काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक साझा उम्मेदवार चयन गर्न असफल बनेको छ। बुधबार बिहानै देखि साझा उम्मेदवार चयन गर्ने प्रयास सफल हुन नसकेको हो। मंगलबार पनि संस्थापन इतर समूहले साझा उम्मेदवार चयन गर्ने प्रयास गरेको थियो। तर, मंगलबार पनि सहमति हुन सकेको थिएन।
आकांक्षीहरुले आ–आफ्नो अडान नछोडेपछि छलफल निष्कर्षमा पुग्न नसकेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जनाकारी दिए। छलफलका क्रममा तनाव भएको र माहोल तातेकाले आजको बैठक स्थगत स्थगित गरिएको उनको भनाइ छ।
बैठकमा नेता प्रकाशमान सिंहले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। तर, अन्य नेताहरु भने छलफलकै माध्यमबाट सहमतिमा पुग्नुपर्नेमा जोड दिएका छन्। ‘यहाँ कुरा मिलेन 'ओपन' छलफल गरेर निष्कर्ष निकाल्ने गरी बस्छौं। धेरै मोडालिटी हुन सक्छन्,’ घिमिरेले भने,
नेता चन्द्र भण्डारीले बुधबारको बैठकले निष्कर्ष निकाल्न नसकेको बताए। ‘आज निष्कर्ष निकाल्न सकिएन। समधान निस्किएन,’ उनले भने। नेता अर्जुन नरसिंह केसीले भने बिहीबार बेलुकासम्म निर्णय हुने बताए।
बैठकमा कसले के भने?
नेता घिमिरेका अनुसार चाक्सीबारीमा गर्मागरम बहस भएको थियो। माहौल तातेपछि थप छलफल गर्न आवश्यक नभएको भन्दै छलफल आजका लागि सकिएको छ। छलफलमा सभापतिका आकांक्षी सिंहले आफूलाई समर्थन गर्न पटक–पटक आग्रह गरेका थिए। तर, सभापतिका आकांक्षी रामचन्द्र पौडेल र शेखर कोइरालाले भने सहमतिकै आधारमा अघि बढ्नुपर्ने बताएका थिए।
नेता रामशरण महतका अनुसार सबै आकांक्षीले सभापतिमा चुनाव लडेरै छाड्ने अडान नछोडेपछि निष्कर्ष निस्कन नसकेको हो। ‘टुंगो लागेको छैन। म पनि लड्ने, म पनि लड्ने भनेका छन्। कसैले कसैलाई नछोडने स्थिति छ,’ उनले भने, ‘प्रकाशमानजीले मलाई सहयोग गर्नुस् भन्नुभयो। शेखरजी पनि लड्ने नै भन्नुहुन्छ।’
छलफलमा पौडेलले भने सिंह र शेखर मिले आफू त्याग गर्न तयार भएको बताएका थिए। तर, दुई नेता नमिल्ने हो भने आफूलाई छोड्नुपर्ने उनको भनाइ थियो। ‘रामचन्द्रजीले सबै लड्ने मात्र भनेर हुँदैन, सबैबीच सहमति नहुने भए म पछि हट्छु। घरमा बसेर आराम गर्छु। मिल्ने हो भने मलाई छोड्नुस् भन्नुभयो,’ उनले भने, ‘अहिलेसम्मको स्थितिमा मिल्ने लक्षण देखिएको छैन।’
आकांक्षीबाहेकका नेता बसेर उम्मेदवार तोक्ने तयारी
बिहीबार सभापतिका आकांक्षी बाहेकका नेताहरुको बैठक बस्ने भएको छ। बैठकले उम्मेदवार तोकेर अघि बढ्ने भण्डारीको भनाइ छ। ‘भोलि आकांक्षी बाहेकका नेता बस्छौं। मिल्यो भने मिल्यो, मिलेन भने हामी उम्मेदवार तय गर्छौैं,’ उनले भने। नेता घिमिरेले आकांक्षी बाहेकका नेताको छलफलले साझा धारणा बनाउने र आकांक्षी सहितको बैठकमा धारणा प्रस्तुत गर्ने बताए।