काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गरिने बताएका छन्। प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने बताएका हुन्।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न पनि आग्रह गरे।
प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।
उनले भने, ‘अहिलेको पार्टीको महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ। नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि यो अत्यन्तै महत्त्वपूर्ण महाधिवेशन हो। यस उत्साहपूर्ण घडीमा महाधिवेशनलाई सफल पारेर फर्किंदा सबै पार्टीका साथीले अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ।' उनले
प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागिसमेत नेपाली कांग्रेसको १४औं महाधिवेशन महत्त्वपूर्ण रहेको दाबी गरेका छन्। कार्यक्रममा कांग्रेस सहमहामन्त्री एवं लेखक महतले पुस्तक नेपाली कांग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताएका थिए।