काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पुवुदु दाशनायके नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बिहान बसेको बैठकले उनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
२०१४ को विश्वकप खेल्दा नेपालका प्रशिक्षक रहेका दाशनायकेलाई नै क्यानले फेरी प्रशिक्षकका जिम्मेवारी दिएको हो। यसअघि उनी सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षक थिए।
दाशनायकले आफ्नो खेल जिवनमा दुई देशको प्रतिनिधित्व गरेका छन्। उनले १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए भने सन् २००५ देखि २००६ सम्म उनले क्यानडाबाट खेलेका थिए।
उनी श्रीलंकाको केनडीमा जन्मिएका हुन्। र, विकेट किपरमा खेल्ने उनले सन् १९९० मा ए क्लाल क्रिकेटमा डेब्यू गरेका थिए। दाशनायकले त्यसको तीन वर्षपछि मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएका थिए।
उनले श्रीलंकाको टिमबाट दक्षिण अफ्रिकाविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यो समय उनी श्रीलकाका पहिलो रोजाइएका विकेट किपर थिए। त्यो टिमबाट उनले १९९४ मा न्युजिल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट खेले।
त्यसदौरान उनले श्रीलंकको टिमबाट ११ टेस्ट, १६ एकदिवसीय खेल खेलेका थिए। पछि क्यानडातिर बसाईं सरेपछि उनले त्यहाँ पनि क्रिकेट खेले। उनी सन् २००१ मा क्यानडा बसाईं सरेका थिए। क्यानडाको ओन्तरियोमा उनी बस्न थाले।
त्यहाँबाट उनले आवसिय छनोट खेल्दै सन् २००५ मा डेब्यू गरेर २००६ सम्म खेले। उनले २००५ को आईसीसी ट्रफीमा खेलेका थिए। जुन आयरल्यान्डमा भएको थियो। उनले ती दुई वर्षमा आईसीसी इन्टरकन्टिनेन्टल कपमा पनि खेलेका थिए। तत्कालिन कप्तान जोन डेभिवसनको अभावमा उनले क्यानडाको टिमको कप्तानी पनि गरेका थिए।
उनले कप्तानी गरेको खेल बर्मुडाविरुद्धको थियो। उनले क्यानडाबाट अन्तिम खेल भने केन्याविरुद्ध खेलेका थिए। त्यति बेला उनी ३६ वर्षका थिए।
खेल जीवनबाट संन्यास लिएपछि उनी नै क्यानडाको टिमको मूख्य प्रशिक्षक बनेका थिए। त्यहाँको क्रिकेट एसोसिएसनले उनलाई २००७ अगस्तमा राष्ट्रिय टिमको मूख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
उनले आफ्नो प्रशिक्षणमा क्यानडालाई २०११ को विश्वकपसम्म पुर्याएका थिए। त्यो विश्वकपसपछि उनले क्यानडोको टिम छोडेका थिए। सन् २०११ कै अक्टोबर महिनामा उनी नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा पहिलो पटक नियुक्त भएका थिए। एन्जडी पिकपछि आन्तरिम प्रशिक्षक नियुक्त भएका उनले संघसँग पछि लामो समयका लागि सम्झौता गरेका थिए।
त्यसपछि उनले चार वर्ष नेपाली टिम सम्हाले। उनले सन् २०१५ को अक्टोबरसम्म नेपाली टिम सम्हालेका थिए। उनको प्रशिक्षणमा नेपाली टिमले सन् २०१४ को विश्वकप पनि खेलेको थियो। त्यसो त उनी पहिला ६ महिनाका लागि मात्र राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका थिए।
उनीअघि नेपालका मुख्य प्रशिक्षक रोय डायस। रोयको समयमा नेपाली क्रिकेट एसोसिएट क्रिकेटमा निकै नामी बनिसकेको थियो। त्यसपछि थप अघि पुर्याउने दाउमा दाशनायके नेपाल आएका थिए।
उनले नेपाली क्रिकेटलाई एउटा आकृति प्रदान गरेका थिए। उनको प्रशिक्षणमा नेपालले २०१३ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जित्यो। त्यसको दुई वर्षअघि उनले भनेका थिए, ‘नेपाली टिमले आईसीसी विश्वकप खेल्न सक्छ।’ उनले भनेअनुसार नै नेपालले डिभिजन थ्रि जितेको अर्को वर्ष विश्वकप खेलेको थियो।
त्यसपछि उनी सन् २०१६ को सेम्टेम्रमा अमेरिकी क्रिकेट टिमको मूख्य प्रशिक्षक पनि बनेका थिए। त्यहाँबाट उनले सन् २०१९ को जुलाईमा राजीनामा दिएका थिए। अमेरिकाको टिम सम्हालेपछि उनी फ्रेन्चाइज क्लब न्यु जर्सीका पनि प्रशिक्षक बनेका थिए।
उनले नेपाली राष्ट्रिय टिम छोडेपछि नेपाली फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिगको क्लब भैरहवा ग्लाडिएटर्समा पनि प्रशिक्षण गराइरहेका छन्।