काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ।
महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ। 'उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन' मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन्।
यो संख्या १३ औं महाधिवेशनभन्दा करिब १ हजार ५ सयले बढी हो । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिकोसमेत उपस्थिति रहने बताइएको छ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ।
जसअन्तर्गत आज महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिदैँ छ भने भोलि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सबै प्रक्रिया पुरा गरेर मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन समितिका जनाएको छ।
कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ। सभापति पदको मतगणना मतदान समाप्त हुने वित्तिकै हुनेछ। सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ।
कांग्रेसको कुन पदमा को को उमेदवार भन्ने अन्योल कायमै
महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहदा समेत नेपाली कांग्रेसको कुन पदमा को को उमेदवार भन्ने अन्योल कायमै रहेको छ।
शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदमा भने को को उमेदवार हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन्। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन्।
यता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्षले चार दिनदेखि छलफलमा जुटेपनि सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन्। इतर पक्षबाट सभापतिको आकांक्षा राखेका रामचन्द्र पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको उम्मेदवार आफू नै हुनु पर्ने अडान राखेपछि सहमति हुन नसकेको हो।
पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
कास्कीको पोखरा महानगरपालिका-२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज शुक्रबार बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम-ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो। दुवै जनाको अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
आज विश्व मानव अधिकार दिवस
आज विश्व मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो। यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रुपमा मानव अधिकार दिवस मनाउँदै आएको छ।
यसैबिच, प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानव अधिकारको संरक्षणमा दत्त चित्त भएर काम गरेको बताएका छन्। विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा शुभकामना दिदै उनले मानव अधिकारको हनन उपर सक्षम र स्वतन्त्र न्यायपालिकाबाट प्रभावकारी उपचार पाउने कुरालाई संवैधानिक रूपमा नै सुनिश्चित गरिएको बताएका छन्।
मेक्सिको चियापास प्रान्तमा आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु
मेक्सिकोमा चियापास प्रान्तमा आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ। अन्य ५८ जना घाइते भएका छन्।
दुर्घटना ग्वाटेमालाको बोर्डर नजिक भएको अधिकारीहरुले बताएका छन्। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएलले ट्वीटरमा मार्फत “दुर्घटनाप्रति समवेदना प्रकट गर्नुभएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिणी मेक्सिकोको चियापास प्रान्तबाट गइरहेको ट्रक घुमाउरो मोडमा पल्टिएर नजिकैको पैदल यात्रु हिड्ने पुलमा ठोक्एिको हो। ट्रकमा १ सय भन्दा बढी आप्रवासी सवार थिए।
ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल आजबाट सुरु
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल आजबाट सुरु हुँदैछ।
चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ। दिउँसो १ बजे सुरु हुने खेलमा दुबै टिम जीतको खोजीमा हुनेछन्।
दोस्रो खेलमा च्यासल युथ क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। खेल पौने ५ बजे सुरु हुने छ। च्यासलविरुद्ध आर्मी तीन अंक लिने दाउमा रहेको आर्मीका प्रशिक्षक राजु तामाङ बताउँछन्। च्याल पनि आर्मीलाई हराउने दाउमा छ।