काठमाडौं- उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने स्वाबलम्बी कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताएका छन्। पूर्वगभर्नर चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक 'बीपी कोइरालाको आर्थिक विचार' सार्वजनिक कार्यक्रममा चौधरीले यस्तो बताएका हुन्।
बिपीका कुराहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका उनले राजनीति पेशा नभई सेवा गर्ने माध्यम हो भन्ने बीपीको भनाइ अहिले झन् बढी सान्दर्भिक भएको उल्लेख गरेका थिए।
‘विश्वले चिनेको त्यो स्केलको राजनीतिज्ञ नेपालमा कहिल्यै पनि जन्मिएन। भविष्यको बारेमा भन्न कठीन छ। उनले भनेका के कुरामा मलाई अझ पनि सान्दर्भिकता लाग्छ भने राजनीतिक भनेको प्रोफेसन होइन। राजनीति भनेको सेवा गर्ने माध्यम हो,' आफ्नै खुट्टामा उभिएको राजनीतिक कार्यकर्ता जसलाई उसको प्रचारको लागि २ लिटर तेल मोटरसाइकलमा हाल्नु नपरोस्। जबसम्म ती प्रकारको कार्यकर्ताहरु जन्मिदैनन् तबसम्म ती कार्यकर्ताहरुले सही नेताहरु जन्माउँदैनन्। यो एउटा समस्या आजसम्म पनि विद्यमान छ।’
सांसद चौधरीले बीपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताएका थिए।