काठमाडौं– आगामी शुक्रबारबाट सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि पदाधिकारीमा अहिलेसम्म उम्मेदवारको टुंगो लाग्न सकेको छैन। सभापतिका आकांक्षीहरूले आफूसहित प्यानल नै घोषणा गर्न छलफललाई तिव्रता दिएका छन्।
संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षको बैठक अहिले देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ। बैठकमा उपसभापति विमलेन्द्र निधि भने सहभागी छैनन्। उपसभापति निधिले संस्थापन पक्षले आफूलाई ‘आउट गरेको’ प्रतिक्रियिा दिएका छन्।‘ संस्थापन पक्षबाट देउवाले मेरो नाम काटिसक्नु भएको छ। म घरमै छु, बूढानीलकण्ठ बैठकमा गएको छैन,’ निधिले भने। निधिले आफू सभापति लड्ने घोषणा केही समयअघि नै गरिसकेका छन्।
उता संस्थापन इतर समूह पनि साझा उम्मेदवार चयन गर्न प्रयासरत छ। उक्त समूहबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन्। पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगो लागेको छैन।