काठमाडौं- नेपाली कांग्रेस सुदूरपश्चिमा संसदीय दलका नेता डा रणबहादुर रावलले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको १२औं र १३औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा चुनाव लडेका नेता रावल १४औं महाधिवेशनमा पनि सुदूरपश्चिम प्रदेश भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका भएका हुन्। नेपाली राजनीति तरलताको अवस्थामा रहेको उल्लेख गर्दै उनले पार्टीलाई जीवन्त बनाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्।
'नेपाली कांग्रेसलाई जीवन्त बनाउन, गतिशील बनाउन र रुपान्तरण गर्न मेरो उम्मेदवारी हो। मेरो उम्मेदवारीले युवालाई समेट्ने र पाकाको सम्मान गर्ने छ। यही उद्देश्यका साथ मैले केन्द्रीय समितिमा रहेर काम गर्ने सोच राखेको छु,' नेता रावलले भने। उनले आफ्नो कुशल भूमिकाले सुदूरपश्चिममा कांग्रेस महत्वपूर्ण भूमिकाका साथ अगाडि बढेको उनको दाबी छ। सुदूरपश्चिममा कांग्रेसको महत्वपूर्ण उपस्थति रहेको डा. रावलले बताए।
'हाम्रो अथक प्रयासले सुदूपश्चिमको राजनीति नयाँ ढंगले अगाडि बढ्ने मोडमा छ। अहिले अन्तिम पटक शेरबहादुर देउवाको अनुभवको सम्मान गर्दै उहाँलाई अवसर दिनुपर्छ,' उनले भने। अहिलेको अवस्थामा जनताको दु:ख सुखमा साथ दिने पार्टी कांग्रेस रहेको पुष्टि भएको उनले बताए।
नेता रावलले आफ्नो योगदानको सम्मान गर्दै केन्द्रीय नेतृत्वले आफ्नो आधिकारीक टिममा आफूलाई राख्नेमा विश्वस्त रहेको बताएका छन्। 'हाम्रा सामु देशभर नयाँ ढंगले अगाडि बढ्नुपर्ने चुनौती छ। कांग्रेस भित्रको लोकतन्त्रलाई बलियो बनाउन बनाउनुपर्ने कुरा छन्। पार्टीलाई आम कार्यकर्ता र जनताको पार्टीको रुपमा रुपान्तरण गर्नुपर्ने अवस्था छ। मैले खेलेको भूमिकाले मेरा पार्टीका नेता कार्यकर्ता खुशी हुनुहुन्छ। त्यसैले म कांग्रेसको आधिकारीक टिममा पर्नेमा विश्वस्त छु,' उनले भने।
उनी १२औं केन्द्रीय महाधिवेशनमा खुलाबाट चुनाव लडेका व्यक्ति हुन्। त्यतिबेला उनी ३२औं नम्बरमा परेका थिए। खुलामा २५ जना मात्रै रहने व्यस्था भएकाले उनी पराजित हुन पुगे। १३औं महाधिवेशनमा पनि केन्द्रीय नेताहरू आग्रहलाई मनन गर्दै आफू केन्द्रीय सदस्यमा नलडेको उनले बताए।
'२०७४ सालमा कांग्रेस केन्द्रीय समितिले मलाई प्रदेशमा महत्वपूर्ण भूमिका निभाउनुपर्छ भन्यो। मैले कैलाली क्षेत्र नम्बर १ टीकापुरबाट 'ख' बाट विजयी भए,' उनले भने, 'मैले सुदूरपश्चिम प्रदेश सरकारमा संसदीय दलको नेताको हैसियतले प्रमुख प्रतिपक्षी भूमिका छु। त्यहाँ मैले सधै जनताको पक्षमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छु।'
'संविधान नेपाली कांग्रेसको नेतृत्वमा आयो। वामपन्थीहरूले बहुमत ल्याउँदा पनि राम्रो काम गर्न सकेनन्। आफ्नो सत्तासमेत टिकाउन सकेनन्। केपी ओलीले पटक-पटक संसद विघटन गरेर देशमा गतिरोध सिर्जना गर्न खोज्नुभयो। अब जनताले देश र जनताको दु:ख बुझ्ने पार्टी कांग्रेस नै हो भन्ने बुझिसक्नु भएको छ। जनताको त्यो भावनालाई जीवन्त तुल्याउनु हाम्रो सामू ठूलो चुनौती छ। त्यो चुनौतीलाई चिर्न पनि मेरो केन्द्रीय सदस्यमा उम्मेदवारी हो,' रावलले भने। उनले जनताको पक्षमा काम गर्नकै लागि योजनादेखि विभिन्न क्षेत्रमा सुदूरपश्चिममा वाम घटकलाई एकलौटी गर्न नदिएको उनी बताउँछन्। त्यसले कांग्रेस बिनाको प्रदेश सरकार नभए चल्दो रहेन छ भन्ने आभास जनतामा दिलाउन सफल भएको बताएका छन्। जनताहरूले प्रतिपक्षमा कुसल भूमिका निर्वाह गरेको भन्दै जनताले बेला-बेला आफूलाई भन्ने गरेको उनले बताए। त्यस्ता अभिव्यक्तिले आफूलाई थप जिम्मेवार बनाउने गरेको रावलको भनाइ छ।
उनले भोलि आफूले केन्द्रीय सदस्यमा विजयी भएको अवस्थामा नेताहरूको समन्वयमा सधै जनताको पक्षमा नै योजना बनाएर काम गर्ने ब ताए। उनले नेपाली कांग्रेसलाई जिवन्त बनाउने सोचका साथ आफ्नो उम्मेदवारी रहेको बताएका छन्। पार्टी गतिशीलता पनि अर्को मूख्य पाटो भएको उनको भनाइ छ। 'पार्टीलाई गुटबाट टाढा राख्नुपर्छ। नेताहरूको ओरिपरी परिक्रमा होइन परिश्रम गरेर अगाडि बढ्नुपर्छ। नेता जनतामूखि हुनुपर्छ। यी मेरा मुख्य राजनीतिक एजेन्डा हुन्,' उनले भने। उनले लामो समयदेखि पार्टीमा खटिएर काम गर्ने नेता कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्छ भन्नेमा आफू सधै सजग रहेको बताएका छन्।
पार्टीलाई युग सुहाउँदो बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि आफूले पार्टीमा टेवा पुगाउने डा. रावलले बताए। उनले पार्टीमा युवाहरूको उचित मूल्यांकन हुनुपर्ने बताए। 'राजनीति भन्ने वित्तिकै युवाहरूमा वितिष्णा पैदा हुन्छ। त्यसका लागि मेरो भूमिका अहम हुनेछ,' उनले भने। उनले राजनीति भनेको समग्र देशको मेरुदण्ड भएकाले आफू सोही अनुरुप लागेको बताएका छन्। संस्कार युक्त राजनीति आजको आवश्यकता भएको बताउँदै उनले त्यसका आफू कटिवद्ध भएको बताएका छन्।
'राजनीतिमा अनुशासित भएर लाग्नुपर्छ। एकले अर्कालाई सम्मान गर्नुपर्छ। मेरो उम्मेदवारीले एउटा सुशासन अगाडि बढाउनेतिर र पार्टीलाई साच्चिकै संस्कार युक्त पार्टी बनाउने केन्द्रित हुने छ। म नेता कार्यकर्ताहरूलाई कसरी समेट्नुपर्छ भन्नेमा सधै सजग हुने छु,' उनले भने।
उनले १४औं महाधिवेशनबाट बिपी कोइरालाको सपना गर्ने अभिभारा आफूहरूको काधमा आउनेमा आफू विश्वस्त रहेको बताएका छन्। समाजवादसहितको लोकतन्त्र बलियो पार्ने काममा आफू सधै अग्रसर हुने उनले बताए।
सुदृढ र संगठित कांग्रेस अहिलेको आवश्यकता भएको बताएका रावलले कांग्रेस कमजोर भए जनतामा निराशा पैदा हुने बताउँछन्। जनताका आशा र अपेक्षालाई मुखरित गर्ने नेतृत्व कांग्रेसमा आउन जरुरी रहेको बताए। त्यस्तो नेतृत्वमा आफू पनि कटिबद्ध भएर काम गर्ने डा. रावलको भनाइ छ। उनले पार्टी नेतृत्वमा आइसकेपछि आफूले तराई, मधेश र थारुहरूका उपेक्षित मुद्दालाई पार्टीमा अगाडि बढाउन पहल गर्ने बताए।
१४औं महाधिवेशनमा पुरानो र नयाँ पुस्ता समायोजित हुने बताएका उनले दुवै पुस्ता मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे। 'हामी त्यही अभियानमा छौं। यो अभियानलाई सफल तुल्याउन पनि मेरो उम्मेदवारी हो,' रावलले भने, 'यसो गर्न सके मात्रै गतिशील, जीवन्त र सबैको आसाको केन्द्रको रुपमा कांग्रेस स्थापित हुनसक्छ।' नेपाली कांग्रेस देशबासीको पार्टी बनाउने अभियानमा आफूहरू रहेको उनले बताए।
रावलले अहिलेको कांग्रेसको नेतृत्व देशको राजनीतिक सुदृढीकरण गर्ने, देशको राजनीतिक तरलतालाई व्यवस्थित गर्ने, देशको अर्थतन्त्र धरापमा परेकोमा त्यसलाई सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए। ती अवस्थालाई व्यवस्थापन गर्ने सके मात्रै पार्टी जनताको पार्टी हुनसक्ने बताए। त्यसमा आफूले पनि टेवा दिने उदेश्यका साथ सुदूरपश्चिम भूगोलबाट आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको बताएका छन्।