कांग्रेसमा उम्मेवारको अन्यौल
महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहदा समेत नेपाली कांग्रेसको कुन पदमा को को उमेदवार हुने भन्ने अन्योल कायमै रहेको छ।
शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदमा भने को को उमेदवार हुने भन्ने टुंगो आज पनि लाग्न सकेन् । २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन् । आकांक्षीको सूची लामो हुँदा देउवाले प्रदेशगत रुपमा मिलेर आउन र सूची बुझाउन गरेका थिए । तर, अहिलेसम्म प्रदेशहरुले सूची बुझाउन सकेका छैनन् ।
यता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्षले सभापतिको समेत साझा उम्मेदवार तय गर्न सकेको छैन् । चार दिन यता लगातार छलफलमा जुटेपनि इतर पक्षबाट सभापतिको आकांक्षा राखेका तीन जना आफ्नो अडानमा कायम रहेपछि सभापतिको उम्मेदवार नै को हुने भन्ने अन्योलता देखिएको छ । पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको उम्मेदवार आफू हुनु पर्ने दाबी गरिरहेका छन् । नेता प्रकाशमान सिंहले आज एक सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन् । कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई विधिसम्मत्, नियमसम्म्त र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफू सभापति उठ्न लागेको दाबी गरे ।
युवा नेताहरुले सहमति गरेर साझा उमेदवार छनोट गर्न दबाब दिदै आएका छन् । उनीहरुले आपसमा लडाइँ गरेर देउवालाई सभापति बन्न सहज हुने वातावरण नबनाउन र पदाधिकारीका आकांक्षीलाई अन्योलमा नराख्न अपिल गरेका हुन् ।
कांग्रेस महाधिवेशनमा पेस गर्ने तीन प्रस्ताव पारित
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पेस भएको महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उपसभापति नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन पनि बैठकबाट पारित भएको छ ।
बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिए । उनले केन्द्रिय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने बताए ।
प्रवक्ता शर्माले भोलि शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिए । महाधिवेशनमा भारतका राजनीतिक दलका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको उनले बताए । चौधौं महाधिवेशनअघि बिहीबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहित केहि नेताहरू सहभागी भएनन् । पौडेलसहितका नेता बैठकमा नआएपछि २ जना सहमहामन्त्री थप्ने प्रस्ताव तयार भएपनि बैठकमा पेश भएन् ।
महाधिवेशन तयारी अन्तिम चरणमा
नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राती १० बजेसम्मका सकिने बताए । संयोजक पुडासैनीले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीको शीर्ष नेता र पार्टीका केन्द्रिय सदस्य रहने व्यवस्था गरिएको बताए ।
संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए । उनले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताए । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन मंसिर २४ गते शुक्रवारबाट २७ गतेसम्म हुँदैछ ।
सकेसम्म सहमतिमा नेतृत्व चयन : सभापति देउवा
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतीमा नेतृत्व चयन गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने बताए । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता र असहिष्णुता प्रर्दशन नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की काँग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली काँग्रेसको १४ औं महाधिवेशन महत्वपूर्ण रहेको दावी गरे । कार्यक्रममा काँग्रेस सहमहामन्त्री एवम् लेखक महतले पुस्तक नेपाली काँग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताए ।
उता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संकटका बेलामा साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
बिहीबार आफूपक्षीय भेलामा नेता सिटौलाले पार्टीमा आफूसँग रहेका नेताहरुलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। उनले आज प्यानल घोषणा गर्ने भनिएको भएपनि मनोनयन हुनु अघि मात्रै आफ्नाबारेमा बोल्ने बताए। आफूलाई अभाव, संकट र जोखिममा निरन्तर साथ दिनेहरूलाई आफूले कहिल्यै साथ नछोड्ने प्रतिवद्धतासमेत जनाए । सटौलाले आफू रहेको स्थानमा कांग्रेस हुने तर्क गरे। उनले कांग्रेसलाई भरोसा र विश्वासको पार्टी बनाउन आफू जे गर्न पनि तयार रहेको बताए।
गगन थापाको उम्मदेवार औपचारिका रूपमा घोषणा
नेपाली कांग्रेसका नेता गगन थापाले भोलि शुक्रबारबाट सुरु हुने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
बिहिबार एक कार्यक्रमको आयोजना गर्दै उनले महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै भने– ‘म महामन्त्री हुन्छु÷हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पु¥याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’ आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी अधिवेशनबाट कांग्रेसले जनतालाई भरोसा दिनुपर्ने थापाले बताए। उनले नेपालीको अबको बाटो ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुनुपर्ने बताए
नेता थापाले कांग्रेस आफ्नो वा कोही एक जनाको लागि जन्मेको पार्टी अरुका लागि जन्मेको पार्टी भएको बताए। नेताहरुले कांग्रेसले चुनाव हार्यो भने एउटा नागरिकले के गुमाउँछ भनी प्रश्न गर्नुपर्ने उनले बताए।
माओवादीले प्रदेश पदाधिकारीको संख्या बढाउने
नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो ।
प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । त्यस्तै, बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
त्यस्तै, बैठकले प्रदेश कमिटीको सदस्य संख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, वाग्मती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए ।
स्थायी कमिटी बैठकमा माओवादी पार्टी प्रवेश गर्नेहरुको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको ३ सदस्यीय कार्यदल बनाएको छ भने महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अरु सदस्यहरुलाई पछि थप्ने निर्णय भएको महराले बताए ।
विद्युतीय साधनको उपयोगमा जोड
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छिन्। बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनु पर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितीमा पुगेको बताइन् । मन्त्री भुसालले जनतामा २ वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।
मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाहरुले समयमै विद्युत भुक्तानी नगरेको, विनियमावलीले तोकेको भन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरुको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको बताइन् । उनले केही सामुदायिक संस्थाका उपभोक्ताहरुले आफूलाई संस्थाबाट अलग बनाइ नेपाल विद्युत प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि बताइन् ।
२११ संक्रमित थपिए
नेपालमा आज थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ४५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २११ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट १९७ जना र एन्टिजेन परीक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।
कारबाहीमा परेकै स्थानबाट जरिवाना तिर्न सकिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाहीमा परेकै ठाउँबाट ट्राफिक जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ ।
आज बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीधनीलाई कारबाही भएको ठाउँबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो । तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए । उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताए ।
महाशाखाले पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुरु गरेको हो। त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाएपनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन्।
फाइजर ओमिक्रोनविरुद्ध पनि प्रभावकारी
फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप (फाइजर) को बूस्टर मात्रा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको छ ।
हालकै खोपको तीन मात्रा लगाउँदा ओमिक्रोनविरुद्ध अरु भेरियन्टका लागि दुई मात्रा लगाउँदा जस्तै खोप प्रभावकारी देखिएको फाइजरले जनाएको हो । कम्पनीले सानो आकारको अध्ययनपछि बूस्टर मात्रा लगाउँदा प्रभावकारी हुने देखिएको बताएको हो । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालकै खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने सम्भावना रहेको बताएको थियो । ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थालेसँगै विश्वभरका अनुसन्धानकर्ताहरुले त्यससँग सम्बन्धित तथ्यहरु संकलन गरिरहेका छन् । ५० भन्दा बढी उत्परिवर्तन भएर बनेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढी संक्रामक तथा घातक देखिएको प्रारम्भीक तथ्यहरुले जनाएका छन् ।
दासायकेलाई फर्काउने तयारी
नेपाल क्रिकेट संघ क्यानले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । क्यान स्रोतका अनुसार नेपालका पूर्व मुख्य प्रशिक्षक दासानायकेलाई पुनः नियुक्ती गर्ने तयारी भएको छ । तर अन्तिम टुंगो भने अझै लागेको छैन ।
नेपालले सन् २०२२ को सुरुआतमै आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको खेल्ने तालिका रहेकाको अवस्थामा नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।