रबार औपचारिक उद्घाटन भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको छ। शनिबार बिहान १० बजेदेखि नै उम्मेदवारी दिने कार्यक्रम सुरु भइसकेको छ। 

हालसम्म सभापतिमा कल्याण गुरुङले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने दलित समावेशीतर्फको सहमहामन्त्रीमा मानबहादुर विश्‍वकर्माले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। तर, सभापतिका अन्य दाबेदारहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि भने आन्तरिक छलफलमै छन्। उनीहरुले प्यानल बनाउने तयारी गरिरहेका छन्। 

संस्थापन इतर समूहको नेतृत्व गरिरहेका रामचन्द्र पौडेलले भने आफूले सभापतिका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन्। गत सोमबारदेखि नै साझा उम्मेदवारका लागि पहल गरेका वरिष्ठ नेता पौडेल बुधबारदेखि नै निराश बन्दै पछि हटेका हुन्। बुधबार चाक्सीबारी छलफलका क्रममा सहमति नजुटेपछि उनले भावुक हुँदै भनेका थिए, 'तपाईंहरु न मलाई स्वीकार गर्नुहुन्छ, न त आफूमा सहमति जुटाउन सक्नुहुन्छ। म राजनीतिबाट नै अलग हुन्छु, तपाईंहरु चलाउनुस्।' 

पौडेललाई आशा थप्‍न बिहीबार बिहान सभापतिका दाबेदार शेखर कोइराला बोहराटारस्थित पौडेल निवास पुगेर 'प्रकाशमानले छोड्‍ने हो भने म तपाईंलाई सहयोग गर्छु। प्रकाशमान सहमतिमा नआउने हो भने मलाई सहयोग गर्नुस्' भन्दै आग्रह गरेका थिए। कांग्रेसको १३ औं केन्द्रीय समितिको बिहीबार बसेको अन्तिम बैठकमा पनि सहभागी नभएका पौडेललाई भेट्‍न शुक्रबार बिहान संस्थापन इतर समूहका दोस्रो तहका नेताहरु बोहराटार नै पुगेका थिए। उनले साझा उम्मेदवारका लागि पहल गर्न ती नेताहरुलाई आग्रह गरे। 

शुक्रबार राति संस्थापन इतर समूहको बैठकले पनि साझा उम्मेदवार तय गर्ने विषयमा कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रकाशमान सिंह र शेखर कोइरालाले आ-आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका हुन्। यहीबीच पौडेललाई भेट्‍न दोस्रो तहका नेताहरु शनिबार पनि बोहराटार पुगेका थिए। ती नेताहरुलाई पौडेलले भने, 'मैले साथीहरुलाई धेरै कोसिस गरेँ तपाईंहरु एक जना भइदिनुस् म सहयोग गर्छु। खुलेर सहयोग गर्छु। तर अन्तिममा दुई जना साथीहरुको बीचमा सहमति भएन।'

आफूलाई पनि स्वीकार नगरेको र मिलेर साझा उम्मेदवार पनि नबनेपछि दिक्क भएका पौडेलले थपे,'भइगो, तपाईंहरु लड्‍नुस्। मचाहिँ यस्तो अवस्थामा यो दलदलभन्दा बाहिर रहन चाहन्छु। दलदलमा फस्‍न चाहन्‍नँ भन्ने कुरा मैले भनेकै हो।'

प्रकाशमानको अडानले पौडेल हुन सकेनन् सर्वस्वीकार्य

संस्थापन इतरबाट कुनै एकजनालाई साझा उम्मेदवार बनाउनका लागि आफू त्याग गर्न तयार देखिएका पौडेलले टिम जोगाउनका लागि आफूमा पनि सहमति गराउने प्रयास गरेका थिए। यसअघि शशांक कोइरालाले पनि पौडेललाई नै समर्थन गर्ने बताएका थिए। प्रकाशमान र शेखरमध्ये एकजनालाई छोड्न तयार देखिएका पौडेलको कुरा नसुनेपछि आफूलाई सभापतिको साझा उम्मेदवार मान्‍नसमेत नेताहरुलाई अपिल गरेका थिए। 

उनले तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलालाई पनि भेट गरेर सहयोग गर्न आग्रह गरेका थिए। तर, सिटौलाले भने सहमतिको कुनै आधार र प्याकेज नल्याएको भन्दै सहमति हुन सक्ने अवस्था नरहेको बताएका थिए। तर, पनि सिटौलाले साझा उम्मेदवार बनेर आउने स्थिति भए ४० प्रतिशत आफूलाई दिनुपर्ने सिटौलाले शर्त राखेका थिए। तर, संस्थापन इतरमा नै सहमति हुन नसकेपछि पौडेल सिटौलासँग दोस्रोपटकको छलफलमा भने सहभागी भएनन्। 

पौडेलले भने, 'उहाँहरुसँग धेरै चरणमा मैले कुरा गरेँ। या त तपाईंहरु दुई जना मिलेर मलाई सहयोग गर्नुस्। या त तपाईंहरु दुई जनामध्ये को हुने हो हुनुस्। म तपाईंहरुलाई सहयोग गर्छु। एक जना हुनुभयो भने सहयोग गर्छु भनेँ। तर उहाँहरु त्यसको लागि पनि तयार हुनुभएन।’

प्रकाशमानले भने उम्मेदवारी घोषणा गर्दै प्यानल बनाउने तयारी गरिरहेका छन्। प्रकाशमानको प्यानलमा सुजाता कोइराला उपसभापतिमा उम्मेदवारी दिने भएकी छन्। त्यसैगरी उनले संस्थापन पक्षका असन्तुष्ट नेताहरु र पदाधिकारीमा दाबी गरेका तर भाग नपाएका नेताहरुलाई आफूतिर तान्‍ने प्रयास गरिरहेका छन्। 

संस्थापन पक्षमा महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा प्यानलमा नपर्ने सम्भावना बढेपछि उनले शेखर अथवा प्रकाशमान कुन टिममा जाने भन्‍ने विषयमा आफू निकट नेता र महाधिवेशन प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन्। 

देउवा-सिटौला गठबन्धन

देउवा र सिटौला समूहले यसअघि विभिन्‍न जिल्ला र प्रदेश १ र बागमती प्रदेशमा पनि सहकार्य गरेका थिए। सहकार्य गरिएका जिल्ला र प्रदेशमा अपेक्षाकृत नतिजा आएपछि देउवा सिटौला गठबन्धनलाई निरन्तरता दिन लागिएको हो। 

संस्थापन पक्षका नेता शेरबहादुर देउवा र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाबीच महाधिवेशनमा पनि सहकार्य हुने भएको छ। देउवाले सिटौला समूहका नेता प्रदीप पौडेललाई महामन्त्तीको उम्मेदवार बनाउने भएका छन्। त्यसैगरी सिटौला समूहले एक सहमहामन्त्री र केन्द्रीय सदस्यहरु पाउने भएको छ। १३ औं महाधिवेशनमा पनि सिटौलाले देउवासँग नै सहकार्य गरेका थिए। 

सिटौला समूहका प्रदीप पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्‍ने भएपछि विश्वप्रकाश महामन्त्री नबन्‍ने भएका हुन्। 

शेखरले पनि प्यानल बनाउँदै

संस्थापन इतर समूहका अर्का नेता शेखर कोइरालाले पनि आफ्नो प्यानल बनाउने तयारी गरिरहेक छन्। उनको प्यानमा शशांक उपसभापति हुने, गगन र मिनेन्द्र महामन्त्री बन्‍ने गरी तयारी भइरहेको छ। शेखरले अहिले आफ्नो समूहका नेता तथा महाधिवेशन प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन्। 

निधिको तयारी

सभापतिका अर्का दाबेदर विमलेन्द्र निधिले पनि टिम बनाउने तयारी गरिरहेका छन्। निधिले पनि संस्थापन पक्षमा पदाधिकारी नपाएर असन्तुष्ट बनेकाहरुलाई आफूतिर तान्‍ने प्रयास गरिरहेका छन्। कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले निधिको समूहबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। 

कसले दिए उम्मेदवारी ?

नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि अहिले काठमाडौंको भृकुटीमण्डपमा उम्मेदवारी दर्ता गर्ने जारी छ। हालसम्म सहमहामन्त्री पदमा तीन जना उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन समितिले जानकारी दिएको छ। 

निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदमा अहिलेसम्म दलिततर्फ मानबहादुर विश्वकर्मा, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। विश्वकर्मा र मन्सुर संस्थापन तथा, पाण्डे इतर समूहका उम्मेदवार हुन्। 

प्रकाशित: Dec 11, 2021| 13:39 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...