काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्। पौडेल खाना खान भनेर बैठकस्थलबाट बाहिरिएका थिए।
महाधिवेशन नजिकिँदै गर्दा सिटौला समूह पनि छलफलमा जुटेको छ। आजको छलफलबाट सिटौलाले आफैंले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ। सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चित भइसकेको छ।
सिटौला आफैंले सभापतिमा उम्मेदवारी दिने पनि कुरा गरेका छैनन्। क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनहरु चलिरहँदा धेरै ठाउँमा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला समूहबीच गठबन्धन बन्यो। जिल्लादेखि प्रदेशसम्म भएको देउवा–सिटौला गठबन्धनले अपेक्षाकृत नतिजा पनि ल्याएको छ।