काठमाडौं- पौडेल समुहको साझा उमेद्वारी चयन गर्ने विषयमा बसेको बैठकमा जिल्ला र प्रदेका नेताहरुले सभापतिका आकांक्षी नेताहरुलाई आफै मिलेर निर्णय लिन सुझाव दिएका छन्। अनुपम फुडल्याण्डमा भेला भएका उनीहरूले नेताहरुले आफूहरुलाई समेत विभाजित गर्ने खोजेको आरोप लगाए।
पौडेल समूहको भेलामा जिल्लाका नेताहरुले धारणा राखिरहेका छन्। भेलामा बोल्ने अधिकांश नेताहरूले भने आफूहरू मिलेर साझा रूपमा उम्मेदवार तयार गरी कांग्रेसलाई जनतासँग जोड्नुपर्ने बताएका थिए।
काठमाडौं जिल्ला सभापति सबुझ बानियाँका अनुसार जिल्लाका नेताहरुको मत विभाजित छ। उनीहरूले शीर्षनेता बसेर निर्णय गर्नुको सट्टा आफूहरुलाई बोलाएर समूह भित्र झन् विभाजन ल्याउन खोजेको जवाफ दिएका छन्।
बानियाँले आफूले प्रकाशमान सिंहलाई सभापति बनाउने प्रस्ताव गरेको बताए। त्यस्तै मोरङका सभापति डिगबहादुर लिम्बूले शेखर कोइरालाको नाम प्रस्ताव गरेका थिए। अरु नेताहरुले नाम लिएका थिएनन्।
कर्णाली प्रदेश सभापतिका उम्मेदवार भुपेन्द्रजंग शाहीले नेताहरुले लोकतान्त्रिक प्रक्रिया अपनाएर राम्रो गरेको भएपनि आफूहरुले व्यक्ति भन्दा पनि टिम एक बन्नुपर्नेमा जोड़ दिएको बताए।
भेलामा जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेशका उम्मेदवार र पदाधिकारीहरु सहभागी छन्।
बैठकमा सभापतिका उम्मेदवार बन्न चाहने नेता भने छैनन्। बैठकमा केन्दरीय सदस्यहरू गगन थापा, मिनेन्द्र रिजाल, जीवन परियारलगायत सहभागी छन्।