काठमाडौं– नेपाली कांग्रेसको केन्द्रमै प्रभाव राख्ने नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। १४ औं महाधिवेशन अन्तर्गत सर्लाही अधिवेशनको निर्वाचनमा उनी पराजित भएका हुन्।
सर्लाही जिल्ला क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार भएको मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर महाधिवेशन प्रतिनिधि बनेका छन्। २४८ मत पाएका अमरेश भने पराजित भएका छन्।
क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन्। प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन्।
अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको थिएन। सर्लाही १ र ४ मा मंगलबार मतदान भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ। क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ।
प्रतिनिधिसभा चुनावमा भारी मतले जितेका सिंह पार्टीको आन्तरिक चुनावमा भने गुटबन्दीका कारण महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सिंह शेखर कोइराला पक्षका भएकाले उनलाई चुनाव जित्न नदिन शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएर चुनावमा होमिएको थियो।
सोही क्षेत्रका दुईजना प्रदेशसभा सदस्यहरु उपेन्द्र कुशवाहा र वीरेन्द्र सिंह अमरेशविरुद्ध एक भएका थिए। अमरेशको पकड रहेको तीन वटा वडामा अधिवेशनसमेत हुन नदिइएपछि उनी हार्ने आंकलन पहिले नै गरिएको थियो। अमरेसविरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाविधेशन प्रतिनिधिसम्म सबै पदमा एकलौटी विजयी भएको हो।
अमरेशले पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका थिए। संस्थापन इतर पक्षलाई कमजोर बनाउन शक्तिको दुरुपयोग गरिएपछि सर्लाहीमा विवाद बढेर वडा अधिवेशनसमेत हुन सकेको थिएन। तीन जना निर्वाचन अधिकृतले चुनाव गराउन नसक्ने भन्दै राजीनामा नै दिएका थिए।
अहिले सर्लाहीमा अधिवेशन गराउन अरुण ज्ञवालीलाई चौथो निर्वाचन अधिकृतको रुपमा खटाइएको छ। उनी पनि सुरक्षाका लागि सिडियो क्वाटरमा बस्दै आइरहेका छन्।