काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठन गर्नुका साथै जिम्मेवारी पनि बाँडफाँड गरेको छ। विभागसँगै नीति अनुसन्धान प्रतिष्ठान पनि गठन भएको छ। तर प्रतिष्ठानको प्रमुख र उपप्रमुख भने तोकिएको छैन।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्कुल विभाग इन्चार्जको जिम्मेवारी पाएका छन्। अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ। विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।
अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ भने उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवले पाएका छन्।
अधिवक्ता खिमलाल देवकोटाको नेतृत्वमा निर्वाचन विभाग गठन भएको छ। जसको सदस्यमा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह पनि नियुक्त भएका छन्।