मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • कांग्रेस संस्थापन इतरमा उम्मेदवार छान्नै सकस, सेयर बजारमा ओरालो यात्रा कायमै [२०७८-८-२०]

कांग्रेस संस्थापन इतरमा उम्मेदवार छान्नै सकस, सेयर बजारमा ओरालो यात्रा कायमै [२०७८-८-२०]

२ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

पौडेल पक्षलाई उम्मेदवार छान्नै सकस

महाधिवेशन सुरु हुने २ दिन पनि बाँकी नरहँदा समेत नेपाली कांग्रेसको कुन पदमा को को उमेदवार भन्ने अन्योल कायमै रहेको छ। शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदमा भने को को उमेदवार हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन्।

२ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन्। आकांक्षीको सूची लामो हुँदा देउवाले आज आफू पक्षिय नेताहरुको भेला डाकेर पनि उम्मेदवार टुंगो लगाउन सकेनन्। आकांक्षीहरुको व्यवस्थापनका लागि शीर्ष तहमा फेरि छलफल हुने भएको छ। 

पदाधिकारीका उम्मेदवारहरुको टुंगो लगानउ नसकेको संस्थापन पक्षको बैठकले पार्टीमा अझै एक कार्यकाल सभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य भएको निष्कर्ष निकालेको थियो। बूढानीलकण्ठ बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री महतले महाधिवेशनमा संस्थापन पक्षलाई एकताबद्ध र अझ बलियो बनाउने विषयमा छलफल भएको बताए। बैठकले नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको ठहर गरेको उनले सुनाए।

यता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्षले सभापतिको समेत साझा उम्मेदवार तय गर्न सकेको छैन्। तीन दिन यता लगातार छलफलमा जुटेपनि इतर पक्षबाट सभापतिको आकांक्षा राखेका तीन जना आफ्नो अडानमा कायम रहेपछि सभापतिको उम्मेदवार नै को हुने भन्ने अन्योलता देखिएको छ। पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको उम्मेदवार आफू हुनु पर्ने दाबी गरिरहेका छन्। 

यद्यपी पौडेल पक्षका नेताहरुले भने संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाव दिइरहेका छन्। बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाव दिएका हुन्। नेता अर्जुन नरसिंह केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको जानकारी समेत दिए। 

सभापतिको उमेदवारकै टुंगो नलाग्दा यस समूहबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उमेदवार बन्ने आकाक्षा राखेकाहरु अन्योलमा परेका छन्। 

अधिवेशन निर्वाचन कार्यतालिका संशोधन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। 

जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ। यस्तै कांग्रेसले महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ। काँग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो। 

जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिनेछ। तर कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार–प्रसार गर्न रोक लगाइएको छ। 

यस्तै भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको छ। काँग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ। जसअनुसार मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ।

माओवादी केन्द्रमा ३२ विभाग गठन 
नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ। विषय विज्ञसमेत राखेर बनाइएका विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरूलाई नै बनाइएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेलले पाएका छन्। नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन्।

संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मा बनेका छन्। नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ।

अधिवक्ता खिमलाल देवकोटा नेतृत्वमा निर्वाचन विभाग गठन भएको छ। जसको सदस्यमा  निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह पनि नियुक्त भएका छन्। माओवादीले हरेक विभाग ३५ सदस्यीय हुने जनाएको छ। तर, हाललाई सबै सदस्य नियुक्त गरिएको छैन।

बारको विरोध जारी 

नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाउनु भयो। उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए। 

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारीसाधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताउका छन्। उनले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताउका हुन। 

वरिष्ट अधिवक्ता उप्रेतीले पदीय आचरण अनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दवाव दिनु भयो। 

पुनर्निर्माणमा सफलता

राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुन:स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तराष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने विश्वास समेत व्यक्त गरिन। बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारेकी छिन्। 

राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तराष्ट्रिय समूदायले दिएको बलियो साथको पनि पटक पटक स्मरण गरेकी छिन्। 

सवारी आयातमा प्रतिबन्ध गर्न सकिन्न : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन्। अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५औं वार्षिक साधारणसभा बोल्दै अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताए। 

आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै सवारी साधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उहाँले आग्रह गरेका छन्। अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यनूतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता समेत जनाए। 

अर्थमन्त्री शर्माले  आफू मैले अर्थशास्त्र जानेको मान्छे नभए पनि देशलाई आत्मनिर्भर बनाउनका लागि कुन बाटो लानुपर्छ भन्ने थाहा भएको बताउका छन्। देश सम्पन्न र आत्मनिर्भर नभइ जनताले सेवा सुविधा नपाउने मन्त्री शर्माले जिकिर गरे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताए । 

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा आज र भोली दुई दिनसम्म हुनेछ। सभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ। 

झरेको झर्‍यै सेयर बजार

सेयर बजार २०७८ सालकै न्यून बिन्दुमा झरेको छ। बजारको परिसूचक नेप्से ५३ अंकले झरेसँगै २४५५ अंकमा कायम भएको छ। 

यो अंक २०७७ चैत ४ गतेयताकै न्यून विन्दु हो। २०७७ चैत ४ गते बजार २४३१ अंकमा थियो। मुख्यतः बैंकहरुमा तरलताको चरम संकट उत्पन्न भएसँगै बजार प्रभावित भएको हो। भदौको ३ गते कारोबार भइरहँदा परिसूचकले ३२ सय अंक नाघेको थियो। 

कारोबार बन्द हुँदा भने भदौ २ गते ३१९८ को अंक नै हालसम्मकै उच्चतम अंक हो। बुधबार जम्मा २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। बुधबार सेयर बजारका सबै उपसमूह राताम्मे भएका छन्।

हवाई यात्रीको बिमा गर्न सर्कुलर

कोरोनाको ओमिक्रोन भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न सर्कुलर जारी गरेको छ।

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली तथा विदेशी वायुसेवाले ७ दिनभित्र यात्रुहरुको प्रति व्यक्ति ५ हजार डलर (६ लाख रुपैयाँ बराबर) को यात्रा बिमा गर्न सर्कुलर जारी गरेको हो। नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न दुई नेपाली र १८ विदेशीसहित २० वायुसेवाले अनुमति लिएका छन्। यीनलाई प्राधिकरणले नेपालकै कम्पनीबाट यात्रुको कोभिड बिमा गर्नुपर्ने भनेको छ। यो बिमाले यदि कुनै उडानमा नेपाल आएका वा जाँदै गरेका यात्रुमा कोभिड देखिएमा १४ दिनको होटल क्वारेन्टाइन तथा अस्पताल भर्ना हुनुपर्ने अवस्था आइपरेमा उपचार खर्च पनि ब्यहोर्ने छ।

२८० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३६६ जना निको भएका छन्।

रामसीता विवाहोत्सव मनाइँदै

त्रेता युगमा आजकै दिन राम र सीताको विवाह भएको दिनको रुपमा हर्षोल्लासका साथ मनाइँदै आइएको छ। जनकपुरको जानकी मन्दिरमा भगवान सीता र रामको विवाह महोत्सव मनाइदै छ। गंगा सागरमा श्रद्धालुहरु स्नान गरेर जानकी मन्दिरमा पूजापाठ गर्दै विवाह पञ्चमी मनाइरहेका छन्। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन्। 

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिती रहेको विश्वास गरिन्छ। 

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ। जनकपुरमा प्रत्येक वर्ष हजारौँको संख्यामा श्रद्धालुहरुले पुगेका छन्। 

हिमालयन सेर्पा र पुलिसको बराबरी

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो। 

प्रकाशित: Dec 08, 2021| 20:18 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।