काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट कुनै पनि हालतमा शेरबहादुर देउवालाई सभापतिमा दोहोरिन नदिने कुरामा एकमत भएको संस्थापन इतर (पौडेल समूह) साझा उम्मेदवार चयन गर्नैपर्ने दबाबमा छ।
संस्थापन इतर समूहका युवा नेताहरुले बिहीबारसम्म साझा उम्मेदवार चयन गर्नका लागि नेतृत्वलाई अल्टिमेटम दिएका छन्। सोमबार र मंगलबारको छलफलपछि रामचन्द्र पौडेल र शशांक कोइराला लचिलो देखिए पनि प्रकाशमान सिंह र शेखर कोइराला भने सभापतिमा आफ्नो अडानबाट टसको मस भएका छैनन्।
बत्तिसपुतलीमा बुधबार बिहान बोलाइएको बैठकमा सभापतिका दाबेदार शेखर र प्रकाशमान नै अनुपस्थित भएपछि साझा उम्मेदवार चयनको विषयमा निर्णायक छलफल हुन सकेन। युवा नेताहरु छलफल भएको समयमा रामचन्द्र पौडेल एकाएक बुधबार बिहान कृष्णप्रसाद सिटौलालाई भेट्न उनकै निवास चण्डोल पुगे। सिटौला समूह पनि आफ्नो आन्तरिक छलफलमा थियो। सिटौला समूहका नेताहरुले नेता सिटौलालाई संस्थापन (देउवा) समूहसँग नै सहकार्य गर्न सुझाएका थिए।
त्यही समयमा पौडेल सिटौला निवास पुगेपछि सिटौलाले आफ्नो आन्तरिक छलफललाई टुंग्याएर पौडेलसँग छलफल गरे। जिल्ला र प्रदेश तहमा सभापति शेरबहादुर देउवा समूहसँग सहकार्य गरेका सिटौलाले केन्द्रमा पनि देउवासँगै सहकार्य गर्ने सम्भावना बलियो छ। यद्यपि सिटौलासमेतलाई मिलाएर आफू सभापति हुने झिनो आशासहित पौडेल बुधबार बिहान चण्डोल पुगेका हुन्। मंगलबारको बैठकमा 'साथीहरू मिलेमा आफू त्याग गर्न तयार रहेको' बताइसकेका पौडेलले बुधबार बिहान भने आफ्नै नाममा सहमति गराउन सकिने आशमा सिटौला निवास पुगेको बुझिएको छ।
‘सिटौलालाई पनि समूहमा सहभागी गराउने सम्भावना र प्रस्तावसहित पौडेल दाइ त्यता जानुभएको हो,’ ती नेताले हामीलाई जानकारी दिए, ‘सम्भावना कम छ तर छलफल गर्नुपर्ने दायित्वसहित अग्रज नेता पौडेल सिटौलासँग कुराकानीका लागि जानुभएको हो।’
संस्थापन इतर समूहका सभापतिका दाबेदारहरु प्रकाशमान र शेखरले पछि नहटेको अवस्थामा सिटौलालाई ल्याएर आफ्नो नाममा सहमति गराउने पौडेलको रणनीति थियो। यता सिटौलाले सहकार्य हुनसक्ने कुनै प्याकेज नल्याएको प्रतिक्रिया दिएपछि पौडेल निराश बनेर फर्किएका हुन्। सिटौला समूहका नेता भीमसेनदास प्रधानले भने, 'उहाँ (पौडेल)ले सहयोग मागे पनि गर्न सकिने अवस्था रहेन। सहकार्य हुन सक्ने कुनै प्याकेज पौडेलजीले ल्याउनु भएन।'
संस्थापन इतर समूहका युवा नेताहरुले बिहीबारसम्म साझा उम्मेदवार चयन गर्नका लागि नेतृत्वलाई अल्टिमेटम दिएका छन्।
सहकार्यको कुनै प्याकेज बिना नै सहयोग मागिरहेका पौडेललाई केको आधारमा सहकार्य गर्ने भन्दै सिटौलाले सहकार्यको सम्भावना नरहेको संकेत गरे। प्रधानले थपे, 'कृष्ण दाइले सहयोग माग्दा कुन आधारमा गर्ने भन्दै प्रश्न गर्नुभयो।'
१३ औं महाधिवेशनमा तत्कालीन संस्थापन (सुरुवातमा कोइराला र पछि पौडेल) समूहविरुद्ध विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिएका सिटौला पछि देउवालाई सभापति बनाउन वैशाखी बनेका थिए। १३ औं महाधिवेशनमा पहिलो चरणमा देउवा र पौडेलसँग त्रिपक्षीय प्रतिस्पर्धामा सामेल भएका सिटौलाले दोस्रो चरणमा देउवालाई नै सहयोग गरेपछि पौडेल पराजित भएका थिए। पछिल्लो समय देउवासँगै मिलेर शक्ति बढाइरहेका सिटौलाले पौडेललाई निराश बनाएपछि पौडेल समूहको बैठक फेरि बुधबार चाक्सीबारीमा बसिरहेको छ।
पौडेलसँग कहाँ छुटिए सिटौला?
मुलुक शान्ति प्रक्रियामा गएपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए, सिटौला। गिरिजाले सिटौलालाई गृहमन्त्री र पौडेललाई शान्ति तथा पुनर्निर्माणमन्त्री बनाइएको थियो। पौडेलले उपप्रधानमन्त्री हुन खोजेका थिए। तर, गिरिजाका विश्वासपात्र सिटौलाले आफूलाई उपप्रधान हुनबाट रोकेको पौडेलको बुझाइ थियो।
त्यसैगरी पार्टीको १२ औं महाधिवेशनका क्रममा उपसभापति बनेका पौडेलले सिटौलालाई महामन्त्री हुनबाट रोक्न खोजेका थिए। गिरिजा क्याबिनेटमा उपप्रधान हुन नपाएका पौडेलले सिटौलालाई रोक्न हरप्रयास गरे पनि पौडेल असफल भएका थिए। त्यसैगरी दोस्रो संविधानसभापछि पौडेलले संविधान मस्यौदा समितिमा जान चाहेका थिए। तर, त्यहाँ पौडेलको तगारो बन्दै सिटौला अघि सरे। सिटौलाले आफूलाई पेलेको पौडेललाई परिरहेको थियो।
पार्टीको १३ औं महाधिवेशनको प्रक्रियामा रहेको समयमा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षमा कार्यवाहक सभापति बने रामचन्द्र पौडेल। पौडेलले सिटौलालाई जसरी पनि पाखा लगाउने र प्रकाशमान सिंहलाई अघि बढाउन खोजेको सिटौलालाई महसुस भयो। तर, सिटौला भने टिमलाई एकताबद्ध राख्नुपर्ने अडानमा थिए। तत्कालीन संस्थापनको बैठकमा सिटौलाले भनेका थिए, 'देशभर अहिलेसम्मको नतिजामा संस्थापन पक्ष अघि छ। संस्थापन पक्ष एक हुँदा कुनै कठिनाइ हुँदैन।'
तर, पौडेल भने सिटौलालाई पाखा लगाएर अघि बढ्ने मुडमा थिए। यो चाल पाएका सिटौलाले तत्कालीन संस्थापनविरुद्ध विद्रोह गरेर पार्टीमा तेस्रो धारको जन्म दिए। सिटौला पनि १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बने। पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनमा पौडेललाई हराउन सिटौला निर्णायक बने।