काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका दाबेदार शेखर कोइरालाले आफू अझै प्रतिस्पर्धामा नै रहेको बताएका छन्। कांग्रेसको अन्तिम केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफू अझै प्रतिस्पर्धामा नै रहेकोले केही नबोल्ने बताएका हुन्।
पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग बोल्दै उनले भने, 'आई एम स्टिल अन द रेस। अहिले केही बोल्दिनँ।'
कांग्रेस पत्रकारले संस्थापन इतर समूहको साझा उम्मेदवारका बारेमा राखेको प्रश्नमा उनले भने, हेरौं न।' उनले उम्मेदवारीका सन्दर्भमा आफूलाई चिन्ता नभएको बताउँदै चिन्ता नलिन आग्रह गरे।
कांग्रेस बचाउन अघि बढ्नुपर्ने सुझाव दिने कार्यकर्तालाई उनले भने- 'पख्नुस् न हेर्दै जाउँ।'
उनले मिल्नुस् भन्ने कार्यकर्तालाई मिल्नु भनेर मात्र भएन मिल्ने सुत्र के सुझाउनसमेत आग्रह गरेका छन्। कोइरालाले बिहीबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।
कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् ।
शेखरले पौडेललाई 'तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु' भनेका थिए। प्रकाशमान सिंहले सभापति पदको दाबेदारी नछाडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए। उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस्।'
पार्टी र सत्ताको केन्द्रमा रहेका शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि संस्थापनइतरलाई साझा उम्मेदवार बनाउन दबाब बढेको हो।
बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भएका थिए।
प्रकाशमानले उमेरमा शेखर दाइ भए पनि राजनीतिमा आफू सिनियर भएको दाबी गर्दै सभापतिमा आफूलाई उठाउनुपर्ने माग गरेका छन्। उनले सधैं गणेशमान सिंहको परिवारले त्याग गरेको उल्लेख गर्दै यसपटक कोइरालाले परिवारले त्याग गर्नुपर्ने पनि बताएका छन्।