काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी हुँदा संस्थापन र संस्थापन इतर समूह पार्टी सभापति र पदाधिकारीका लागि उम्मेदवार छान्न प्रयासरत छन्।
दुवै समूहले आज बुधबार छलफल डाकेका थिए। संस्थापन पक्षको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ भने संस्थापन इतर समूहका नेताहरुको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएलगत्तै सकिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल बैठक सुरु भएलगत्तै बाहिरिएपछि शीर्ष तहमा छलफल नै हुन पाएन। अहिले दोस्रो तहका नेताहरु छलफलमा छन्। बैठकमा उक्त समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरु छलफल गरिरहेका छन्। निस्किने क्रममा पौडेलले संस्थापन इतर समूहले जसलाई छान्यो, उसैलाई उम्मेदवार मान्ने चार जनाबीच सहमति भएको बताए।
यसअघि हिजो मंगलबार पनि संस्थापन इतरका नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसेका थिए। नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उठ्ने अडान छाडेका छैनन् भने शशांक कोइरालाले पछि हट्ने संकेत गरेका छन्।