काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार साँझ सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले जावलाखेल युथ क्लबलाई २-० गोलअन्तरले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई हजार ५०० समर्थक माझ जवाखेलले लिगमा लगातार तेस्रो हार व्यहोर्दा मछिन्द्र क्लबले लिगको दोस्रो जित निकालेको हो।
मछिन्द्रको जितका लागि जावलाखेलले एक गोल कोसेली दियो भने अर्को गोल डिफेन्डर रन्जित धिमालले गरे। यो गोलसँगै ७ अंक बनाएको मछिन्द्र क्लब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खुसी भएको र उपाधि दावेदारीमा लगातार अग्रस्थानमा रहेको बताएका छन्। ‘आजको जितपछि खुसी छु। जावलाखेल बलिायो टिम हो। मैले उसको पछिल्ला सबै खेल हेरेको छु,' उनले भने, 'उसलाई हराएर हामीले पनि शीर्षस्थानमा समानता गरेका छौं।’
गोलअन्तरको आधारमा समान सात अंक भएको सातदोबाटो शीर्षस्थानमा कायम छ भने मनाङ तेस्रो स्थानमा छ। यता आजको हारसँगै जावलाखेल युथ क्लब भने पुछारबाट दोस्रो स्थानमा छ।
हारपछि जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले राम्रो प्रदर्शन गरे पनि गोलकिपरको कमजोर प्रदर्शनको कारण हार व्यहोरेको बताएका छन्। उनले भने, ‘प्रदर्शन त राम्रै गरेका हुन केटाहरुले। तर गोलकिपरले गल्ती गर्यो। एउटा त आत्मघाती नै भयो। दुवै गोलमा किपरको ठूलो गल्ती छ। बाँकी तर धेरै अट्याक भएन। यता हामीले चाहिँ पाएका अवसरलाई पनि सदुपयोग गर्न सकेनौं।’
खेलको १४ औं मिनेटमा मनिष डाँगीको क्रसलाई जावलाखेलका सिमान्त थापाले क्लियर गर्न खोज्दा पोस्टभित्र प्रहार गरेका थिए। सिमान्तले मछिन्द्रका नुर्लान नोभ्रोजुभबाट बललाई सुरक्षा गने क्रममा आफ्नै पोस्टमा प्रहार गर्न पुगेका थिए।
आत्मघाती गोलसँगै अग्रता बनाएको मछिन्द्रले २२औं मिनेटमा अर्को गोल थप्यो। पोस्टको बायाँ २५ यार्डबाट डिफेन्डर रन्जित धिमालले फ्री किकमा बललाई सिधै पोस्टमा छिराएका थिए। यो गोलसँगै साविक विजेता मछिन्द्रले खेलमा दुई गोलको अग्रता बनायो। पछि धिमाल म्यान अफ दि म्याचसमेत बने।
यता सो गोल सिधै पोस्टमा छिरेको विषयलाई उठाउँदै प्रशिक्षक केसीले गोलकिपरको कमजोरी रहेको बताएका छन्। उनले भने, ‘हाम्रो किपरमा म्याच अनुभवको अभाव छ। तीनमध्ये बाँकी दुईमा पनि अनुभव कम नै छ। तर गोलरिपर परिवर्तन गरेर जोखिम लिनैपर्ने भएको छ।’
खेलमा जावलाखेलले पनि गोलका धेरै अवसर सिर्जना गर्यो। तर खेलको १९औं मिनेटमा सुनिल खड्काले सेकेन्ड बारमातर्फ गरेको प्रहार गोलकिपर विसाल श्रेष्ठले डाइभ गरेर सुरक्षा गरेका थिए। त्यही मिनेटमा कोअरा लार्बा कोनको पासमा ओन्गुना जुनियरले गोल गरे पनि त्यो गोल अफसाइड रह्यो। यससँगै लिगमा जावलाखेलको पहिलो गोलले नै मान्यता पाएन।
खेलको २५औं मिनेटमा अमिर श्रेष्ठको प्रहार गोलकिपर विशालले रक्षा गरेका थिए। ३३औं मिनेटमा लोइक एनजीमी कोउहाइमले गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरियो। यससँगै जावलाखेल पहिलो हाफमै दुई गोलले पछि पर्यो।
मछिन्द्रको टिममा मिडफिल्डर आन्द्रेस नियाँ थिएनन्। नियाँ नभएपछि टिमलाई गाह्रो परेको प्रशिक्षक कटुवालले खेलपछि बताए। उनले भने, ‘मिडफिल्डर आन्द्रेस नियाँ नहुँदा साह्रो नै हुने हो तर सुरुमै गोल भएपछि सजिलो भने। नियाँको अभाव खड्किएको हो। त्यसैले फाइनल थर्डमा गोल पनि निस्किएन। भएका दुई गोल पनि आत्मघाती र फ्रीकिकमा भए।’
दोस्रो हाफमा मैदान प्रवेश गरेका जावलाखेलका सुरजज्यु ठकुरीले ६२ औं मिनेटमा गरेको प्रहार पनि क्रसबार छेउबाट बाहिरिएको थियो। राष्ट्रिय टिमबाट खेलिसकेका सुरज पहिलो रोजाईमा किन परेनन् भन्ने प्रश्नमा केसीले भने, ‘सुरजले राम्रो त खेल्छ तर उसले केही गल्ती पनि गरिरहेको हुन्छ। उसले राम्रो पास त खेल्छ तर गोलले पछि परिरहेको अवस्थामा कसरी खेल्ने भन्ने ज्ञान आइसकेको छैन।’
खेलको ७३औं मिनेटमा मछिन्द्रका ओमोलोजा करिमले प्रहार गरेको फ्रिकिक गोलकिपर टिकेन्द्र सिंह थापाले बचाएका थिए।
खेलको ८७औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टी बक्सभित्र दिएको पासलाई सुनिलल बलले सही दिशामा प्रहार गर्न नसक्दा अग्रता बडाउनबाट चुकेको थियो। खेलको अन्तिम मिनेटमा जावलाखेलले पनि गोलको सुनौलो अवसर गुमायो।
‘आज हामी एक अंक लिन आएका थियौँ। त्यो लिन सकेनौँ,’ केसीले आजको योजना र लिगमा अवस्थाबारे भने, ‘हामी राम्रो टिमसँग खेलर हार बेहोरिहेको अवस्था छ। हाम्रो लक्ष्य भनेको चौथो हुने नै हो। तीन खेल भयो गोल पनि निस्केको छैन। खेलाडीले अट्याकिङ थर्डमा जेनेरल टच हान्न सकेको छैन।’
जावलाखेका प्रशिक्षक किशोर कुमार खासै खेलाडीको आलोचना गर्दैनन्। तर उनले तेस्रो खेलमा पनि हार व्यहारेपछि त्यसको दोषे गोलकिपरलाई दिए भने अट्याकमा पनि खेलाडीले राम्रो खेलन नसकेको बताए। ‘अब खेलाडीको कमजोरी सँधै लुकाएर कति राख्ने। खेलाडीलाई पनि डर हुनुपर्छ नि। मैले त माया गरेको हो,’ उनले भने।
आजको खेलमा धेरै खेलाडीले मनिष डाँगीलाई पास दिइरहेका देखिन्थे। के उनी आज प्लेमेकरको रुपमा थिए? जवाफमा प्रशिक्षक कटुवालले भने,‘मनिषलाई केन्द्रमा राखेको त होइन्। मनिषको स्पिड राम्रो त छ। तर उसमा म्याचुरिटी आइसकेको छैन्।’
यता स्टार फरवार्ड विमल घर्ती मगरले भने अवसर नै पाएनन्। ‘हाम्रो टिममा सबै राम्रा खेलाडी भएको कारणले विमलले अवसर नपाएको हो। उनी इन्ज्युरीबाट भर्खरै फर्किएका छन्। किन रिस्क लिने भनेर हामीले मैदानमा नपठाएको हो।’