काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिको दौडबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
पार्टीको १४ औं महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले भने, ‘म सभापतिको उम्मेदवार हुँ। आफ्ना एजेन्डा मतदातालाई भनिरहेको छु। निर्वाचनपछि कांग्रेसको एकल सरकार बनाउने मेरो एजेन्डा हो। मलाई दुवै समूहले माया गरेका छन् र बोलाएका छैनन्। म चुनाव लड्ने नै हो। बाँकी कुरा मतपरिणामले देखाउँछ।’
यसअघि हिजो बुधबार निधिले एक टेलिभिजन अन्तर्वार्तामा शेरबहादुर देउवाजस्तो नेता अब विमलेन्द्र निधिसँग प्रतिष्पर्धामा उत्रिनु ठीक नहुने टिप्पणी गरेका थिए। रामचन्द्र पौडेल प्रकाशमान सिंहसँग प्रतिष्पर्धामा उत्रिनु पनि ठीक नहुने उनको भनाइ थियो। ‘उहाँहरुले दिनुपर्ने कुरा दिइसक्नुभयो, पाउने कुरा पनि पाइसक्नुभयो,’ निधिको भनाइ थियो।