काठमाडौं– नयाँ नेतृत्व दावेदारीका लागि कांग्रेसभित्रका अलग अलग समूहका शीर्ष नेताहरु समयसिमाका कारण दवावमा परेका छन्। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहमा सभापतिको उम्मेदवार लगभग तय भए पनि पदाधिकारी र केन्द्रिय सदस्यको सूची निर्क्योल गर्न हम्मेहम्मे परिरहेको छ। देउवा इतर समूह भने सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने टुंगोमा पुग्न सकेको छैन।
आसन्न महाधिवेशनमा उम्मेदवार तय गर्न र केन्द्रीय सदस्यहरूका प्यानल बनाउनेबारे छलफल गर्न देउवा समूहको बैठक देउवा निवास बुढानिलकण्ठमा बसिरहेको छ। लामो समयदेखि देउवालाई साथ दिँदै आइरहेका पार्टी उपसभापति विमलेन्द्र निधी सो बैठकमा उपस्थित छैनन्। देउवा समूहको बैठकमा देउवालाई नजिकबाट सघाइरहेका नेता तथा देउवा पक्षधर केन्द्रीय सदस्यहरूको उपस्थिति छ। ‘बैठक चलिरहेको छ, पदाधिकारीमा आकांक्षीहरु धेरै देखिएकाले मूलतः यही टुंगो लगाउने भनेर छलफल चलिरहेको छ’, देउवा पक्षधर एक नेताले भने, ‘हाम्रो समूहमा अरु विवाद छैन। प्रदेशको परिणामबाट हामी उत्साही छौं। पदाधिकारीमा उम्मेदवारको सूची तय हुनेवित्तिकै हाम्रो प्यानल घोषणा हुन्छ।’
सकेसम्म आजै सूची तय गरिने जानकारी ती नेताले दिए।
त्यसैगरी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला पुरानो वानेश्वरस्थित अनुपम फुडल्याण्डमा चलिरहेको छ। बिहानदेखि सुरु भएको सो छलफलमा सभापतिका आकांक्षीहरू डा. शेखर कोइराला र प्रकाशमान सिंह भने उपस्थित छैनन्। ‘म बैठकमा गएको छैन। मैले भन्नुपर्ने कुराहरू साथीहरूलाई भनेको छु। मेरो दाबी यथावत छ’ डा कोइरालाले भने, ‘मैले मलाई सघाउनुस् भनेको छु। को कति बलियो छ भन्ने कुरा पनि सबैलाई थाहा छ।’
सो भेलामा रामशरण महत, अर्जुननर सिंह केसी, मिनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडु, चित्रलेखा यादव लगायतका नेताहरू उपस्थति छन्। भेलामा आकांक्षीहरू सबै सहभागी नभए पनि युवा नेताहरुको समूहले एकजना उम्मेदवार तय गर्ने रणनीतिका विषयमा छलफल गरिहेको छ। ‘हामीले नै एउटा नाम फाइनल गर्नुपर्ने अवस्था आउन सक्छ, उहाँहरु आफैं एउटा नाममा पुग्नुहोस् भन्ने हो तर अवस्था सहज देखिएको छैन’, भेलामा सहभागी एक युवा नेताले भने, ‘अब कसरी अगाडि बढ्ने भन्नेमा हाम्रो छलफल चलिरहेको छ। बेलुकासम्म केही निष्कर्षमा पुगिएला कि।’
भेलामा सहभागी भएर वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्ण सिटौला भेट्न उनकै निवास पुगेका छन्। साथीहरू मिलेमा आफू त्याग गर्न तयार रहेको बताइसकेका नेता पौडेलले आफ्ना नाममा सहमति हुनेमा झिनो आशा राखेका छन्। ‘सिटौलालाई पनि समूहमा सहभागी गराउने सम्भावना र प्रस्तावसहित पौडेल दाइ त्यता जानुभएको हो’, ती नेताले हामीलाई जानकारी दिए, ‘सम्भावना कम छ तर छलफल गर्नुपर्ने दायित्वसहित अग्रज नेता पौडेल सिटौलासँग कुराकानीको क्रममा हुनुहुन्छ।’
संस्थापनइतर समूहभित्रका अर्का एक महत्वपूर्ण नेता डा शशांक कोइरालाले ‘रामचन्द्र दाइको नाममा सहमति जुट्ने भएमा म आफू पछि हट्न तयार छु’ भनिसकेका छन्। वरिष्ठ नेता पौडेलले पनि एउटा नाममा सहमति हुने र एकताको सन्देश जाने अवस्थामा आफूले त्याग गर्ने बताइसकेका छन्। ‘यस्तो अवस्थामा शेखर कोइराला र प्रकाशमानबीच सुलह हुनुपर्ने देखिन्छ’ अर्का एक नेताले सुनाए, ‘उहाँहरुबीच सहमति भयो भने एउटा नाउँमा पुग्न सक्ने अवस्था छ।’
नेपाली कांग्रेसभित्र तेस्रो धार भनेर परिचित नेता कृष्णप्रसाद सिटौलापक्षको बैठक पनि उनकै निवास चण्डोलमा बुधबार बिहानदेखि बसिरहेको छ।
बैठकमा सिटौलासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं लगायतका नेताहरु रहेका छन्। बैठकमा नेता सिटौलाले आफू सभापतिमा उठेर चुनावलाई दोस्रो चरणमा लान सकिने या नसकिने अवस्थाका बारेमा सहभागीहरुसँग ब्रिफिङ लिएका थिए।
१३ औं महाधिवेशनमा सिटौला सभापतिमा उम्मेदवारी दिएका सिटौलाले त्यो बेला दोस्रो चरणमा देउवालाई सघाएका थिए। यसपटक सार्वजनिक रुपमा उनले उम्मेदवारी घोषणा गरेका छैनन् तर देउवासँग मिल्दा कुन रणनीति र उपलव्धीका आधारमा मिल्ने भन्नेमा उनले मार्गचित्र बनाइरहेका छन्। ‘अवको राण्नीतिकै विषयमा हाम्रो छलफल केन्द्रित छ। मूलतः देउवासँग मिल्दा के लिएर मिल्ने र अलग भएर जाँदा कसरी जाने भन्ने विषयमा केही साथीहरुबीच मतान्तर पनि देखिएको छ’, सिटौला निकट एक नेताले जानकारी दिए, ‘हाम्रो समूह निर्णायक समूह हो। त्यसैले हाम्रो छलफल अलिक लामो हुन सक्छ तर हामीले कहाँ र कसरी उम्भिने भन्नेमा क्लियर गर्नेछौं।’